काठमाडौं । अपर तामोकोशी हाइड्रोपावरको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । बिहीबार बजार खुलेको २५ मिनेटमै कम्पनीको १२ लाख बढी कित्ता सेयर किनबेच भएको हो ।
कम्पनीको १०० प्रतिशत हकप्रद सेयर सूचीकृत भएपछि बुधबार कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको थियो । बिहीबार कम्पनीको सेयर मूल्य हालसम्मकै सस्तो भएपछि लगानीकर्ताले ठूलो मात्रमा सेयर किनेका हुन् ।
बिहीबार कम्पनीको सेयर मूल्य न्यूनतम प्रतिकित्ता १७० रुपैयाँसम्म झरेको छ । यद्यपि, सो मूल्यमा कमै कित्ता मात्र कारोबार भएको छ ।
कम्पनीले अझै केही वर्ष कुनै प्रतिफल दिन नसक्ने भए पनि दीर्घकालमा राम्रो प्रतिफल पाउने आशामा सेयर मूल्य सस्तो भएको बेला लगानीकर्ताले सेयर उठाएका हुन् ।
यस्तै, पछिल्लो समय नेप्सेमा सूचीकृत १३ समूहमध्ये हाइड्रोपावर सेक्टरमा उच्च आकर्षण देखिन्छ । वित्तीय अवस्था कमजोर भएका कम्पनीको पनि सेयर मूल्य आकाशिएका छन् । यस्तोमा तामाकोशीको पनि मूल्य बढ्ने आशामा लगानीकर्ताको आकर्षण देखिएको हो ।
तामाकोशी नेप्सेमा सूचीकृत ९१ हाइड्रोपावरमध्ये सबैभन्दा ठूलो कम्पनी हो । ४५६ मेगावाट क्षमताको आयोजना संचालन गरिरहेको कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नोक्सानी २५ करोड ७६ लाख रुपैयाँ नोक्सानीमा छ ।यद्यपि, गत वर्षको सोही अवधिको तुलनामा नोक्सानी घटेको छ । गत वर्ष पुससम्म तामाकोशी ८२ करोड ४८ लाख रुपैयाँ घाटामा रहेको थियो ।
विद्युत् बिक्री आम्दानी बढे पनि कम्पनीको खर्च बढ्दा नोक्सानीमा गएको हो । मूल्यह्रास कट्टा गर्दा, रोयल्टी खर्च र प्रशासनिक खर्च बढ्दा कम्पनी नोक्सानीमा गएको हो ।
समीक्षा अवधिमा कम्पनीले बिजुली बेचेर ५ अर्ब ३५ करोड रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष पुससम्म कम्पनीले ४ अर्ब ९८ करोड रुपैयाँको बिजुली बेचेको थियो ।
समीक्षा अवधिमा कम्पनीके वित्तीय खर्च ३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीले तिर्न बाँकी दीर्घकालीन ऋण ७२ अर्ब ७७ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको रिटेन्ड अर्निङ ७ अर्ब ५७ करोड रुपैयाँ ऋणात्मक छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १.३२ रुपैयाँ ऋणात्मक छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ ६१.११ रुपैयाँ छ ।