काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । गत मंगलबारदेखि लगातार ओरालो लागेर ४२ अंकले घटेकाे नेप्से आज १० अंकले फर्केको हो ।
सूचकमा सुधार आए पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १३ करोडले घटेर २ अर्ब ३५ करोडमा सीमित भएको छ ।
मंगलबार नेप्से परिसूचक १०.१४ अंकले बढेर २०४१.७० बिन्दुमा पुगेको छ । यसदिन ३१० कम्पनीको ६८ लाख ४२ हजार ३९२ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये १० समूहको परिसूचक बढेको छ भने ३ को घटेको छ । उत्पादनमूलक समूहको परिसूचक सर्वाधिक २.११ प्रतिशतले बढेको छ ।
आज शिवम् सिमेन्ट सर्वाधिक कारोबार भएको छ । यसको ९ करोड ३१ लाख रुपैयाँ बराबरको १ लाख ७५ हजार १९२ कित्ता सेयर किनबेच भएको छ ।
बढ्दो बजारमा आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । दोल्ती पावर र सर्वोत्तम सिमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
आज धौलागिरि लघुवित्तका सेयरधनीले भने सर्वाधिक ९.३५ प्रतिशत गुमाएका छन् ।