एक महिनामै झन्डै आधा अर्बको सिमेन्ट निर्यात, यी उद्योगले विदेशमा बेच्छन्

"अफ्रिकासम्म पुग्न थाल्यो नेपाली सिमेन्ट"

काठमाडौं । समग्रमा नेपालबाट हुने निर्यात घटिरहेका बेला सिमेन्ट निर्यातले भने आशा जगाएको छ । चालु आर्थिक वर्षको ८ महिना (साउन–फागुन)मा समग्र निर्यात ३.९९ प्रतिशतले घट्दा सिमेन्ट निर्यात भने ७०९.०६ प्रतिशतले बढेको हो । कुल निर्यातमा सिमेन्टको हिस्सा २.४७ प्रतिशत पुगेको छ ।

अर्थतन्त्रमा आएको शिथिलताका कारण स्वदेशी बजारमा सिमेन्टको खपत बढ्न नसके पनि भारतीय बजारमा माग बढ्दा निर्यातमा उत्साह देखिएको हो । जसले मुलुकको डरलाग्दो व्यापार घाटा घटाउन थोरै भए पनि भूमिका खेलेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ८ महिना (साउन-माघ)मा कीर्तिमानी २ अर्ब ४७ करोड रुपैयाँ बढिको सिमेन्ट तथा क्लिङ्कर विदेशिएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा ८ गुणा धेरै हो । गत वर्ष फागुनसम्म कुल ३० करोड ५५ लाख रुपैयाँको सिमेन्ट निर्यात भएको थियो ।

चालु वर्षको ८ महिनामै गत वर्ष भरीकोभन्दा १ अर्ब ६९ करोड रुपैयाँ बढीको सिमेन्ट निर्यात भएको हो । गत आव २०७९/८० मा कुल ७७ करोड ९३ लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको थियो ।

विभागका अनुसार चालु आवको फागुनसम्म १ अर्ब १८ करोड ८७ लाख रुपैयाँ बराबरको ३ लाख ९२ हजार ७४५ मेट्रिकटन क्लिंकर (सिमेन्टको कच्चा पद्धार्थ) निर्यात भएको छ । त्यस्तै, यही अवधिमा १ अर्ब २८ करोड १९ लाख रुपैयाँको १९ लाख ४ हजार २२८ मेट्रिकटन तयारी सिमेन्ट निर्यात भएको छ । जसमा १५५ टन नामिबिया र १९ लाख ४ हजार ७३ टन भारत निर्यात भएको हो ।

निर्यात सुरू भएको डेढ वर्षमै सिमेन्ट नेपालबाट निर्यात हुन् प्रमुख वस्तुको सूचीमा पर्न थालेको छ । नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेको र निर्यातको सम्भावना देखेपछि सरकारले गत वर्षदेखि निर्यातको ढोको खोलेको थियो ।

सरकारले आव २०७९/८० को बजेटमार्फत सिमेन्ट, स्टील, प्लाइवुड लगायत वस्तु निर्यातमा ८ प्रतिशत अनुदान र वार्षिक रु १० करोडभन्दाबढीको विद्युत् खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेको थियो । त्यसपछि नेपालबाट सिमेन्ट, प्लाइवुड लगायत वस्तु निर्यातको नयाँ ढोका खुलेको थियो ।

एक महिनामै झन्डै आधा अर्बको निर्यात

नेपालबाट सिमेन्ट निर्यात सुरू हुँदा केही महिना लाखमा सीमित भएको व्यापार अहिले महिनामै झन्डै आधा अर्ब पुग्न थालेको छ । विभागको तथ्यांक फागुनमा झन्डै आधा अर्ब रुपैयाँ सिमेन्ट निर्यात भएको छ । यस महिना मात्रै ४१ करोड ९ लाख रुपैयाँको सिमेन्ट तथा क्लिङ्कर निर्यात भएको छ । यो चालु वर्षकै दोस्रो धेरै हो ।

