काठमाडौं । आगामी वर्ष ३ वटा वाणिज्य बैंकले सेयरधनीलाई लाभांश बाँड्न नपाउने भएका छन् । चालु आर्थिक वर्षमा पूँजीकोष अनुपात कायम गर्न नसकेपछि एनआइसी एशिया, कुमारी र प्रभु बैंकले आगामी वर्षमा लाभांश बाँड्न नपाउने भएका हुन् ।
नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार वाणिज्य बैंकहरूले जोखिम सम्पत्तिको तुलनामा प्राथमिक पूँजी अनुपात न्यूनतम ८.५ प्रतिशत र कुल पूँजीकोष अनुपात ११ प्रतिशत कायम गर्नुपर्छ । तर, चालु आवको पुस मसान्तसम्म एन्आइसी, कुमारी र प्रभुले प्राथमिक पूँजी कोष कायम गर्न सकेका छैनन् ।
राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म एनआइसीको प्राथमिक पूँजीकोष ८.०४ प्रतिशत, कुमारीको ८.०३ प्रतिशत र प्रभु बैंकको ८.१२ प्रतिशत मात्रै छ । यो राष्ट्र बैंकले तोकेको सीमाभन्दा कम हो ।
कुनै आर्थिक वर्षको कुनै अवधिमा तोकिएको पूँजीकोष अनुपात कायम गर्न नसके राष्ट्र बैंकले लाभांश वितरणमा समेत रोक लगाउँछ ।
यी बैंकको कुल पूँजीकोष सीमाभन्दा माथि रहे पनि प्राथमिक पूँजी कोष सीमाभन्दा तल झरेको हो । पुससम्म एनआइसीको कुल पूँजीकोष ११.०२ प्रतिशत, कुमारीको १२.०८ प्रतिशत र प्रभुको ११.८२ प्रतिशत छ ।
राष्ट्र बैंकले चालु वर्षदेखि ‘काउन्टर साइक्लिकल बफर’ लागू गर्दै २०८१ असार मसान्तसम्म थप ०.५ प्रतिशत पूँजीकोष कायम गर्नुपर्ने व्यवस्था गरेको छ । यस अनुसार असार मसान्तसम्म बैंकहरुले प्राथमिक पूँजीकोष नै ९ प्रतिशत कायम गर्नुपर्नेछ । अहिले नै पूँजीकोष कायम गर्न नसकेका बैंकहरुलाई आगामी दिनमा झनै दबाब हुने देखिन्छ ।
पूँजी कोष पुर्यान नसकेको कारण यसअघि पनि एनआइसी एशिया बैंकले लगातार ३ वर्षसम्म लाभांश बाँड्न पाएको थिएन । त्यस्तै, गत वर्ष पूँजीकोष कायम गर्न नसक्दा कुमारीले यस वर्ष लाभांश दिएन ।