सस्तिँदै सेयर कर्जा, बैंकले १० प्रतिशत हाराहारीमै दिन थाले ऋण, कुनले कतिमा ?

काठमाडौं । सेयर धितो (मार्जिन प्रकृतिको) कर्जाको ब्याजदर सस्तिँदै गएको छ । पछिल्लो समय बैंकहरूको बेसरेट सस्तिँदै जाँदा सेयर धितो कर्जाको ब्याजदर पनि घट्न थालेको हो ।

बैंकहरूले चालु आर्थिक वर्षको कात्तिकदेखि लगातार निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । निक्षेपको ब्याजदर घटेसँगै बैंकहरूको लागत घट्न गई बेसरेट सस्तिँदा कर्जाको ब्याजदर पनि घटेको हो

अहिले बैंकहरूको आधारदर (बेसरेट) डेढ वर्ष यताकै कम छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार औसत बेसरेट ९.३४ प्रतिशतमा झरेको छ । फागुनसम्म १८ बैंकको बेसरेट एकल अंकमा झरिसकेको छ ।

अर्थतन्त्रमा आएको संकुचनका कारण डेढ वर्ष यता कर्जाको माग बढ्न सकेको छैन भने बैंकिङ प्रणालीमा तरलता थुप्रिने क्रम बढ्दो छ । कर्जाको माग नबढ्ने तर, एकोहोरो निक्षेप थुप्रिरँहदा बैंकहरूले आफ्नो खर्च घटाउन निक्षेपको ब्याजदर महिनैपिच्छे घटाउँदै आएका हुन् । जसको सकारात्मक प्रभाव कर्जाको ब्याजदरमा देखिएको हो ।

गत वर्ष १८ प्रतिशतसम्म पुगेको कर्जाको ब्याजदर १३/१४ प्रतिशतमा झरेको छ । अहिले बार्गेनिङ गर्न सक्ने ग्राहकलाई बैंकहरूले एकल अंकको ब्याजदरमै ऋण दिन थालेका छन् । केही बैंकले घरकर्जा र सवारी कर्जामा एकल अंकको ब्याजदरको स्कीम नै ल्याएका छन् ।

कुन बैंकले कतिमा दिन्छन् सेयर कर्जा ?

बैंकहरूले बेसरेटमा प्रिमियम जोडेर कर्जा लगानी गर्छन् । कर्जाको ब्याजदर बेसरेटले फरक पार्छ । तुलनात्मक रूपमा कम बेसरेट भएका बैंकहरूले सस्तोमा ऋण दिन सक्छन् भने बेसरेट धेरै भएका बैंकको ब्याजदर महँगो हुन्छ ।

अहिले वाणिज्य बैंकहरूले आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर ऋण दिँदै आएका छन् । यद्यपि, ऋणको प्रकृति अनुसार बैंकहरूले प्रिमियम दर कम र धेरै जोड्ने गरेका छन् ।

हाल संचालनमा रहेका २० वटामध्ये १९ वटा बैंक (स्ट्याण्डर्ड चार्टर्ड बाहेक)ले सेयर कर्जा लगानी गरिरहेका छन् । जसमा अधादजर्न बैंकले १० प्रतिशत हाराहारीमै सेयर कर्जा उपलब्ध गराउने भएका छन् । राष्ट्रिय वाणिज्य, एनएमबी, माछापुच्छ्रे, सानिमा, नबिल र एभरेष्ट बैंकले बेसरेटमा न्यूनतम १ प्रतिशत बेसरेट जोडेर १० प्रतिशत हाराहारीमै सेयर कर्जा दिने जनाएका छन् ।

एभरेष्ट बैंकले सबैभन्दा सस्तो ९.४८ प्रतिशत ब्याजदरमै सेयर कर्जा दिने भएको छ । ८.४८ प्रतिशत बेसरेटममा न्यूनतम १ देखि ३ प्रतिशत प्रिमियम जोडेर एभरेष्टले ९.४८ देखि ११.४८ प्रतिशत ब्याजदरमा सेयर कर्जा दिने भएको हो ।

