ठाउँको प्राचीन नाम प्रचलनमा ल्याउँदै काठमाडौं महानगर, धमाधम अभिलेखन गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले ठाउँहरुको प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने प्रक्रिया थालेको छ ।

प्रक्रियाको थालनीमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठ, मन्दिर, वहाल, वही, धारा, सत्तल, पाटीहरुको अध्ययनबाट प्राचीन नाम खोज्ने, संस्कृतिविद, पुरातत्वविद, भाषाविद् तथा इतिहासविदहरुसँग नाम पुष्टि गर्ने चरण पूरा गरेको छ ।

यो कामको प्रारम्भ ५ वटा वडाबाट भएको छ । वडा नं. ५ हाँडीगाउँ (प्राचीन नाम नरः), वडा नं. ६ बौद्ध (प्राचीन नाम खस्योरः /खास्ती), वडा नं. ७ चाबहिल (प्राचीन नाम चावहीः), वडा नं. १८ नरदेवी (प्राचीन नाम ङेतः) वडा नं. २४ मखन (प्राचीन नाम मखं) भित्रका विभिन्न ठाउँको नाम खोजी भइसकेको छ ।

खोज कार्यबाट नर नरः (हाँडीगाउँ) मा ५२ वटा, खस्योर/खास्ती (बौद्ध)मा ५० वटा, चाबही (चावहिल) मा ७१ वटा, ङेत (नरदेवी) मा ३६ वटा र मखं (मखन) मा ४९ वटा नाम अभिलेखन गरिएको छ । यी नामहरु अब प्रचलनमा ल्याइनेछन् ।

ठाउँको पुरानो नाम खोज्नु पर्ने कारणका बारेमा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत भन्छन्, ‘सांस्कृतिक सहरको नाम मेटिने गरी ठाउँको नयाँ नामाकरण भएपछि नामबाट झल्किने सहरको सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक पहिचान मेटिँदै गयो । काठमाडौँको पहिचान जोगाउन कार्यक्रम अगाडि बढाइएको हो ।’

नाम पुनरुत्थानका सम्भावित चुनौतीका विषयमा थप्दै संगतले भने, ‘प्रचलनमा ल्याउन लागिएका नाम र अहिले प्रचलनमा रहेका नामका बिचमा भिन्नता हुन सक्छ । यी दुई नाममध्ये प्राचीन नामलाई ग्रहण गर्न स्थानीय समुदायसँग अनुरोध गर्दछु । प्राचीन नामले सांस्कृतिक सहरको मर्म ग्रहण गर्छन् । पहिचान संरक्षण हुन्छ । काठमाडौँको गरिमा यसैमा छ ।’

महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्र (सीआइयूडी) सँगको सहकार्यका विभिन्न स्थानहरुको प्राचीन नाम अध्ययन गरेको हो । अध्ययनमा संकलन भएको प्रारम्भिक सूचनालाई लिखित अभिलेख, शिलालेख, सरकारी कागजात (जग्गा नामसारी वा पास गर्दा वा चारकिल्ला प्रमाणित गर्दाको नाम), संस्कृतिविद, इतिहासविद, पुरातत्वविद, स्थानीय पाका मानिस, जनप्रतिनिधिहरुसँग सोधेर प्रशोधन गरेको छ । अध्ययनका क्रममा ६० वर्ष उमेर समूहभन्दा माथिका पाका व्यक्तिहरुको स्मरण नक्साङ्कन (मेमोरी म्यापिङ्, त्यो क्षेत्रको नाम, त्यहाँ हुने क्रियाकलापलाई कसरी सम्झना गर्नुहुन्छ ?) गरेको छ ।

अध्ययनका लागि स्थलगत अवलोकन भ्रमण र अन्तरवार्ताका क्रममा यही विषयमा अध्ययन गरिरहेका अन्य पक्षसँग पनि भेट भएको थियो । ती अनुसन्धाताबाट प्राप्त सूचना र जानकारीका आधारमा नामहरु वास्तविकता पहिचान गरिएको छ । अध्ययन सहकार्य र यसबाट प्राप्त सूचनाको आधिकारिकताका विषयमा सम्पदा तथा पर्यटन विभागका निमित्त प्रमुख कुमारी राईले जानकारी दिए ।

सुन जाँचबुझ आयोगका सिफारिस कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन Read Previous

सुन जाँचबुझ आयोगका सिफारिस कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

सिंगटी हाइड्रोपावरको ४६ लाख कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य कति ? Read Next

सिंगटी हाइड्रोपावरको ४६ लाख कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?