काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष्य डा. मीनबहादुर श्रेष्ठको नेतृत्वमा रहेको छनोट समितिले बुधबार एक सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो ।
बोर्डको अध्यक्ष खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएको हो । इच्छुक नेपाली नागरिकले फागुन ३० गतेसम्म आवेदन दिन सक्नेछन् ।
अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा ५ हजार रुपैयाँ दस्तुरसहित आवेदन बुझाउनुपर्नेछ ।
बोर्डको अध्यक्ष बन्न मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेका लब्ध प्रतिष्ठित व्यक्ति हुनेपर्ने छ । साथै, उच्च नैतिक चरित्र भएको हुनुपर्नेछ ।
तत्कालीन बोर्ड अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएसँगै गत पुस २१ गतेदेखि बोर्डको अध्यक्ष पद रिक्त छ ।