सस्तिँदै कर्जाको ब्याजदर, १७ बैंकको बेसरेट एकल अंकमा झर्‍यो, कुनको कति ?

काठमाडौं । कर्जाको ब्याजदर सस्तिँदै गएको छ । वाणिज्य बैंकहरूको आधारदर (बेसरेट) डेढ वर्ष यताकै सस्तो भएपछि कर्जाको ब्याजदर पनि घट्दै गएको हो ।

वाणिज्य बैंकहरूले सार्वजनिक गरेको पछिल्लो महिना (माघ)को बेसरेट अनुसार औसत बेसरेट ९.३४ प्रतिशतमा झरेको छ । यो २०७९ असार यताकै कम हो । पछिल्लो ४ महिनामै बैंकहरूको बेसरेट १ प्रतिशत बिन्दुले घटेको छ भने पछिल्लो डेढ वर्षमा डेढ प्रतिशतभन्दा धेरैले घटेको छ । एक वर्ष अघि (२०७९ पुस मसान्त)मा वाणिज्य बैंकहरूको औसत बेसरेट नै १०.७८ प्रतिशत पुगेको थियो । सोबेला केही बैंकको बेसरेट झन्डै १२ प्रतिशतसम्म पुगेको थियो ।

अधिकांश बैंकहरूले चालु वर्षको कात्तिकदेखि लगतार निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । कर्जाको माग नबढेपछि बैंकहरूले महिनैपिच्छे निक्षेपको ब्याज घटाउँदा ब्याज खर्च कटौती हुन गई बेसरेट सस्तिएको हो । बेसरेट घट्दै गएसँगै कर्जाको ब्याजदर पनि सस्तिँदै गएको हो ।

पछिल्लो ५ महिनाको अवधिमै बैंकहरूले निक्षेपको ब्याजदर ४ प्रतिशतसम्म घटाएका छन् भने औसतमै साढे २ प्रतिशतले घटेको छ । जसको सकारात्मक प्रभाव बेसरेटमा देखिएको हो ।

बैंकिङ प्रणलीमा तरलता अभाव हुँदै गएपछि बैंकहरूले निक्षेपको ब्याज बढाउँदा २०७९ असारदेखि बेसरेट महँगिँदै गएको थियो । सो बेला औसतमा ६.८९ प्रतिशत रहेको बेसरेट २०७९ पुसमा बढेर १०.७८ प्रतिशतसम्म पुगेको थियो । त्यसपछि घट्न थालेको बेसरेट अहिले एकल अंकमा आइपुगेको हो ।

विगतमा तरलता अभावका कारण बैंकहरूले निक्षेपको ब्याजदर नै १२ प्रतिशतसम्म पुर्याएका थिए । जसकारण बैंकहरूको औसत बेसरेट नै दोहोरो अंकका पुगेको थियो । तर, चालु आव सुरू भएदेखि नै बैंकिङ प्रणालीमा अधिक तरलता कायम छ । बैंकमा पैसा थुप्रिँदा पनि कर्जाको माग बढ्न नसकेपछि बैंकहरूले महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । साथै, नेपाल राष्ट्र बैंकले समेत नीतिगत दरहरू घटाउँदै बैंकहरूलाई ब्याजदर घटाउन सहयोग गरेको छ । जसले निक्षेपको ब्याजदर घट्दा बेसरेट पनि घट्दै गएको हो ।

बैंकहरूले आफ्नो लागत अनुसार आधारदर तय गर्छन् । आधारदरमा आएको फेरबदल अनुसार कर्जाको ब्याजदर पनि फरक पर्छ । विगतमा १८ प्रतिशतसम्म पुगेको कर्जाको ब्याजदर अहिले अधिकतम १३/१४ प्रतिशतमा झरेको छ ।

केही बैंकले अहिले नै बार्गेनिङ गर्न सक्ने ग्राहकलाई एकल अंकको ब्याजदरमा कर्जा दिन थालिसकेका छन् । बेसरेट कम भएका बैंकहरूले न्यून प्रिमियम जोडेर करिब १० प्रतिशतमै ऋण दिन थालेका छन् । यद्यपि, बेसरेट उच्च भएकाले अझै पनि अधिकांश बैंकले चाहेर पनि १० प्रतिशतभन्दा तलको ब्याजदरमा कर्जा दिन सक्ने अवस्था छैन ।

