सैनिक कल्याणकारी कोषमा ८२ अर्ब जम्मा, ६ महिनामै थपियो साढे ११ अर्ब

काठमाडौं । नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएको छ । प्रधान सेनापति प्रमुराम शर्माका अनुसार विसं २०८० पुस मसान्तसम्म रु ८२ अर्ब ६६ करोड १२ लाख जम्मा भएको हो ।

सैनिक मञ्च टुँडिखेलमा नेपाली सेना कल्याणकारी बोर्डको संयोजन तथा नेपाली सेना जङ्गी अड्डाको व्यवस्थापनमा आयोजित कार्यक्रममा उनले करिब १० लाख हिताधिकारीमार्फत कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएको जानकारी दिए ।

उनले विसं २०८० असार मसान्तसम्म रु ७१ अर्ब ५ करोड ६१ लाख रहेकामा सो रकम वृद्धि भई पुस मसान्तसम्म कोषको कूल रकम ८२ अर्ब ६६ करोड १२ लाख पुगेको जानकारी दिए । कल्याणकारी कार्य सोही कोषको ब्याजबाट सञ्चालन हुँदै आएको पनि उनले उल्लेख गरे ।

सैनिक कल्याणकारी कोषमा हरेक वर्ष करिब रु ६ देखि ८ अर्ब खर्च भइरहेको जानकारी दिँदै प्रधान सेनापति शर्माले कोषमा ठूलो रकम देखिएता पनि एकै पटक रकम उपलब्ध गराउन कठिन भइरहेको बताए । प्रधानसेनापति शर्माले कोषलाई कालान्तरसम्म दिगो राख्न आयआर्जनलाई विस्तार गर्न जरुरी रहेको र यस विषयमा सरकारका सम्बद्ध निकायमा कुरा राखिएको उनले जानकारी दिए ।

उनले अवकाशप्राप्त सकल दर्जालाई एकै ठाउँमा भेटघाटका साथै बहालवाला र अवकाशप्राप्त सैनिकबीच सामीप्यताको भावना जागृत गराउन सेनाले विविध कल्याणकारी कार्यक्रम गर्दै आएको उल्लेख गरे ।

प्रधानसेनापति शर्माले सैनिकको देश, समाज र जनताप्रति उत्तिकै जिम्मेवारी रहेको भन्दै राष्ट्रलाई आइपरेका जुनसुकै विपद् र महामामा राष्ट्रभावका साथ स्वतस्फूर्त सक्रिय भएर भूमिका निर्वाह गर्न तत्पर हुनुपर्ने धारणा राखे । उनले भने, ‘राज्यका लागि तपाईंहरु हिजोका दिनमा जति महत्वपूर्ण हुनुहुन्थ्यो, आज अवकाशप्राप्त जीवनमा पनि उत्तिकै महत्वपूर्ण सम्पत्तिका रुपमा हुनुहुन्छ । विभिन्न प्रकारका विपद्, महामारीलगायत राष्ट्रिय सङ्कटमा आवश्यक योगदान गर्न तयार रहनुभएको छ र भविष्यमा पनि तयार रहनुहुन्छ भन्ने विश्वास लिएको छ ।’

सैनिक कल्याणकारी कोषका प्रमुख कार्यकारी अधिकृत अवकाशप्राप्त रथी गौरव तण्डुलले अवकाशपछिको जीवन एकापसमा भेटघाट, सुख-दुःख बाँड्न र अपनत्वको भावना विकास गराउन सम्मेलनले महत्वपूर्ण भूमिका रहने बताए।

उनले सैनक कल्याणकारी कोषमार्फत हिताधिकारीहरु लक्षित गरी विभिन्न कल्याणकारी कार्यक्रमहरु सञ्चालन भइरहेको र उक्त रकमलाई आयमूलक क्षेत्रमा लगानी गरी शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतलाई क्रमशः विस्तार तथा सेवामुखी बनाउन कल्याणकारी बोर्ड तथा सैनिक कल्याणकारी निर्देशनालयले नयाँ चिन्तनका साथ भूमिका निर्बाह गर्दै आएको जानकारी दिए ।

कार्यकारी निर्देशक तण्डुलले ‘स्वरोजगारका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रम तथा व्यावसायिक सीप विकास कार्यक्रम’ अवकाश प्राप्त सैनिक र परिवारमा लोकप्रिय रहेको बताए । उनका अनुसार सहुलियतपूर्ण कर्जा कार्यक्रमबाट हालसम्म अवकाश प्राप्त तथा एकल महिलातर्फ २३ हजार ५८ र बहालवालातर्फ ९ हजार ९८५ गरी कूल ३३ हजार ४३ जनाले रु ७ अर्ब ४५ करोड ७७ लाख ७५ हजार सुलभ व्याज दरमा कर्जा सुविधा हासिल गरेका छन् जसमध्ये महिला उद्यमशीलता कर्जातर्फ मात्र हालसम्म अवकाश प्राप्त सैनिकका परिवार तथा एकल महिलातर्फ एक हजार नौ सय ४७ र बहालवाला सैनिकका परिवारतर्फ एक हजार एक सय ६५ जना गरी जम्मा तीन हजार एक सय १२ जनाले रु दुई अर्ब ४६ करोड ६४ लाख ३० हजार कर्जा सुविधा लिइरहेका छन् ।

मनकामना केबलकार चैत ७ गते बन्द हुने Read Previous

मनकामना केबलकार चैत ७ गते बन्द हुने

पर्यटकीय राजधानी घोषणा भएपछि पोखरालाई के फरक पार्छ ? Read Next

पर्यटकीय राजधानी घोषणा भएपछि पोखरालाई के फरक पार्छ ?