काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता (लगानीयोग्य रकम) थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज एकैदिन ५० अर्ब रुपैयाँ खिच्ने भएको छ ।
राष्ट्र बैंकले बिहीबार निक्षेप संकलन बोलकबोल मार्फत ५० अर्ब रुपैयाँ तान्ने भएको हो । राष्ट्र बैंकले फागुनदेखि तरलता व्यवस्थापनका लागि स्थायी निक्षेप सुविधा दिएको छ । तर, त्यसबाट मात्र तरलता व्यवस्थापन नभएपछि राष्ट्र बैंकले निक्षेप बोलकबोलबाट पैसा खिच्न लागेको हो ।
राष्ट्र बैंकले १४ दिनका लागि उक्त रकम व्यवस्थापन गर्न लागेको हो । उक्त रकममा साँवा र ब्याज भुक्तानी चैत २२ गते गरिने राष्ट्र बैंकले जनाएको छ ।
बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने छन् । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा १० करोड र बढीमा ५ करोडले भाग जाने गरी जति रकम पनि बोलकबोल गर्न सक्नेछन् ।
एकोहोरो निक्षेप थपिरहेको तर कर्जाको माग बढ्न नसक्दा बैंकिङ प्रणालीमा इतिहासकै धेरै अधिक तरलता कायम भएको छ । हाल प्रणालीमा साढे ६ खर्ब रुपैयाँ बढी तरलता थुप्रिएको छ । यससँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियाे) ८० प्रतिशतभन्दा तल झरेको छ ।
राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न फागुन २ गतेदेखि स्थायी निक्षेप सुविध कार्यान्वयनमा ल्याएको छ । सो सुविधा अन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले साढे ६ खर्ब बढी रुपैयाँ राष्ट्र बैंकमा राखिसकेका छन् । यद्यपि, सोमध्ये धेरै जसो रकम परिपक्व भइसकेको छ ।