काठमाडौं । बजारमा उपभोग्य वस्तुको माग क्रमशः बढ्न थालेको छ । पछिल्लो समय अर्थतन्त्र क्रमशः चलायमान हुन थालेसँगै बजारमा वस्तुको पनि माग बढ्न थालेको हो ।
चालु आर्थिक वर्षको सुरु देखि नै सरकार र नेपाल राष्ट्र बैंकले अर्थतन्त्र चलायमान बनाउन प्रयास गर्दै आएका छन् । उनीहरूले यसअघि लगाएका नीतिगत अंकुश खुकुलो बनाउँदै लगेका छन् । जसको सकारात्मक प्रभाव क्रमशः बजारमा देखिन थालेको छ ।
नीतिगत लचकताकै कारण पछिल्लो समय घरजग्गा कारोबार, बैंकको कर्जा लगानी, निर्माण सामग्रीको खपत बढ्न थालेको छ । सँगसँगै अन्य उपभोग्य वस्तुको पनि माग बढ्न थालेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
विभागका अनुसार चालु आर्थिक वर्षको फागुन महिनामा आयात बढेको छ । फागुनमा १ खर्ब ३३ अर्बको वस्तु आयात भएको छ । यो चालु वर्षकै दोस्रो धेरै हो । यसअघि गत असोजमा १ खर्ब ४६ अर्बको वस्तु आयात भएको थियो । त्यसयता कुनै पनि महिना १ खर्ब ३० अर्ब बढीको आयात हुन सकेको थिएन ।
फागुनमा माघको तुलनामा ४ अर्ब रुपैयँँ बढीको आयात भएको हो । यद्यपि, फागुनमा आयात ह्वात्तै नभई औसतभन्दा केही बढी मात्रै आयात भएको हो । चालु वर्षमा मासिक औसतमा १ खर्ब २८ अर्ब ७५ करोड रुपैयाँको विदेशी वस्तु आयात हुँदै आएको छ ।
विभागका अनुसार चालु आर्थिक वर्षको ८ महिना (फागुनसम्म) कुल १० खर्ब ३० अर्ब २२ रुपैयाँको वस्तु आयात भएको छ । यद्यपि, गत वर्षको सोही अवधिको तुलनामा आयात २.६६ प्रतिशत अर्थात् २८ अर्ब अर्ब रुपैयाँले कम हो । गत वर्ष फागुनसम्म १० खर्ब ५८ अर्ब रुपैयाँ बढीको विदेशी वस्तु आयात भएको थियो ।
चालु वर्षको असोजमा सबैभन्दा धेरै १ खर्ब ४८ अर्ब र कात्तिकमा सबैभन्दा कम १ खर्ब ५ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो । त्यस्तै, भदौ १ खर्ब ३० अर्ब, साउनमा १ खर्ब २९ अर्ब, कात्तिकमा १ खर्ब ५ अर्ब, मंसिरमा १ खर्ब ३० अर्ब, पुसमा १ खर्ब २६ अर्ब र माघमा १ खर्ब २९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
फागुनसम्म वस्तु आयातबापत लाग्ने भन्सार दस्तुरबाट सरकारले २ खर्ब ७० अर्ब रुपैयाँ आम्दानी छ ।
निर्यात खर्ब नाघ्यो
समीक्षा अवधिमा निर्यातमा पनि गिरावट आएको छ । गत वर्षको तुलनामा चालु आवको ८ महिनामा नेपालबाट हुने निर्यात ३.९९ प्रतिशतले घटेको छ ।
विभागका अनुसार चालु आवको फागुनसम्म कुल १ खर्ब रुपैयाँ सामान विदेशिएको छ । यो गत वर्षकोभन्दा ४ अर्ब १८ करोड रुपैयाँ कम हो । गत वर्ष सोही अवधिमा १ खर्ब ४ अर्ब ७९ करोड रुपैयाँको वस्तु नेपालबाट विदेशिएको थियो । यस वर्ष मासिक औसतमा १२ अर्ब ५० करोड रुपैयाँको सामान निर्यात भएको छ ।
व्यापार घाटामा सुधार
गत वर्षको तुलनामा आयात घटेसँगै व्यापार घाटामा पनि सुधार आएको छ । समीक्षा अवधिमा व्यापार घाटा २.५२ प्रतिशतले घटेको छ । गत वर्ष फागुनसम्म ९ खर्ब ५३ अर्ब व्यापार घाटा रहेकोमा चालु वर्षको सोही अवधिमा ९ खर्ब २९ अर्बमा सीमित भएको छ । गत वर्षकोभन्दा व्यापार घाटा १२ अर्बले घटेको हो ।
चालु आवको ८ महिनामा कुल ११ खर्ब ८ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो गत वर्ष सोही अवधिकोभन्दा २.७८ प्रतिशत कम हो । गत वर्ष फागुनसम्म ११ खर्ब ६३ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।