काठमाडौं । नेपाल बीमा प्राधिकरणले दिएको समय सीमा ६ महिना बित्दा समेत दुईतिहाई बीमा कम्पनीले तोकेको चुक्ता पूँजी पुर्याउन सकेका छैनन् ।
प्राधिकरणले म्याद थप्दै २०८० असार मसान्तसम्म चुक्ता पूँजी पुर्याउन बीमा कम्पनीहरूलाई निर्देशन दिएको थियो । तर, हालसम्म २८ (जीवन र निर्जीवन) कम्पनीमध्ये ७ कम्पनीले मात्रै चुक्ता पूँजी पुर्याएका हुन् । जसमा ३ जीवन र ४ निर्जीवन बीमा कम्पनी रहेका छन् । प्राधिकरणले तोकेको समय सीमा ७ महिना बित्दा समेत अझै ७१ प्रतिशत अर्थात् २० कम्पनीले चुक्ता पूँजी कायम गर्न सकेका छैनन् ।
प्राधिकरणले २०७८ चैतमा बीमा कम्पनीहरूले १ वर्ष भित्र चुक्ता पूँजी अढाई गुणाले बढाउन निर्देशन दिएको थियो । सो अनुसार २०७९ चैतसम्म जीवन बीमा कम्पनीले न्यूनतम ५ अर्ब र निर्जीवन बीमाले साढे २ अर्ब रुपैयाँ पूँजी पर्याउनु पर्थ्यो । तोकिएको समयमा पूँजी पुर्याउन नसकेपछि प्राधिकरणले असार मसान्तसम्म म्याद थपिदिएको थियो । तर, थपेको म्याद ७ महिना बित्दा समेत बीमा बीमा कम्पनी (विदेशी कम्पनीका शाखा बाहेक) अझै १८ कम्पनीले पूँजी पर्याएका छैनन् । जसमध्ये १ दर्जन कम्पनीले चुक्ता पूँजी पर्याउने योजना समेत पेश गर्न सकेका छैनन् ।
प्राधिकरणको पूँजी वृद्धि योजनापछि डेढ दर्जन बढी बीमा कम्पनीहरू मर्जर प्रक्रियामा गए । २०७८ चैत मसान्तसम्म १९ जीवन २० निर्जीवन गरी ३९ वटा बीमा कम्पनीको संख्या रहेकोमा अहिले घटेर २८ वटामा झरेको छ । तर, मर्जरमै गएका कम्पनीले समेत अझै पूँजी पुर्याउन सकेका छैनन् ।
प्राधिकरणले पूँजी बढाउन निर्देशन दिए पनि कडाइका साथ कार्यान्वयन नगर्दा बीमा कम्पनीहरूले समयमै चुक्ता पूँजी पुर्याउन नसकेका हुन् । यद्यपि, जगेडा कोषमा रहेको संचित रकम र हकप्रदबाट अधिकांश कम्पनीले पूँजी पुर्याउन सक्ने भएकाले कडाइ नगरिएको प्राधिकरणका अधिकारीहरू बताउँछन् । प्राधिकरणले पूँजी वृद्धिमा लचकता अपनाउँदै बीमा कम्पनीहरूलाई ४० प्रतिशतसम्म हकप्रद निष्काशन गर्न दिने बताएको छ । तोकिएको हकप्रद निष्काशन गर्दा अधिकांश कम्पनीको पूँजी पुग्ने उनीहरूको भनाइ छ ।
३ जीवन र ५ निर्जीवन कम्पनीले मात्रै पुर्याए चुक्ता पूँजी
चालु आर्थिक वर्षको दोसे त्रैमासको अन्त्यसम्म १४ जीवन बीमा मध्ये ३ कम्पनीले मात्रै तोकिएको चुक्ता पूँजी पुर्याएका छन् । हालसम्म नेपाल लाइफ, हिमालयन लाइफ र नेशनल लाइफले मात्रै चुक्ता पूँजी पर्याएका छन् । बाँकी ११ मध्ये विदेशी कम्पनीको शाखा भएकाले मेट लाइफ इन्स्योरेन्सले तोकिएको पूँजी पुर्याउनु पर्दैन भने १० कम्पनीले अझै पूँजी पुर्याएका छैनन् ।

चुक्ता पूँजी पुर्याउन नसकेका १० जीवन बीमा मध्ये अझै ७ कम्पनीले पूँजी वृद्धिको योजना समेत पेश गरेका छैनन् । सन नेपाल, एशियन लाइफ र लाइफ इन्स्योरेन्सले भने हकप्रद ल्याएर पूँजी पुर्याउने घोषणा गरेका छन् ।
त्यस्तै, निर्जीवन बीम तर्फ हालसम्म ५ कम्पनीले पूँजी पुर्याएका छन् । शिखर, सिद्धार्थ प्रिमियर, आइजीआई प्रुडेन्सियल, सगरमाथा लुम्बिनी र हिमालयन एभरेष्ट (घोषणा गरेको ८.६३ प्रतिशत बोनस सेयरपछि) चुक्ता पूँजी पुर्याएका छन् । बाँकी ९ कम्पनीमध्ये ओरिएण्टल र नेशनल विदेशी कम्पनीका शाखा भएकाले तोकिएको पूँजी कायम गर्नुपर्दैन भने ७ वटाले अझै पुर्याउन सकेका छैनन् ।
पूँजी पुर्याउ बाँकी ७ निर्जीवन बीमा कम्पनीले मध्ये अझै ५ वटाले क्यापिटल प्लान समेत पेश गरेका छैनन् । एनएलजी र नेको इन्स्योरेन्सले भने हकप्रद सेयर घोषणा गरिसकेका छन् ।
हकप्रदबाट पूँजी पुर्याउँदै यी कम्पनी
प्राधिकरणले गत भदौमा चुक्ता पूँजी पुर्याउन बीमा कम्पनीहरूलाई हकप्रद सेयर निष्काशन गर्न दिने निर्णय गरेको थियो । त्यसपछि आधा दर्जन बीमा कम्पनीले हकप्रदबाटै पूँजी पुर्याउने योजना पेश गरेका छन् ।
जीवनतर्फ हालसम्म ३ कम्पनीले हकप्रद सेयर घोषणा गरेका छन् । सन नेपाल लाइफले गत वर्षको नाफाबाट २३.८० प्रतिशत बोनस सेयर वितरणपछि २७ प्रतिशत हकप्रद सेयर जारी गरेर पूँजी पुर्याउने योजना पेश गरेको छ । त्यस्तै, एशियन लाइफले ७.७५ प्रतिशत बोनस सेयर वितरणपछि ४२ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेशनले ८८.४५ प्रतिशत हकप्रद सेयर प्रस्ताव गरेका छन् ।
सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमासहित सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ, आइएमई लाइफ, सानिमा रिलायन्स, प्रभु महालक्ष्मी र सूर्यज्योति लाइफले अझै पूँजी वृद्धि योजना सार्वजनिक गरेका छैनन् ।
निर्जीवनतर्फ हालसम्म दुई कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेका छन् । नेको इन्स्योरेन्सले २५ प्रतिशत र एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा गरेका छन् । सानिमा आइजीआइ, युनाइटेड अजोड, नेपाल र सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले अझै पूँजी वृद्धिको योजना सार्वजनिक गरेका छैनन् । जसमा प्रभु, नेपाल र राष्ट्रिय बीमाको १ अर्ब बढी पूँजी थप्नुपर्ने अवस्था छ ।