चार लेनको महाकाली पुल निर्माण अन्तिम चरणमा

महाकाली नदीमाथि निर्माणाधीन पक्की पुल ।

कञ्चनपुर । महाकाली नदीमा निर्माणाधीन चार ‘लेन’को पुलको काम ५ महिनापछि पुनः सञ्चालन भएको छ । निर्माण कम्पनीले बाँकी काम ६ महिनाभित्र सक्नेगरी सुरु गरेको जनाइएको छ ।

विसं २०७४ मा निर्माण सुरु भएको चार लेनको पक्की पुलसँगै ८.६ किलोमिटर ६ लेन सडक निर्माणको ९०.१९ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । निर्माण कम्पनी कुमार-सीएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले गत वर्षको काम गरेबापत रु ८ करोड ५० लाख रकम हालै कम्पनीलाई प्राप्त भएको जानकारी दिए ।

इन्जिनियर पाण्डेयले पुलसँगै निर्माण हुने पोखरीको तटबन्ध डिजाइन स्वीकृत भएर ‘भेरिएसन’का लागि सडक विभागमा पुर्याउने प्रक्रियामा रहेको जानकारी दिए । ‘भेरिएसनका कारण अझै रु १५ करोड बक्यौता छ,’ उनले भने, ‘गत वर्षको रकम पाएपछि हामीले बाँकी निर्माणको काम थालिसकेका छौँ ।’

उनले ८.६ किलोमिटर ६ लेनको पहुँचमार्गमध्ये १ हजार ५०० मिटर सडक कालोपत्र गर्न बाँकी रहेको बताए । ‘रकम अभावलगायतका कारण नभए ६ महिनाभित्र पुलको सबै काम सकिन्छ,’ इन्जिनियर पाण्डेयले भने । पुलको लागत रु ३ अर्ब ६६ करोड हो ।

पुलको दुवैतर्फ बाँध बाँधेर पर्यटकीयस्थल हुनेगरी पोखरी निर्माण गरिएको छ । पुलको उत्तरतर्फ एक वर्गकिलोमिटरभन्दा ठूला दुईवटा पोखरी र दक्षिणतर्फ ०.३ वर्गकिलोमिटरका दुईवटा पोखरी निर्माण भएका छन् ।रासस

ठेक्का अलपत्र पार्नेविरुद्ध सरकार आक्रमक, एकैपटक २२ कम्पनी कालोसूचीमा Read Previous

ठेक्का अलपत्र पार्नेविरुद्ध सरकार आक्रमक, एकैपटक २२ कम्पनी कालोसूचीमा

आइएमई पेले विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ५०० सम्म बोनस दिने Read Next

आइएमई पेले विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ५०० सम्म बोनस दिने