काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो चौमासिक समीक्षा अवधिसम्ममा अर्थ मन्त्रालय कार्यसम्पादन र निर्धारित लक्ष्यको उपलब्धि हासिलमा कमजोर देखिएको छ । मन्त्रालयले चालु आर्थिक वर्षमा राखेको लक्ष्यमध्ये फागुनसम्म (८ महिना) एकतिहाई पनि उपलब्धि हासिल गर्न नसकेको हो ।
मन्त्रालयमा मंगलबार फागुन मसान्तसम्मको प्रगतिबारे मङ्गलबार मन्त्रालयमा समीक्षा भएको थियो । चालु आवका वर्षका लागि अर्थ मन्त्रालयले निर्धारण गरेका १७५ वटा लक्ष्य (माइलस्टोन)मध्ये फागुन मसान्तसम्म ३४ वटा मात्रै सम्पन्न भएका छन् । यो लक्ष्यको १९.४२ प्रतिशत मात्र हो ।
लक्ष्य अनुसार फागुनसम्म १४० माइलस्टोन हासिल हुनुपर्नेमा जम्मा ३४ मात्रै सम्पन्न भएका हुन् । ९४ वटामा काम भइरहेका र १२ वटा अझै सुरु हुन नसकेको मन्त्रालयले जनाएको छ ।
समीक्षा बैठकमा अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक वित्त व्यवस्थापनमा चाप परेको उल्लेख गरेका थिए । उनले पूँजीगत खर्च बढ्न नसक्नु र राजस्व सङ्कलनमा देखिएका समस्या समाधानका लागि निर्देशन दिएका छन् ।
पूँजीगत खर्च बढ्न नसकेका कारण राजस्व पनि बढ्न नसकेको अर्थमन्त्री पुनको भनाइ छ । अर्थतन्त्रलाई चलायमान बनाउन अन्तरमन्त्रालय तथा अन्तरनिकाय समन्वय बढाउने र निजी क्षेत्रको मनोबल बढाउनुपर्ने आवश्यकता पनि उनले औँल्याए । अर्थ मन्त्रालयअन्तर्गतका नियामक निकायको कार्य सम्पादन कमजोर रहेकाले अर्थमन्त्री पुनले तोकिएको वार्षिक लक्ष्य प्राप्त गर्ने गरी तदारुकताका साथ काम गर्न निर्देशन दिए ।
कुन-कुन लक्ष्य भयो पूरा ?
मन्त्रालयका अनुसार फागुनसम्म स्रोत सहमति र बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड तर्जुमा गर्ने र कूटनीतिक नियोगको कर फिर्ता स्वचालित रुपमा गर्न कार्यविधि तयार पार्ने काम सकिसकेको छ । चालु आवभित्रै विद्यमान कर प्रणाली सुधारका लागि उच्चस्तरीय समिति गठन गर्ने लक्ष्य राखिएकामा त्यस्तो समिति गठन भई अन्तिम प्रतिवेदन प्राप्तिको चरणमा रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, नयाँ भन्सार ऐन, सुरक्षित कारोबार ऐन र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा संशोधनका लागि संसद्मा विधेयक दर्ता भएका छन् । विदेशी मुद्रा सटही सम्बन्धमा नीतिगत व्यवस्था गर्ने र साना किसान, घरेलु तथा साना उद्यमी तथा स्टार्टअप व्यवसायीलाई विशेष प्राथमिकता दिन नीतिगत व्यवस्था गर्नेसम्बन्धी लक्ष्य पनि मन्त्रालयले हासिल गरिसकेको छ ।
चालु आर्थिक वर्षभित्रै ‘ट्रान्सफर प्राइसिङ’ निर्देशिका जारी गर्ने मन्त्रालयको लक्ष्य रहेकामा मस्यौदा तयार भई छलफलको चरणमा छ । त्यस्तै, आन्तरिक राजस्व विभाग, भन्सार विभाग र राजस्व अनुसन्धान विभागबाट प्रयोग भइरहेको प्रणालीबीच अन्तरआबद्धता कायम गरी स्वचालितरुपमा सूचना आदानप्रदान गर्ने प्रणाली निर्माण गर्ने मन्त्रालयको वार्षिक कार्ययोजनामा छ । यसका लागि कार्यदलको प्रतिवेदन प्राप्त भई प्राविधिक तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ परिमार्जनका लागि टोली गठन भई परिमार्जनको काम भइरहेको छ । विकास सहायता नीतिमा पुनरावलोकन गरी सहायता परिचालनमा प्राथमिकीरण गर्ने मन्त्रालयको योजना रहेकामा उक्त नीतिको प्रारम्भिक प्रतिवेदन तयार भई विज्ञहरुसँग परामर्श तथा राय लिने काम भइरहेको मन्त्रालयले जनाएको छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा संशोधन गर्ने मन्त्रालयको वार्षिक लक्ष्य रहेकामा संशोधन विधेयक तयार भई अन्तिम छलफलको क्रममा छ । साथै राष्ट्रिय बीमा नीतिको मस्यौदा तयार भई मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पेस भएको छ ।
