गैरबैंकिङ संस्थाकाे कर्जा लगानी ९ खर्ब बढी, वैदेशिक सम्पत्ति २४.५ प्रतिशत बढ्यो

काठमाडौं । निजी क्षेत्रमा प्रवाह भएको कुल कर्जामध्ये झन्डै १६ प्रतिशत कर्जा गैरबैंकिङ वित्तीय संस्था (बैंक तथा वित्तीय संस्था बाहेक)हरुले लगानी गरेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘वित्तीय क्षेत्र सर्वेक्षण र अन्य वित्तीय संस्था सर्वेक्षण’ अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।

राष्ट्र बैंकका अनुसार गत असारसम्म समग्र वित्तीय क्षेत्रले निजी क्षेत्रमा कुल ५७ खर्ब ९४ अर्ब ७६ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । त्यसमध्ये गैरबैंकिङ वित्तीय संस्था (नागरिक लगानी कोष, कर्मचारी संचय कोष, बीमा कम्पनी लगायत)ले ९ खर्ब १५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका हुन् । यो कुल कर्जा लगानीको १५.७९ प्रतिशत हो ।

गत असार मसान्तसम्म समग्रमा प्रवाह भएको कुल कर्जाको ८४.२१ प्रतिशत हिस्सा रहेको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले निजी क्षेत्रमा ४८ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

यस्तै, गत असारसम्म गैर बैंकिङ वित्तीय संस्थाहरूबाट मात्र ८ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप परिचालन भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

खुद वैदेशिक सम्पति २४.५ प्रतिशत बढ्यो

गत वर्ष वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पति २४.५ प्रतिशतले बढेको छ । २०७९ असार मसान्तमा ११ खर्ब ४९ अर्ब ६४ करोड रुपैयाँ रहेको विदेशी सम्पति २०८० असार मसान्त आइपुग्दा बढेर १४ खर्ब ५२ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।

यस्तै, यसै अवधिमा खुद आन्तरिक सम्पति ८.६ प्रतिशतले मात्र बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । २०७९ असार मसान्तमा आन्तरिक सम्पत्ति ६३ खर्ब ५ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा २०८० असार मसान्तमा बढेर ६८ खर्ब ५० अर्ब ३० करोड रुपैयाँ पुगेको छ । वित्तीय क्षेत्रको यस्तो सम्पति २०७८ असार मसान्तमा ५४ खर्ब ५३ अर्ब र २०७७ असार मसान्तमा ४३ खर्ब २९ अर्ब १० करोड रुपैयाँ रहेको थियो ।

वित्तीय क्षेत्रको तरल दायित्व २०७९ असार मसान्तमा ४८ खर्ब १८ अर्ब ४ करोड रुपैयाँ रहेकोमा ११.६ प्रतिशतले वृद्धि भएर २०८० असार मसान्तमा ५३ खर्ब ७८ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । वित्तीय क्षेत्रको यस्तो दायित्व २०७८ असार मसान्तमा ४५ खर्ब ५४ अर्ब १९ करोड र २०७७ असार मसान्तमा ३७ खर्ब ४७ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो ।

वित्तीय क्षेत्रभन्दा बाहिर चलनचल्तीमा रहेको मुद्रा २०७९ असारमा ५ खर्ब २ अर्ब ७६ करोड रहेकामा १.१ प्रतिशतले बढेर २०८० असारमा ५ खर्ब ८ अर्ब ३७ करोड पुगेको छ राष्ट्र बैंकले जनाएको छ । वित्तीय क्षेत्रभन्दा बाहिर रहेको यस्तो मुद्रा २०७८ असार मसान्तमा ५ खर्ब ६६ अर्ब ९५ करोड र २०७७ असारमा ४ खर्ब ८५ अर्ब ६८ करोड थियो ।

पूँजीगत खर्च वृद्धि गर्न अर्थमन्त्रीलाई चेम्बरको आग्रह Read Previous

पूँजीगत खर्च वृद्धि गर्न अर्थमन्त्रीलाई चेम्बरको आग्रह

राजस्व छलीमा सन्दीप ट्रेडर्ससहित आधा दर्जन विरुद्ध मुद्दा दायर, ७९ करोड बिगो दाबी Read Next

राजस्व छलीमा सन्दीप ट्रेडर्ससहित आधा दर्जन विरुद्ध मुद्दा दायर, ७९ करोड बिगो दाबी