त्यस्तै, ८.८६ प्रतिशत बेसरेट रहेको नबिलले १ देखि ४ प्रतिशत प्रिमियम जोडेर ९.८६ देखि १२.८६ प्रतिशत ब्याजदरमा सेयर कर्जा उपलब्ध गराउँछ । त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले बेसरेटमा २.५ देखि २.७५ प्रतिशत प्रिमियम जोडेर १०.४२ देखि १०.६७ प्रतिशत, सानिमाले १.५ प्रिमियम जोडेर १०.७७ देखि १२.७७ प्रतिशत ब्याजदरमा सेयर कर्जा दिने भएको छ ।

बेसरेट महँगो भएका बैंकहरूले पनि अहिले बेसरेटमा न्यूनतम प्रिमियम जोडेर १२ प्रतिशत हाराहारीमा सेयर कर्जा दिन थालेका छन् । एकल अंकको बेसरेट भएका बैंकहरूले पनि न्यूनतम १/१.५ प्रतिशत प्रिमियम जोडर सेयर कर्जा दिन थालेका छन् । यद्यपि, बार्गेनिङ गर्न सक्ने ग्राहकलाई मात्र बैंकहरूले थोरै प्रिमियम जोड्छन् । बैंकहरूले ग्राहक अनुसार सेयर कर्जामा ५ प्रतिशतसम्म प्रिमियम जोड्ने गरेका छन् ।

अहिले ५ प्रतिशत प्रिमियम जोड्दा पनि बैंकहरूले अधिकतम साढे १४ प्रतिशत ब्याजदरमा सेयर कर्जा दिन्छन् । हिमालयन, प्राइम कमर्शियल, प्रभु र माछापुच्छ्रेले अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोड्ने गरेका छन् । अन्य बैंकले सेयर कर्जामा न्यूनतम १ देखि ४ प्रतिशत प्रिमियम जोडर सेयर कर्जा लगानी गर्ने गर्छन् ।

बढ्दै सेयर कर्जाको माग

आर्थिक शिथिलताका कारण अन्य क्षेत्रमा कर्जाको माग बढ्न नसकेपछि बैंकहरूले अहिले घरजग्गा, सवारी, सेयर कर्जामा सस्तो ब्याजदरको स्कीम ल्याउन थालेका छन् । अन्य क्षेत्रको तुलनामा यी क्षेत्रमा कर्जाको माग बढ्दै गएको छ ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकले नीतिगत लचकता अपनाएसँगै सेयर धितो कर्जाको माग बढ्न थालेको छ । राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा बढाएर व्यक्तिगततर्फ १५ करोड र संस्थागत २० करोड पुर्याएको छ । त्यस्तै, ५० लाख रुपैयाँसम्मको सेयर कर्जाको जाखिमभार १०० प्रतिशत र सोभन्दा माथिको कर्जाको १२५ प्रतिशतमा झारेको छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको ७ महिनामा सेयर धितो कर्जा ११.६ प्रतिशतले वृद्धि भएको छ । चालु वर्षमा मात्रै बैंक तथा वित्तीय संस्थाहरूले ८ अर्ब ८६ करोड सेयर कर्जा लगानी गरेका छन् ।

गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल ७६ अर्ब ३० रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेकोमा माघ मसान्त आइपुग्दा बढेर ८५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । चालु वर्षमा औसतमा मासिक १ अर्ब २६ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भइरहेको हो ।

१५ महिनापछि बेनी-मालढुङ्गा सडक निर्माणले गति लिँदै, २५ प्रतिशत काम सकियो Read Previous

१५ महिनापछि बेनी-मालढुङ्गा सडक निर्माणले गति लिँदै, २५ प्रतिशत काम सकियो

चोभार सुक्खा बन्दरगाहमा बढ्दै चहलपहल, २०० कार भन्सार जाँचपासको प्रतीक्षामा Read Next

चोभार सुक्खा बन्दरगाहमा बढ्दै चहलपहल, २०० कार भन्सार जाँचपासको प्रतीक्षामा