काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)को सञ्चालक समितिका पदाधिकारीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।
मंगलबार एआइआइबीका पदाधिकारी र नेपालको निजी छेत्रका प्रतिनिधि बीच भएको भेटवार्तामा उनले यस्तो आग्रह गरेका हुन् ।
सो भेटमा नेपालमा विभिन्न क्षेत्रमा लगानीका सम्भावित अवसरहरूको खोजीमा विशेष छलफल भएको थियो । एआइआइबीले यातायात, ऊर्जा र शहरी विकास लगायतका क्षेत्रमा कसरी बढी योगदान दिन सक्छ भन्ने विषयमा पनि छलफल भएको थियो । नेपालको दिगो विकासमा निजी क्षेत्रले कसरी योगदान गर्न सक्छ भन्ने विषयमा पनि छलफल भएको थियो ।
आफ्नो धारणा राख्दै महासंघका अध्यक्ष ढकालले नेपाल विकासको अपार सम्भावना भएको देश भएको बताए । उनले एआइआइबी बोर्डका पदाधिकारीहरूलाई निजी क्षेत्र एआइआइबी जस्ता संस्थाहरूसँग रणनीतिक साझेदारीमार्फत यस सम्भावनाको फाइदा लिन उत्सुक रहेको जानकारी दिए । ढकालले नेपाल रणनीतिक रूपमा दुई ठूला अर्थतन्त्र भारत र चीनको बीचमा रहेकोले नेपालमा उत्पादित वस्तुलाई विश्वका दुई ठूला बजारमा सहज पहुँच पुर्याउन सक्ने बताए ।
ढकालले नेपालमा पूर्वाधार, ऊर्जा, पर्यटन र कृषिमा लगानीको सम्भावना रहेको बताए । उनले नेपालले हासिल गरेको बाह्य क्षेत्रको स्थायित्वबारे पनि एआइआइबी अधिकारीहरूलाई जानकारी गराए । उनले मुलुक अहिले आन्तरिक उपभोग सुधारमा केन्द्रित भएको बताए । ‘ एआइआइबी नेपालमा धेरै महत्त्वपूर्ण परियोजनाहरूमा प्रमुख साझेदार भएको छ, र हामी सहकार्यका लागि नयाँ मार्गहरू खोज्न उत्सुक छौं,’ उनले जानकारी गराए ।
महासंघका अध्यक्ष ढकालले नेपाल सरकारले देशको लगानीको वातावरण सुधार गर्न १२ वटा ऐन परिमार्जन गर्ने प्रक्रियामा रहेको एआइआइबी बोर्ड पदाधिकारीहरूलाई जानकारी गराए । उनले राम्रो ‘डुइङ बिजनेस’ वातावरण बनाउन सरकार प्रक्रिया र नियमलाई सहज बनाउन गम्भीर रहेको बताए । उनले सम्भावित देशहरूसँग द्विपक्षीय लगानी सम्झौता गर्ने सरकारको योजनाबारे पनि अधिकारीहरूलाई जानकारी गराए । ढकालले द्विपक्षीय लगानी सम्झौताको ढाँचा छिट्टै टुंगो लाग्ने बताए ।
लगानीका बारेमा थप जानकारी दिँदै ढकालले आगामी अप्रिल २८ देखि २९ गतेसम्म आयोजना हुने नेपाल लगानी सम्मेलनबारे अधिकारीहरूलाई जानकारी गराए । उनले एआइआइबी प्रतिनिधिमण्डललाई यो जानकारी सबै सदस्य राष्ट्रहरूमा फैलाउन अनुरोध गरे । यसपटकको लगानी सम्मेलनको राम्रो पक्ष भनेको निजी क्षेत्रलाई पनि सहआयोजकका रूपमा समावेश गरिएको उनले बताए ।
ढकालले नेपालको आर्थिक विकासमा निजी क्षेत्रले अगुवाइ गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताए । महासंघको अध्यक्षको हैसियतले नेपालको सामाजिक–आर्थिक विकासका लागि हामीले कुनै कसर बाँकी नराख्ने कुरामा म विश्वस्त हुन सक्छु भनी जानकारी दिए । निजी क्षेत्रले जहिले पनि समयमै गुणस्तरीय आयोजना सम्पन्न गरेको उनले बताए ।