डुम्रे-बेँसीसहर सडक दुई लेनको बन्दै, ६.५ किलोमिटरमा कालोपत्र सकियो

लमजुङ । लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक २ लेन बनाएर ६.५ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ ।

तनहुँ डुम्रे बजारबाट २२० मिटर अघिदेखि ८.३ किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बनाएको र सोमध्ये हालसम्म उक्त किलोमिटर सडक कालोपत्र सम्पन्न गरिएको डुम्रे–बेँसी–चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी इञ्जिनियर किरण पोखरेलले बताए । यहाँ ‘अस्फाल्ट’ किसिमको कालोपत्र भइरहेको छ ।

हालसम्म पाइप कल्भर्ट, स्याल्भ कल्भर्टको काम, सडक चौडाइ पुर्याउन कटिङ गर्ने, टेवा (पर्खाल) उठाउने काम सम्पन्न भएको छ । सो सडकमा च्याम्बास बजारमा रहेको घरनिर र डुम्रे बजारको पुल नजिकैको भागमा नाली बनाउने काम भइरहेको उनको भनाइ छ । केही समय कालोपत्रको लागि सामग्री अभाव भएर रोकिए पनि केही दिनअघिदेखि कालोपत्रको काम सुरु भइरहेको र तीव्र रुपमा अघि बढ्ने डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार कालोपत्र गर्न बाँकी रहेको अधिकांश भागमा पनि तह मिलाउने कार्य सम्पन्न भएको छ । तनहुँको डुम्रे बजारबाट लमजुङतर्फ निर्माणाधीन यस सडक राजमार्गको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित १५/१५ मिटरको हुने भएको छ । त्यस्तै, १०/१० मिटरको लगतकट्टा भइसकेको छ । अधिग्रहण गरेकोमध्ये चौडाइ ११ मिटरमा सडक संरचना बनिरहेको उक्त कार्यालयले जनाएको छ । यसअघि ३.७५ मिटरको क्यारिज वे (भारवाहन सडक) रहेकोमा सात मिटरको हुनेछ ।

त्यस्तै, दायाँबायाँ एक÷एक मिटरको ‘सोल्जर’ तथा एक/एक मिटरको नाली निर्माण भएको छ । उक्त कार्यालयका अनुसार यस सडकको सो काम विसं २०८० कात्तिक २२ गतेसम्म सक्ने गरी आशिष अनेस्ट जेभीले विसं २०७७ वैशाख २२ गते सम्झौता गरेको थियो । तर निर्धारित समयमा काम सम्पन्न हुन सकेन । पुनः म्याद थप गर्दै आगामी असार मसान्तसम्म कालोपत्र सम्पन्न गरिसक्नुपर्ने इञ्जीनीयर पोखरेलले बताए ।

च्याम्बारका घरका विवाद र सडकमा पर्ने बिजुलीका पोलका कारणले समेत निर्माणमा ढिलाइ भए पनि यतिबेला सबै समस्याको समाधान भएको बताइएको छ । कालोपत्र सकिएपछि रोड फर्निचर (पेन्टिङ) गर्ने र किलोमिटर पोस्ट राखिने बताइएको छ । डुम्रे बेँसीसहर सडक ४२ किलोमिटरको दुरीमा रहेको छ । यस सडकको तनहुँ डुम्रेदेखि लमजुङकोे सिमाना पाउदी बजारसम्म २४ किलोमिटरको छ । सडकका लागि भ्याट बाहेक रु ७५ करोड ९४ लाख ९७ हजारको लागत अनुमान गरिएकोमा उक्त जेभीले रु ३८ करोड ९ लाख ८६ हजारमा ठेक्का सम्झौता गरेको कार्यालयले जनाएको छ  ।

छिमेकी जिल्ला तनहुँको डुम्रे बजारबाट विसं २०२९ मा खन्न सुरु गरिएको बेँसीसहरसम्मको ४२ किलोमिटर सडकको काम सक्न करिब साढे एक दशक लागेको थियो । विसं २०४६ मा ट्र्याक खुलेसँगै विसंं २०५२ देखि एक लेनको कालोपत्र थालिएको थियो । सुरु गरेको चार वर्षको अवधिमा ४२ किलोमिटर सडकको कालोपत्र सम्पन्न भएको थियो । डुम्रे बेँसीसहरको सडक हुँदै हिमाली जिल्ला मनाङका स्थानीयवासी समेत आवतजावत गर्दछन् ।

सडक दुई लेन भई कालोपत्र सम्पन्न भएपश्चात् तीन जिल्लाका स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुने भएका छन् । यात्रा थप सहज हुनुका साथै समय समेत घट्नेछ । उक्त स्थानमा मात्र नभई डुम्रेदेखि बेँसीसहरसम्ममै दुई लेनको सडक निर्माण गरेर कालोपत्र गरेमा यात्रा झनै सहज हुने स्थानीयवासीको भनाइ छ ।

लमजुङका स्थानीयवासी यातायातको सुविधा नहुँदा डुम्रेसम्म हिँडेरै खाद्यान्न, लत्ताकपडा लगायतका सामग्री ल्याउनेसमेत गर्दथे । त्यस्तै, काठमाडौँ, पोखरा जानुपर्दा यहाँका स्थानीयवासी हिँडेरै डुम्रे बजारसम्म पुग्ने गरेको थिए । उक्त बाध्यता हटेपनि अझै यात्रा भने सहज हुनसकेको छैन । अहिले सडक ट्र्याक खुलेर एक लेनबाट पनि दुई लेन हुँदैछ ।रासस

पर्वतमा यस वर्ष २० किलोमिटर सडक कालोपत्र गरिँदै Read Previous

पर्वतमा यस वर्ष २० किलोमिटर सडक कालोपत्र गरिँदै

नेप्से परिसूचक फेरि २ हजार बिन्दु माथि उक्लियो, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

नेप्से परिसूचक फेरि २ हजार बिन्दु माथि उक्लियो, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट