पटके सवारी रुट इजाजतपत्र अब अनलाइनबाटै लिन सकिने

काठमाडौं । बागमती प्रदेशमा अब पटके सवारी रुट इजाजतपत्र अनलाइनबाटै लिने सकिने भएको छ ।  प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले यातायात व्यवस्था सेवा कार्यालय, सल्लाघारीमा आज उक्त सेवाको शुभारम्भ गरेका हुन् ।

मन्त्री लम्सालले सङ्घीय सरकारका मन्त्रालयले सङ्घीयताको मर्मअनुरुप काम नगर्दा प्रदेश सरकारलाई काम गर्न बाधा पुगेको गुनासो गरे । प्रदेशलाई हस्तान्तरण गर्नुपर्ने कतिपय अधिकार सङ्घीय सरकारले आफैसँग राख्दा  सेवाग्राहीले समयमै स्मार्ट लाइसेन्स पाउन नसकेको उनको भनाइ थियो ।

उनले भने, ‘सङ्घीय सरकारले प्रदेशलाई अधिकार हस्तान्तरण गरे सेवाग्राहीलाई तत्कालै लाइसेन्स उपलव्ध गराउन सकिन्छ ।’ मन्त्री लम्सालले नयाँ प्रविधिको प्रयोगले समयको बचत हुनुका साथै राजस्व पनि अनलाइन मार्फतनै प्राप्त हुँदा काम छिटोछरितो हुने बताए । आगामी एक वर्षभित्रमा प्रदेश सरकारले प्रदेश यातायात कार्यालयलाई प्रविधिमैत्री बनाउने उनको भनाइ थियो ।

कार्यक्रममा मन्त्रालयका सचिव बलराम निरौलाले नयाँ प्रविधिमार्फत काम हुन थालेपछि कर्मचारीको भार घटेको र बिचौलियाको प्रवेश समेत अन्त्य हुने बताए । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक पोशराज पोखरेलले बागमती प्रदेशबाट सुरु भएको यो कार्य सातै प्रदेशमा विस्तार गर्नुपर्ने बताए ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनी श्रेष्ठले अब सेवाग्राहीले जुनसुकै समयमा घरमै बसेर काम लिन सकिने भएकाले कार्यालय धाउनुपर्ने बाध्यता हटेको बताए । कार्यक्रममा यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारीका प्रमुख हरिहर पोख्रेलले अब पटके सवारी रुट इजाजतपत्र अनलाइनबाटै लिन सकिने बताए ।

५ दिनमा कतिले बेचे सर्वोत्तम सिमेन्टको आइपीओ ? Read Previous

५ दिनमा कतिले बेचे सर्वोत्तम सिमेन्टको आइपीओ ?

सरकारी खर्च टाइट गर्दा अर्थतन्त्र शिथिलतामा गयो : अर्थमन्त्री पुन Read Next

सरकारी खर्च टाइट गर्दा अर्थतन्त्र शिथिलतामा गयो : अर्थमन्त्री पुन