काठमाडौं । नयाँ सरकार बन्ने भएसँगै सेयर बजारमा उछाल आएको छ । साविकको नेपाली काँग्रेस–माओवादी गठबन्धन भत्केर नेकपा एमाले, माओवादी राष्ट्रिय स्वतन्त्र पार्टी सहितको नयाँ गठबन्धन सरकार बन्ने भएसँगै नेप्सेमा उछाल आएको हो ।
मंगलबार बजार खुलेको ३ मिनेटमा नेप्से परिसूचक ४ प्रतिशत अर्थात ७९.२९ अंकले बढेर सर्किट ब्रेक लागेको छ । नेप्सेमा सर्किट ब्रेक लागेसँगै २० मिनेटका लागि सेयर कारोबार स्थगन भएको छ ।सोमबार १९६०.३० बिन्दुमा बन्द भएको नेप्से आज ३ मिनेटमै २०३९.६० बिन्दुमा पुगेको छ ।
सत्ता समीकरण फेरिएसँगै नयाँ अर्थमन्त्री आउने छन् । विगतमा सेयर बजारमैत्री भनेर चिनिएका पूर्वअर्थमन्त्री फेरि विष्णुप्रसाद पौडेल फेरि अर्थमन्त्री बन्ने हल्लाका कारण लगानीकर्ता उत्साहित हुँदा नेप्सेले छलाङ हानेको हो ।
नेप्सेको नियम अनुसार कारोबार खुलेको पहिलो १ घण्टाभित्र (११ देखि १२ बजेसम्म) नेप्से परिसूचक ४ प्रतिशतले घट्यो वा बढ्यो भने भने सर्किट लगाई २० मिनेटका लागि कारोबार स्थगन हुन्छ । त्यसैगरी कारोबार सुरु भएको दोस्रो घण्टाभित्र (१२ देखि १ बजेसम्म) नेप्से परिसूचक ५ प्रतिशतले घट्यो वा बढ्यो भने पुनः सर्किट लगाई ४० मिनेटका लागि कारोबार रोकिन्छ ।
त्यस्तै दोस्रो सर्किटपछि पनि सूचक ६ प्रतिशतले घट्यो वा बढ्यो भने सर्किट ब्रेक लगाइ सो दिनको बाँकी अवधिको कारोबार पूर्ण रुपमा बन्द गरिन्छ ।