काठमाडौं । पछिल्लो समय टुरिष्ट गाइड एशोसियशन अफ नेपाल (टुर्गान)ले टुरिष्ट गाइडको अनुमति पत्र ‘लाइसेन्स’ बिना विदेशी पर्यटकलाई विश्वसम्पदा सूचीमा घुमाउने गाइडलाई कारबाही अगाडि बढाएको छ ।
टुर्गानले पर्यटक प्रहरी इकाईसँगको सहकार्यमा गत मङ्गलबारदेखि सुरु गरेको अभियानमा हालसम्म नौ जना अवैध पथप्रदर्शक (गाइड)लाई कारबाही गरिसकेको टुर्गानका अध्यक्ष थानेश्वर देवकोटाले जानकारी दिए । ‘टुरिष्ट गाइडको लाइसेन्स नलिएका तथा लाइसेन्स लिएर पनि नवीकरण नगरेका गाइडलाई कारबाही गरेका हौँ,’ उनले भने ।
जाँचका क्रममा मङ्गलबार चार र बुधबार पाँच जनालाई कारबाही गरिएको अध्यक्ष देवकोटाले बताए। मङ्गलबार बौद्ध क्षेत्रमा लाइसेन्स जाँच गरिएकोमा बुधबार हनुमानढोका वसन्तपुर क्षेत्रमा अनुगमन गरिएको थियो । आगामी दिनमा उक्त अभियानलाई पशुपतिनाथ, स्वयम्भू, पाटन, भक्तपुर दरबारक्षेत्रमा जाँच गरिने टुर्गानले जनाएको छ । उक्त टोलीले लाइसेन्स नलिएका तथा नवीकरण नगरेका टुरिष्ट गाइडलाई दुई घण्टा होल्ड गर्ने र सचेत गराउने गरेको छ ।
पर्यटक प्रहरी इकाई भृकुटीमण्डपका प्रमुख, प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरले टुरिष्ट गाइडको लाइसेन्स बिना भाषिक ज्ञान भएका जोकोही व्यक्तिले पर्यटकलाई घुमाएकाले गाइडको लाइसेन्स जाँचलाई पर्यटक प्रहरीले तीव्रता दिएको बताए । ‘होटलका कार्यरत कर्मचारी, ट्रेकिङ तथा ट्राभलमा कार्यरत कर्मचारीले बिना लाइसेन्स पर्यटक घुमाउँदा पर्यटक गाईडको लाइसेन्स भएका व्यक्तिलाई समेत समस्या परेको छ, त्यसैले बेलाबेलामा पर्यटक प्रहरीले टुरिष्ट गाईडको लाइसेन्स जाँच गर्दै आएको छ,’ उनले भने ।
हाल देशभर ४ हजार ८२० व्यक्तिले टुरिष्ट गाइडको लाइसेन्स लिएका छन् । नेपाल भ्रमणका लागि आएका विदेशी पर्यटकलाई नेपालको सकारात्मक सन्देश दिने दूतको कामसमेत टुरिष्ट गाइडको रहेकाले अनुशासित र मर्यादित भएर आफ्नो व्यापार व्यवसाय गर्न टुर्गानले सम्पूर्ण गाइडलाई अनुरोध समेत गरेको छ ।