काठमाडौं । नबिल बैंकले अग्राधिकार सेयर (सेयर रकम फिर्ता नहुने) जारी गर्ने भएको छ ।
बिहीबार बसेको बैंक संचालक समितिको बैठकले प्रतिकित्ता १०० रुपैयाँ दरले ५ अर्ब रुपैयाँ बराबरको ५ करोड कित्ता अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो ।
बैंकका अनुसार उक्त अग्राधिकार सेयरमा लगानी गर्नेले वार्षिक ८ प्रतिशत प्रतिफल पाउने छन् । यद्यपि, नाफा कमाएको वर्ष मात्रै लाभांश दिने बैंकले जनाएको छ ।
त्यस्तै, आजको बैठकले बैंकले ८ वर्ष अवधिको ‘८% नबिल डिबेन्चर २०८९’ पनि जारी निर्णय गरेको छ । अग्रिाधिकार सेयर र डिबेन्चर दुवै जारी गर्न राष्ट्र बैंकले स्वीकृति दिनुपर्नेछ ।
पूँजीकोषको दबाबमा रहेको नबिलले पूँजी कोष व्यवस्थापनका लागि अग्राधिकार सेयर र डिबेन्चर जारी गर्न लागेको हो । राष्ट्र बैंकको व्यवस्था अनुसार हाल जोखिम सम्पत्तिको तुलनामा प्राथमिक पूँजी अनुपात न्यूनतम ८.५ प्रतिशत र कुल पूँजीकोष अनुपात ११ प्रतिशत कायम गर्नुपर्छ । तर, पछिल्लो तथ्यांक अनुसार नबिलको प्राथमिक पूँजी कोष ८.९३ प्रतिशत र कुल पूँजीकोष ११.५४ प्रतिशत मात्रै छ ।
पूँजीकोषका कारण नबिल अहिले कर्जाको माग आए पनि थप कर्जा दिन नसक्ने अवस्थामा पुगेको छ । त्यसलाई सहजीकरण गर्न नयाँ उपकरण प्रयोग गर्दै पूँजी व्यवस्थापन गर्न लागेको हो ।
थप पूँजी व्यवस्थापन नगरे नबिललाई आगामी दिनमा व्यवसाय विस्तारमा झन् गाह्रो पर्ने देखिन्छ । राष्ट्र बैंकले चालु वर्षदेखि ‘काउन्टर साइक्लिकल बफर’ लागू गर्दै २०८१ असार मसान्तसम्म थप ०.५ प्रतिशत पूँजीकोष कायम गर्नुपर्ने व्यवस्था गरेको छ । सो अनुसार आगामी असार मसान्तसम्म थप ०.५ प्रतिशत अर्थात् प्राथमिक पूँजीकोष नै ९ प्रतिशत कायम गर्नुपर्छ ।
कुनै आर्थिक वर्षको कुनै अवधिमा तोकिएको पूँजीकोष अनुपात कायम गर्न नसके राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउँछ ।