विश्वकै ठूलो आइपीओमा उठ्याे २५.६ अर्ब डलर

विश्वकै अहिलेसम्मको सबैभन्दा ठूलो आइपीओमा ‘साउदी अरामको’ कम्पनीले २५.६ अर्ब डलर रकम बजारबाट उठाएको छ । साउदी अरबको अर्थतन्त्रलाई पुर्नसंरचना गर्ने युवराज मोहम्मद बिन सलमानको योजनामा यो आइपीओ आधारित रहेको छ ।

 

अरामकोको सेयर प्रति कित्ता ३२ रियाल (८.५३ डलर) मा बिक्री भएको हो । कम्पनीको कूल मूल्याङ्कन १.७ ट्रिलियन डलर रहेको छ । आइपीओ कूल आवेदन भने १ सय १९ खर्ब डलरको परेको थियो ।

 

अर्थतन्त्र पुर्नसंरचना गर्ने महत्वकांक्षी योजनाको हिस्सा रहेको यो आइपीओ निष्काशनमा केही समस्या नदेखिएका होइनन् । यमनको युद्ध र वासिङ्टन पोष्टका जमल खसहोगीको हत्याले यो निष्काशनमा व्यवधान खडा गरेका थिए ।

युवराजले शुरुमा १ सय अर्ब डलरको आइपीओ जारी गर्ने योजना बनाए पनि हाल १.५ प्रतिशतमात्र सेयर बिक्री गरेर २५.६ अर्ब डलरको आइपीओ जारी गरेका हुन् । उनले शुरुमा कम्पनीको कूल मूल्याङ्कन २ ट्रिलियन डलर गर्ने योजना बनाएका थिए ।

 

यो आइपीओको बिक्रीको लागि अरामको घरेलु बजारमा नै बढी केन्द्रीत भएको छ । रियादकै संस्थाहरुबाट आइपीओमा ३ सय ९७ अर्ब रियादको आवेदन परेको थियो । राजपरिवारका धनाढ्य व्यापारीहरुले यो आइपीओमा ठूलो लगानी गरेको अनुमान छ ।

 

अरामको विश्वकै ठूलो सार्वजनिक निष्काशन गरिएको कम्पनी भएको छ । हाल कम्पनीको कूल मूल्याङ्कन १.२६ ट्रिलियन रहेको छ ।

अरामको एकदमै गोप्य कम्पनी थियो, जसको नाफाले दशकौंसम्म शासक परिवार र मुलुकलाई आर्थिक सहयोग गरेको थियो । अरामको अहिलेसम्म वित्तीय विवरण प्रकाशित गरेको छैन र अन्तर्राष्ट्रिय ऋण बजारबाट पैसा पनि उठाएको छैन । सन् १९७० मा राष्ट्रियकरण भएपछि साउदी सरकार बाहेक कम्पनीका अन्य सेयरधनीहरु पनि थिएनन् ।

 

साउदी अरबले यो आइपीओलाई सफल पार्न हरसम्भव प्रयास गरेको थियो । अरामकोको कर दरलाई ३ गुणाले घटाएको थियो भने लगानीकर्तालाई आकर्षक लाभांश वितरण गर्ने वाचा पनि गरेको थियो ।

 

विख्यात इन्भेष्टमेन्ट बैंक गोल्डम्यान स्याच्ससँग अरामकोको ४५ करोड कित्ता सेयरको अधिकार रहेको छ । बैंकले यो सबै वा आंशिक सेयर किन्न पाउने अवस्था छ । यदि बैंकले सबै सेयर किनेमा आइपीओको आकार २९.४ अर्ब डलर पुग्नेछ । आइपीओबाट उठेको रकम सार्वजनिक लगानी कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ ।

देशकै ठूलो सवस्टेशनको काम अन्तिम चरणमा Read Previous

देशकै ठूलो सवस्टेशनको काम अन्तिम चरणमा

एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनाको पहिलो हप्ताको विजेता घोषणा Read Next

एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनाको पहिलो हप्ताको विजेता घोषणा