चालु आवमा असोजमा सबैभन्दा धेरै ४३ करोड ४६ लाख रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर निर्यात थियो । त्यस्तै, माघमा २९ करोड ७५ लाख, पुसमा २७ करोड १० लाख, मंसिरमा ३६ करोड, कात्तिकमा २७ करोड ७७ लाख, साउनमा २३ करोड ५० लाख र भदौमा १८ करोड ३५ लाख रुपैयाँ बराबरका निर्यात भएको विभागको तथ्यांक छ । चालु वर्षमा औसतमा मासिक झन्डै ३१ करोड रुपैयाँको सिमेन्ट निर्यात भएको छ ।

अफ्रिकासम्म पुग्न थाल्यो नेपाली सिमेन्ट

नेपाली सिमेन्टको अन्तर्राष्ट्रिय बजार समेत विस्तार हुँदै गएको छ । यसअघि भारतीय बजारमा मात्रै सीमित हुँदै आएको नेपाली सिमेन्ट अहिले अफ्रिकासम्म पुग्न थालेको हो ।

छिमेकी मुलुक भारत निर्यात हुन थालेको डेढ वर्षपछि नेपाली सिमेन्ट पहिलोपटक तेस्रो मुलुक निर्यात भएको हो । भन्सार विभागको तथ्यांक अनुसार माघमा १० लाख ४९ हजार रुपैयाँ बराबरको १५५ टन तयारी सिमेन्ट नामिबिया निर्यात भएको हो ।

यी उद्योगले गर्छन् निर्यात

नेपालबाट सिमेन्ट निर्यात हुन थालेको डेढ वर्ष पुगेको छ । यस अवधिमा आधा दर्जन उद्योगले निर्यात थालेका छन् । पहिलोपटक २०७९ असार २४ गते पाल्पा सिमेन्टको ‘तानसेन’ ब्राण्ड भारत निर्यात सुरू गरेको थियो ।

त्यसपछि, २०७९ असोज ३१ गतेदेखि अर्घाखाँची, २०८० जेठ २९ गतेदेखि बालाजी सिमेन्टले ‘बाहुबली’ र ‘श्रृष्टी’ ब्राण्डमा पीपीसी र २०८० गत भदौ २१ देखि सीजी सिमेन्टले निर्यात थालेका थिए । शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले पनि गत मंसिर १६ गतेदेखि भारतमा क्लिंकर निर्यात सुरू गरेको थियो ।

अन्य सिमेन्ट उद्योगहरूले पनि भारत निर्यातको तयारी गरिरहेको सिमेन्ट उत्पादक संघले जनाएको छ । नेपाली सिमेन्ट उद्योगले भारत निर्यातका लागि भारत सरकारबाट गुणस्तरको प्रमाणपत्र लिनुपर्ने व्यवस्था छ । सो प्रक्रियामा रहेकाले थप उद्योगले पनि चाँडै निर्यात थाल्ने संघको भनाइ छ । अहिले भारतीय बजारमा पनि नेपाली सिमेन्ट बजारीकरण हुन नसकेको र बजारीकरण गर्न सक्ने तत्कालै महिनामै अर्बौंको सिमेन्ट निर्यात गर्न सकिने संघले जनाएको छ ।

नेपालमा हाल ५० बढी सिमेन्ट उद्योग संचालित छन् । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिङ्कर दुवै उत्पादन गर्दै आएका छन । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै २ करोड २० लाख टन हाराहारी रहेको छ ।

बेनी-जोमसोम-कोरला सडकको मुस्ताङ खण्डमा ५ पुल निर्माण सम्पन्न Read Previous

बेनी-जोमसोम-कोरला सडकको मुस्ताङ खण्डमा ५ पुल निर्माण सम्पन्न

मिटरब्याज पीडितका समस्या सुन्न सहजीकरण डेस्क स्थापना गर्न गृहको निर्देशन Read Next

मिटरब्याज पीडितका समस्या सुन्न सहजीकरण डेस्क स्थापना गर्न गृहको निर्देशन