काठमाडौं । पछिल्लो समय सेयर लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर धमाधम सेयर किन्न थालेका छन् । सेयर धितो कर्जामा नेपाल राष्ट्र बैंकको लचकतासँगै ब्याजदर पनि सस्तिँदै गएपछि लगानीकर्ताले ऋण लिएर सेयर किन्न थालेका हुन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ७ महिना (साउन-माघ)मा मात्रै लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट ८ अर्ब ८६ करोड ३७ लाख रुपैयाँ ऋण लिएका छन् ।
गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल ७६ अर्ब ३० रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेकोमा माघ मसान्त आइपुग्दा बढेर ८५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । चालु वर्षमा मार्जिन प्रकृतिको कर्जा ११.६ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
अघिल्ला दुई वर्षमा झन्डै ३० अर्ब रुपैयाँले घटेको सेयर धितो कर्जा चालु वर्षको ७ महिनामै झन्डै ९ अर्ब रुपैयाँ बढेको छ । पछिल्लो एक महिना (माघ)मा मात्रै बैंकहरूले ८८ करोड ६३ लाख रुपैयाँ सेयर कर्जा लिएका छन् ।
चालु वर्षमा औसतमा मासिक १ अर्ब २६ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भइरहेको हो । राष्ट्र बैंकका अनुसार साउनमा १० करोड ५०, भदौमा १ अर्ब २७ करोड ४८ लाख, असोजमा ३ अर्ब ३२ करोड ९४ लाख, कात्तिकमा १४ करोड ३२, मंसिरमा २ करोड ९६ लाख र पुसमा ३ अर्ब ९ करोड ९९ लाख रुपैयाँ सेयर धितो कर्जा लगानी भएको छ ।
१ करोड बढी ऋण लिने १७ प्रतिशतले बढे
चालु आर्थिक वर्षमा १ करोड रुपैयाँभन्दा ठूलो रकमको ऋण ह्वात्तै बढेको छ । यस अवधिमा १ करोड बढीको ऋण १६.९ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार असार मसान्तसम्म १ करोड बढीको कुल सेयर कर्जा ४४ अर्ब ७१ करोड रहेकोमा पुस आइपुग्दा बढेर ५२ अर्ब २६ करोड पुगेको छ । समीक्षा अवधिमा १ करोड माथिको सेयर कर्जा ७ अर्ब ५५ करोड रुपैयाँले बढेको हो ।
त्यस्तै, यस अवधिमा ५० लाखदेखि १ करोड रुपैयाँसम्मको ऋण लगानी १.२ प्रतिशत अर्थात् १४ करोड रुपैयाँले बढेको छ । त्यस्तै, २५ देखि ५० लाख रुपैयाँसम्मको कर्जा लगानी भने ८ प्रतिशतले बढेको छ । असारसम्म यस्तो कर्जा १२ अर्ब ७८ करोड कर्जा लगानी भएकोमा माघ आइपुग्दा १ अर्ब ६ करोडले बढेर १३ अर्ब ८४ करोड पुगेको छ ।
२५ लाख रुपैयाँ मुनिको सेयर धितो कर्जा १.५ प्रतिशत अर्थात् १० करोड ३५ लाख रुपैयाँले बढेको छ । माघसम्म २५ लाख मुनिको सेयर धितो कर्जा ७ अर्ब १३ करोड रुपैयाँ छ ।
राष्ट्र बैंकको लचकताले बढ्दै सेयर कर्जा
पछिल्लो समय नेपाल राष्ट्र बैंकको अपनाएको नीतिगत लचकताका कारण सेयर धितो कर्जा प्रवाह बढ्दै गएको हो । साथै, घट्दो ब्याजदर, अधिक तरलता, अर्थतन्त्रका सूचकमा देखिएको सुधार लयागत कारणले सेयर धितो कर्जा लगानी बढेको हो ।
राष्ट्र बैंकले चालु आवदेखि सेयर धितो कर्जामा लगाएको नीतिगत अंकुश क्रमशः हटाउँदै लगेको छ । जसको प्रभाव बैंकको मार्जिन प्रकृतिको कर्जा प्रवाहमा देखिन थालेको हो । राष्ट्र बैंकले आव २०७८/७९ को मौद्रिक नीति मार्फत ४/१२ करोड रुपैयाँको सीमा लगाएको थियो । त्यसको व्यापक आलोचना भएपछि २०७९/८० को मौद्रिक नीतिबाट ४ करोडको सीमा हटाएर एउटै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म ऋण लिन सक्ने व्यवस्था गरेको हाल बढाएर एक व्यक्तिले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोड ऋण लिन पाउने व्यवस्था गरेको छ ।
त्यस्तै, राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार पनि घटाएको छ । मौद्रिक नीति मार्फत २५ लाखसम्मको सेयर धितो कर्जाको जोखिमभार शतप्रतिशत कायम गरेकोमा त्यसको सीमा बढाएर ५० लाख रुपैयाँ कायम गरिएको छ । त्यस्तै, मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले ५० लाख बढीको सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशतमा झारेको छ ।
त्यस्तै, बैंकिङ प्रणालीमा कायम अधिक तरलता र घट्दो ब्याजदरका कारण पनि सेयर कर्जा बढेको हो । अहिले बैंकहरूसँग साढे ६ खर्ब रुपैयाँ लगानी योग्य रकम छ । कर्जाको माग नभएपछि बैंकहरूले महिनैपिच्छे ब्याजदर घटाइ रहेका छन् । अधिकांश बैंकले कात्तिकदेखि नै निक्षेपको ब्याजदर घटाएका छन् । जसकारण बैंकको लागत घट्न गई कर्जाको ब्याजदर समेत घटेको छ । अहिले बैंकहरूको औसत बेसरेट नै एकल अंकमा झरिसकेको छ । बार्गेनिङ गर्न सक्ने ग्राहकले १० प्रतिशत हाराहारीमै ऋण पाउने अवस्था छ । यसले सेयर बजारमा सकारात्मक प्रभाव परेको छ ।
अर्थतन्त्रमा आएको सुधारले पनि लगानीकर्तालाई ऋण लिएर लगानी गर्न मनोबल बढेको देखिन्छ । अहिले अर्थतन्त्रको बाह्य क्षेत्र निकै बलियो अवस्थामा पुगेको छ भने आन्तरिक सूचकहरूमा पनि क्रमशः सुधारोन्मुख रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यिनै कारणले आगामी दिनमा सेयर बजारले लय समात्ने आशामा लगानीकर्ताले ऋण लिएर सेयर किन्न थालेको देखिन्छ