घाटाको कम्पनीको सेयर बन्यो दोस्रो धेरै महँगो, मूल्य २४ दिनमा २४५३ बाट साढे १९ हजार पुग्यो

काठमाडौं । सेयर बजार साढे २ वर्ष यता बियरिस ट्रेन्डमा छ । २०७८ भदौ २ गते ३१९८ विन्दुको ऐतिहासिक रेकर्ड बनाएको नेप्से त्यसयता घटेर १८०० विन्दसुम्म आइपुग्यो । यद्यपि, यही बीचमा नेप्सेले ४ पटक १८००-२२०० बिन्दुको यात्रा गर्यो । हाल २ हजार बिन्दु हाराहारीमा घुमिरहेको छ ।

नेप्से परिसूचक घटेसँगै सूचीकृत कम्पनीहरूको सेयर मूल्यमा भारी गिरावट आएको छ । साढे २ वर्षको अवधिमा केही कम्पनीको सेयर मूल्य ७५ प्रतिशतसम्म घटेर इतिहासकै सस्ता भएका छन् । अहिले विगतमा ब्लुचिप रहेका कम्पनीको समेत सेयर भाउ निकै तल आएको छ ।

अधिकांश कम्पनीको सेयर भाउ १ वर्ष यताकै सस्तो भएको छ भने वाणिज्य बैंकहरूको ४ वर्ष यताकै सस्तो भएको अवस्था छ । अन्य क्षेत्रका कम्पनीको तुलनामा सेयर संख्या अधिक भएको र प्रतिफल घट्दै जाँदा वाणिज्य बैंकको सेयर मूल्यमा पहिरो गएको हो । घट्दो बजारमा अधिकांश कम्पनीका लगानीकर्ताले ठूलो रकम गुमाएका छन् ।

तर, यही अवधिमा एउटा कम्पनीको सेयर मूल्य भने ३३ गुणासम्म बढेको छ । यसको पछिल्लो उदाहरण हो, समाज लघुवित्त वित्तीय संस्था । गत साउन १ गतेदेखि कारोबारमा आएको समाजको सेयर मूल्य ७ महिनासम्म १ दिन बाहेक सधैं बढ्यो । ७२.२० रुपैयाँ पहिलो कारोबार खुलेको कम्पनीको सेयर मूल्य ३३ गुणाले बढेर २३९३ रुपैयाँसम्म पुग्यो । यद्यपि, पछिल्लो ४ दिनमा लगातार घटेर बुधबार १६५६ रुपैयाँमा आएको छ । पुसम्म ७६ लाख घाटामा रहेको कम्पनीको सेयर संख्या कम भएकाले नै मूल्य अस्वभाविक उचालियो ।

हाल नेप्सेमा २७१ वटा कम्पनी सूचीकृत छन् । तीमध्ये थोरै चुक्ता पूँजी भएका कम्पनीको सेयर मूल्यमा धेरै चलखेल हुने गरेको छ । वित्तीय अवस्था जस्तोसुकै भए पनि सेयर आपूर्ति अति न्यून हुँदा दैनिक थोरै कित्ता कारोबार गरी मूल्य अचाक्ली बढाउने गरिएको छ । यसको अर्को उदाहरण हो उत्पादनमूकल कम्पनी बोटलर्स नेपाल (बालाजु) । काठमाडौंको बालाजु प्लाण्टबाट कोकाकोला उत्पादन गर्दै आएको यस कम्पनीको सेयर मूल्य २४ करोबार दिनमै झन्डै आठ गुणाले बढाइएको छ ।

पछिल्लो ३ महिनाको अवधिमा कम्पनीको सेयर मूल्य २५०२ रुपैयाँबाट १९ हजार ६४१ रुपैयाँ पुर्याइएको छ । यससँगै यो कम्पनी सेयर बजारकै दोस्रो महँगो मूल्य हुने कम्पनी समेत बनेको छ । ३ महिनाको अवधिमा कम्पनीको सेयर जम्मा २४ दिन खरिदबिक्री भएको छ । कारोबार भएको हरेक दिन मूल्यमा पोजेटिभ सर्किट अर्थात् १० प्रतिशतले बढ्दै आएको छ ।

मंसिर २४ गते प्रतिकित्ता २४४५ रुपैयाँ रहेको सेयर मूल्य लगातार १० कारोबार दिन (पुस ८ गते) ५८९९ रुपैयाँ पुर्याइयो । त्यसपछि झन्डै डेढ महिना कारोबार भएन । फेरि माघ २९ गतेदेखि कारोबारमा आएको कम्पनी सेयर मूल्य १२ दिनमा तेब्बरले बढेर बुधबार १९ हजार ६४१ रुपैयाँ पुगेको छ ।

अझ रोचक त के छ भने हरेक दिन सर्किट लगाउने पुग्ने गरी अर्थात् ५० कित्ता मात्रै सेयर कारोबार भएको छ । नेप्सेको नियम अनुसार एकपटकको कारोबारमा २ प्रतिशत मात्रै मूल्य घट/बढ गर्न पाइन्छ । दैनिक सर्किट लगाउन ५ पटक कारोबार गर्नुुपर्ने हुँदा हरेक पटक १०/१० कित्ता मात्र कारोबार भई मूल्य बढ्दै आएको छ । ३ महिनामा २४ दिन कारोबार हुँदा ३ दिन मात्र ५० कित्ता बढी कारोबार भएको छ ।

दैनिक हजारौं कित्ता सेयर खरिदका लागि माग भए पनि सर्किट लागेपछि कारोबार नै नहुने गरेको देखिएको छ । कम्पनीमा संस्थापकको हिस्सा ७५ प्रतिशत र सर्वसाधरणको २५ प्रतिशत छ । नेप्सेमा कम्पनीको सर्वसाधरणतर्फ ४ लाख ८७ हजार २२१ कित्ता मात्रै सेयर छ । अति न्यून संख्यामा सेयर भएकाले बिक्री चाप नै आउँदैन । अहिले सेयरधनीहरूले मूल्य बढाउन सर्किट लगाउन मात्रै कारोबार गर्ने गरेका छन् । सीमित व्यक्तिहरूसँग मात्रै सेयर भएकाले उनीहरूकै मिलेमतोमा दैनिक ५० कित्ता मात्रै कारोबार गर्ने गरेका छन् ।

कस्तो छ कम्पनीको अवस्था ?

अर्थतन्त्रमा आएको संकुचनका कारण पछिल्लो समय कम्पनीको व्यवसाय खच्किँदो छ । चालु आवको ६ महिनामा कम्पनी १५ करोड १५ लाख रुपैयाँ घाटामा छ । जबकि गत वर्ष यही अवधिमा कम्पनी २९ करोड २१ लाख रुपैयाँ नाफामा थियो ।

आर्थिक मन्दीका कारण कुल आम्दानी घट्दा र वित्तीय लागत बढ्दा कम्पनी घाटामा गएको हो । साथै, कच्चा पदार्थको मूल्य वृद्धि, बिक्रीवितरण लागत बढेकाले नाफा प्रभावित भएको कम्पनीले जनाएको छ ।

यसको पनि बिक्री आम्दानी घट्दा र वित्तीय लागत बढ्ना नोक्सानीमा गएको हो । समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ६१ करोड रुपैयाँ घटेर ४ अर्ब ५८ करोड रुपैयाँमा सीमित भएको छ ।

यस्तै, वित्तीय लागत दोब्बरले बढेर १५ करोड ४९ लाख रुपैयाँ पुगेको छ । हाल १९ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ५ अर्ब ५२ करोड रुपैयाँ संचित छ ।

कम्पनी नोक्सानीमा गएसँगै वार्षिक प्रतिसेयर आम्दानी १४९ रुपैयाँ ऋणात्मक भएको छ । गत वर्ष यही अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २८५ रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ भने ३ हजार १२० रुपैयाँ छ ।

घाटाको कम्पनीमा किन हुँदैछन् लगानीकर्ता आकर्षित ?

कम्पनीको सेयरमा आकर्षण देखिनुको प्रमुख कारण आकर्षक जगेडा कोष र थोरै सेयर संख्या हुनु हो । कम्पनी अहिले घाटामा भए पनि जगेडा कोषमा साढे ५ अर्ब रुपैयाँ छ । सो संचित रकमबाट कम्पनीले आगामी वर्षहरूमा बम्पर लाभांश दिनसक्छ । सोही आशमा लगानीकर्ता कम्पनीको सेयरमा आकर्षित भएका हुन् । यद्यपि, कम्पनीले विगतमा वर्षहरूमा ७० प्रतिशतभन्दा धेरै लाभांश दिएको छैन ।

त्यस्तै, कम्पनीको सेयर संख्या थोरै भएकाले लगानीकर्ता आकर्षित भएको देखिन्छ । धेरै सेयर हुने कम्पनीको मूल्य केही बढ्ने बित्तिकै अधिक बिक्री चाप आउने गर्छ । सेयर संख्या थोरै भएकै कारण यसको मूल्य ८ गुणा बढ्दा पनि बिक्री चाप छैन । दैनिक खरिदका लागि हजारौं कित्ता माग भए आपूर्ति न्यून छ । थोरै सेयर हुँदा स्वार्थ समूहले पनि चलखेल गरी मूल्य बढाउने सक्ने र नाफा कमाउन सकिने आशमा सेयरमा झुम्मिएका हुन् ।

यस्तै, अहिले आर्थिक मन्दीका कारण व्यापार घटे पनि अर्थतन्त्रमा सुधार आउने बित्तिकै कम्पनी नाफामा जाने लगानीकर्ताको विश्वास छ ।उत्पादनमूलक क्षेत्रकै युनिलिभरको मूल्य ४१ हजार माथि पुगेकाले यसको पनि आगामी दिनमा अझै भाउ बढ्ने हल्ला समेत चलाइएको छ । अस्वभाविक रुपमा मूल्य उचालिएका कम्पनीको मूल्य त्यसैगरी घट्ने पनि गरेका छन् । यसतर्फ लगानीकर्ता आफैं सचेत हुन जरुरी छ ।

गण्डकीका ६५ पूर्वाधार आयोजनाको बहुवर्षीय ठेक्का लगाइँदै Read Previous

गण्डकीका ६५ पूर्वाधार आयोजनाको बहुवर्षीय ठेक्का लगाइँदै

केन्द्रीय कारागारका साढे ३ हजार कैदीबन्दी स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध Read Next

केन्द्रीय कारागारका साढे ३ हजार कैदीबन्दी स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध