गण्डकीका ६५ पूर्वाधार आयोजनाको बहुवर्षीय ठेक्का लगाइँदै

गण्डकी । गण्डकी प्रदेशका ६५ सडक तथा पुल आयोजनालाई बहुवर्षीय ठेक्कामा लैजान आर्थिक मामिला मन्त्रालयले स्वीकृति प्रदान गरेको छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले १२० पूर्वाधार आयोजनालाई बहुवर्षीय आयोजनामा समेटी स्रोत सुनिश्चित गर्न सो मन्त्रालयमा प्रस्ताव गरेको थियो । मन्त्रालयका प्रवक्ता एवं यातायात व्यवस्था महाशाखा प्रमुख टीकाराम पौडेलले बहुवर्षीयमा छानिएका आयोजनाको ठेक्का प्रक्रिया सुरु भइसकेको जानकारी दिए ।

‘मन्त्रालयले प्रस्ताव गरेका १२० आयोजनामध्ये ६५ आयोजनाको बहुवर्षीय ठेक्काका लागि स्रोत सुनश्चित भइसकेको छ, बाँकी आर्थिक मामिला मन्त्रालयमा अध्ययनको क्रममा छन्,’ उनले भने । बढीमा रु २५ करोड लागतसम्मका आयोजना बहुवर्षीय ठेक्काका लागि स्वीकृत भएको प्रवक्ता पौडेलले बताए । उनका अनुसार रु पाँच करोडभन्दा कम लागतका ३३ र रु ५ करोडभन्दा धेरै लागतका आयोजनाको सङ्ख्या ३२ रहेको छ ।

बहुवर्षीय ठेक्काका लागि कास्कीका आठ, गोरखाका छ, तनहुँका आठ, नवलपुरका १०, पर्वतका चार, बागलुङका आठ, मुस्ताङको एक, मनाङका दुई, लमजुङका छ, स्याङ्जाका आठ र म्याग्दीका चार आयोजना छनोटमा परेका हुन् । ‘आगामी तीन आर्थिक वर्षसम्मका लागि आयोजनाको बजेट सुनिश्चित गरिएको छ, यसबाट आयोजना निर्माणले गति लिने र समयमै सम्पन्न हुने विश्वास लिइएको छ,’ प्रवक्ता पौडेलले भने, ‘थप आयोजनालाई पनि बहुवर्षीय ठेक्कामा लैजाने गरी तयारी भइरहेको छ, आर्थिक मामिला मन्त्रालयबाट स्वीकृत भएर आउन बाँकी छ ।’

बहुवर्षीय ठेक्काका लागि स्वीकृत भएका सडक, पक्की पुल र झोलुङ्गे पुलका लागि रु ५ अर्ब ४९ करोड ६४ लाख ५१ हजार बराबरको बजेट सुनिश्चित भएको मन्त्रालयले जनाएको छ । अधिकांश तीन वर्षका र केही दुई वर्षका आयोजना बहुवर्षीय ठेक्कामा जाने प्रवक्ता पौडेलले जानकारी दिए। चालु आवमा टुक्रे योजना कटौती गरेको मन्त्रालयले बहुवर्षीय आयोजना छनोट प्रक्रियालाई पनि थप व्यवस्थित बनाएको उनको भनाइ छ ।

सङघ सरकारले पठाएका टुक्रे प्रकृतिका योजनासमेत फिर्ता गरेर त्यहाँको बजेट दायित्व सिर्जना भइसकेका ठूला आयोजना लागि व्यवस्थापन गरिने भएको छ । सङ्घ सरकारले चालु आवमा रु ३० लाखभन्दा कम बजेटका १७४ वटा योजनाका लागि रु १६ करोड २५ लाख विनियोजन गरेको थियो । सो बजेट दायित्व सिर्जना भएका सङ्घीयका आठवटा सडक आयोजनामा रकामान्तरण गरिएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं महानगरमा २ लाख करदाताले तिर्दैनन् नियमित कर, २ अर्ब बक्यौता असुल्न बाँकी Read Previous

काठमाडौं महानगरमा २ लाख करदाताले तिर्दैनन् नियमित कर, २ अर्ब बक्यौता असुल्न बाँकी

घाटाको कम्पनीको सेयर बन्यो दोस्रो धेरै महँगो, मूल्य २४ दिनमा २४५३ बाट साढे १९ हजार पुग्यो Read Next

घाटाको कम्पनीको सेयर बन्यो दोस्रो धेरै महँगो, मूल्य २४ दिनमा २४५३ बाट साढे १९ हजार पुग्यो