सरकारी भुक्तानी गर्दाकै बखत कर कट्टी भई दाखिला हुने स्वचालित प्रणाली विकास गर्नका लागि कम्प्युटरमा आधारित सरकारी लेखा प्रणाली (सिगास) सँग अन्तरआबद्धता गर्ने काम भइरहेको मन्त्रालयको भनाइ छ । त्यस्तै, गैरकर राजस्वको दरमा गर्नुपर्ने परिमार्जन सम्बन्धमा अध्ययन गर्न समिति गठन भई काम भइरहेको छ ।
सार्वजनिक संस्थानमा सेयर तथा ऋण लगानी नीति स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गर्ने वार्षिक लक्ष्य रहेकामा उक्त नीतिको मस्यौदामाथि अर्थ मन्त्रालयमा छलफल भइरहेको जनाइएको छ । झुट्टा तथा नक्कली बीजक प्रयोग गर्ने करदाताको अनुसन्धान गर्न कार्यालयगत लक्ष्य तोकी अनुसन्धानको काम भइरहेको मन्त्रालयले जनाएको छ ।
वित्तीय साधनलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण सिर्जना गर्ने, वित्तीय समावेशिता रणनीति तर्जुमा गरी समावेशिता सूचक तयार गर्ने, धितोपत्र बजार तथा वस्तु विनिमय बजारको संरचना सम्बन्धमा अध्ययन गर्नेलगायत माइलस्टोनमा भने काम सुरु भएको छैन ।
आर्थिक सूचकको अवस्था
अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा उपभोक्ता मुद्रास्फीति गतवर्षको सोही अवधिको तुलनामा घटेको छ । गत आवको माघ मसान्तसम्ममा वार्षिक विन्दुगत आधारमा ७.८८ प्रतिशत रहेको मुद्रास्फीति २.८७ प्रतिशतले घटेर ५.०१ प्रतिशत कायम भएको छ ।
गत वर्षको तुलनामा कूल सरकारी खर्च बढेको छ भने पूँजीगत खर्च घटेको छ । गत आवको फागुन मसान्तसम्ममा रू ७ खर्ब ७९ अर्ब २३ करोड बराबर सरकारी खर्च रहेकामा चालु आवको सोही अवधिमा २.८६ प्रतिशतले बढेर रू ८ खर्ब १ अर्ब ५८ करोड पुगेको छ ।
गत आवको दोस्रो चौमासिक अवधिको तुलनामा चालु आवको सोही अवधिमा पूँजीगत खर्च भने ३.६० प्रतिशतले घटेको छ । गत वर्षको फागुन मसान्तसम्मा रू ८४ अर्ब २५ करोड बराबर पूँजीगत खर्च रहेकामा चालु आवको सोही अवधिमा रू ८१ अर्ब २१ करोड बराबर मात्रै रहेको जनाइएको छ ।
मन्त्रालयका अनुसार राजस्व परिचालन ६.९७ प्रतिशतले बढेको छ । गत आवको दोस्रो चौमासिक अवधिमा रू ६ खर्ब १७ अर्ब ९८ करोड बराबर राजस्व उठेकामा चालु आवको सोही अवधिमा रू ६ खर्ब ६१ अर्ब ७ करोड बराबर सङ्कलन भएको छ । कूल आयात, निर्यात र व्यापारघाटा घटेको छ भने शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चिति बढेको छ ।
विप्रेषण आप्रवाह गत आर्थिक वर्षको दोस्रो चौमासिक अवधिमा रू ६ अर्ब ८९ करोड ८८ लाख रहेको चालु आर्थिक वर्षको सोही अवधिमा बढेर रू ८ खर्ब ३९ लाख पुगेको छ ।
गत फागुन मसान्तसम्ममा बीमाको पहुँच ४२.०२ प्रतिशत नागरिकसम्म पुगेको छ । चालु आव सकिँदासम्म बीमाको पहुँच ४२.२ प्रतिशत पुर्याउने सरकारी लक्ष्य थियो । पूँजी बजारमा पहुँच पुगेको सङ्ख्या अर्थात् डिम्याट खाता ५९ लाख ७१ हजार रहेको छ ।
चालु आवको अन्त्यसम्ममा सहुलियतपूर्ण कर्जा प्रवाह रू २ खर्ब ५ अर्ब पुर्याउन लक्ष्य रहेकामा फागुन मसान्तसम्ममा रू १ खर्ब ५४ अर्ब पुगेको छ । यो अवधिसम्ममा बैङ्क तथा वित्तीय संस्थामा निक्षेप सङ्कलन रू ६१ खर्ब ७ अर्ब र कर्जा लगानी रू ४९ खर्ब ९४ अर्ब बराबर रहेको छ ।
चालु आवको फागुन मसान्तसम्ममा व्यावसायिक स्थायी लेखा नम्बर (बी-पान) लिनेको सङ्ख्या १९ लाख ५७ हजार २ सय ५८, व्यक्तिगत स्थायी लेखा नम्बर (पी-पान) लिनेको सङ्ख्या ४० लाख ५९ हजार ७९१ र र करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर (डब्ल्यू-पान) लिनेको सङ्ख्या ३१ हजार ८४० बराबर रहेको मन्त्रालयको तथ्याङ्कबाट देखिन्छ ।
चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा अर्थ मन्त्रालयले वित्तीय हस्तान्तरणतर्फ स्थानीय तहलाई रू २ खर्ब १२ अर्ब ३४ करोड १७ लाख र प्रदेशतर्फ रू ८७ अर्ब ६९ करोड ३० लाख बराबर हस्तान्तरण गरेको छ । चालु आर्थिक वर्षमा मन्त्रालयले फछ्र्यौट गर्नुपर्ने बेरुजु रू ८६ अर्ब ५ करोड ३७ लाख २१ हजार बराबर रहेको छ ।