अहिले पनि बैंकिङ प्रणालीमा अधिक तरलता कायम छ भने कर्जाको माग बढ्न सकेका छैन । प्रणालीमा साढे ६ खर्ब रुपैयाँ बढी लगानी योग्य रकम छ । अधिक तरलता भएपछि बैंकहरूले स्थायी तरलता सुविधा अन्तर्गत ३ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा पैसा राख्न बाध्य भएका छन् । अहिले पनि अपेक्षित रूपमा कर्जाको माग बढ्न नसकेकाले आगामी दिनमा पनि बैंकहरूले निक्षेपको ब्याजदर अझै घटाउने देखिन्छ । यसले आगामी दिनमा अझै बैंकको बेसरेट पनि थप घट्न गई कर्जाको ब्याजदर पनि घट्ने देखिन्छ ।

कुन बैंकबाट ऋण लिँदा सस्तो ?

बैंकहरूले बेसरेटमा प्रिमियम जोडेर कर्जा लगानी गर्छन् । कर्जाको ब्याजदर बेसरेटले फरक पार्छ । तुलनात्मक रूपमा कम बेसरेट भएका बैंकहरूले सस्तोमा ऋण दिन सक्छन् भने बेसरेट धेरै भएका बैंकको ब्याजदर महँगो हुन्छ ।

अहिले वाणिज्य बैंकहरूले आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर ऋण दिँदै आएका छन् । यद्यपि, ऋणको प्रकृति अनुसार बैंकहरूले प्रिमियम दर कम र धेरै जोड्ने गरेका छन् । त्यसैले कर्जाको ब्याजदर ब्याजदर सस्तो र महँगो तय गर्छ ।

अहिले बैंकहरूको औसत बेसरेट ९.३४ प्रतिशत रहेको छ । जसमा ५ प्रतिशतसम्म प्रिमियम जोड्दा कर्जाको औसत ब्याजदर साढे १४ प्रतिशत हाराहारी रहेको छ । यद्यपि, केही बैंकले अहिले एकल अंकको ब्याजदरमै ऋण दिन थालेका छन् ।

माघ मसान्तको तथ्यांक अनुसार बैंकहरूको न्यूनतम बेसरेट ७.५६ प्रतिशत र अधिकतम १०.३१ प्रतिशतसम्म रहेको छ । २० मध्ये १७ बैंकको बेसरेट एकल अंक अर्थात् १० प्रतिशतभन्दा कम छ भने ३ वटाको १० प्रतिशत माथि छ ।

माघ मसान्तसम्म सबैभन्दा सस्तो बेसरेट विदेशी स्वामित्वको स्ट्याण्डर्ड चार्टर्डको रहेको छ । यसको बेसरेट ७.५६ प्रतिशतसम्म छ । यस अनुसार हाल चार्टर्डबाट अधिकतम साढे १२ प्रतिशत ब्याजदरमै कर्जा पाइन्छ ।

त्यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको पनि बेसरेट ८ प्रतिशतभन्दा कम छ । माघ मसान्तमा बैंकको बेसरेट ७.९२ प्रतिशत रहेको छ । यसले पनि अधिकतम १३ प्रतिशतसम्म ऋण दिन सक्छ ।

समीक्षा अवधिमा नेपाल, नबिल र एभरेष्ट बैंकको बेसरेट ९ प्रतिशतभन्दा कम छ । यी पनि तुलनात्मक रूपमा सस्तो बेसरेट भएका बैंकमा पर्दछन् । त्यस्तै, सिद्धार्थ, सानिमा, इन्भेष्टमेन्ट मेगा, प्रभु, नेपाल एसबीआइ र ग्लोबल आइएमईको बेसरेट साढे ९ प्रतिशतभन्दा कम छ ।

माछापुच्छ्रे, एनआइसी एशिया, एनएमबी, कृषि विकास, सिटिजन्स र लक्ष्मी सनराइजको बेसरेट १० प्रतिशतभन्दा कम छ ।

हाल कुमारी, प्राइम कमर्शियल र हिमालयन बैंक भने महँगो बेसरेट भएका बैंकमा पर्दछन् । यी बैंकको बेसरेट १० प्रतिशत माथि छ । यी बैंकबाट ऋण लिँदा कर्जाको ब्याजदर १५ प्रतिशतसम्म पर्दछ ।

कालीगण्डकी करिडोरको काम धमाधम हुँदै, ५४ किमी एकैपटक कालोपत्र गर्ने तयारी Read Previous

कालीगण्डकी करिडोरको काम धमाधम हुँदै, ५४ किमी एकैपटक कालोपत्र गर्ने तयारी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश घोषणा Read Next

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश घोषणा