यस्ता छन् आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको सिद्धान्त तथा प्राथमिकता प्रतिनिधि सभामा पेश गरेका छन् ।

बजेट ल्याउनु ३ महिना अगावै विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकता संसदमा पेश गर्नुपर्ने व्यवस्था अनुरुप अर्थमन्त्री महतले सोमबार सरकारको तर्फबाट सदनमा पेस गरेका हुन् ।

उनले पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिन थालेको र आगामी वर्ष झनै सुधार हुने बताए । सोह्रौं योजनामा प्रस्ताव गरिएका नीति, २०२६ मा विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि लिनुपर्ने रणनीति, सन् २०३० सम्म हासिल गर्नुपर्ने दिगो विकास लक्ष्य तथा दिगोर फराकिलो आर्थिक वृद्धिका आधार तयार गर्नुपर्ने विषयलाई महत्त्वपूर्ण सन्दर्भको रुपमा लिएको उनले बताए ।

उनले मुलुकले भोग्दै आएको न्यून उत्पादन र उत्पादकत्व, उच्च व्यापार घाटा, कमजोर निर्यात, आर्थिक दृष्टिले सक्रिय उमेर समूहको जनशक्ति पलायन जस्ता समस्या समाधान गर्नु आगामी बजेटको प्राथमिकताको विषय रहेको बताए ।

उनले आगामी वर्ष उच्च र दिगो आर्थिक वृद्धि हासिल गरी उत्पादन वृद्धिसँगै रोजगारीका अवसर सिर्जना मार्फत गरिबी न्यूनीकरण गर्ने, आर्थिक असमानता कम गर्दै वित्तीय स्थायित्व कायम गर्ने, अर्थतन्त्रलाई दिशा निर्देश गर्नेगरी बजेट ल्याइने जानकारी दिए ।

यसैगरी, निजी लगानी संकुचित नहुने गरी सार्वजनिक ऋण परिचालन गर्ने प्राथमिकता बजेटमा हुने बताइएको छ । आगामी बजेटमा दिगो एवम् समावेशी आर्थिक वृद्धिका लागि ऊर्जा, कृषि, पर्यटनतथा सूचना प्रविधि लगायतका आर्थिक वृद्धिमा उच्च योगदान दिन सक्ने क्षेत्रका लागि आवश्यक सार्वजनिक पूर्वाधार निर्माण गर्ने गरी सरकारी स्रोतको परिचालन गरिने उनले बताए ।

यी क्षेत्र प्राथमिकतामा

सरकारले आगामी वर्ष १ दर्जन क्षेत्रलाई प्राथमितामा राखेको छ । जलविद्युत्मा, कृषिको आधुनिकीकरण तथा व्यवसायिकीरण, पर्यटन विकास, औद्योगिक विकास र निजी क्षेत्र प्रबद्र्धन, पूर्वाधार विकास, सामाजिक क्षेत्रको विकास, हरित तथा उत्थानशील विकास र विपद् व्यवस्थापन, वत्तीय क्षेत्र सुदृढीकरण, कानुनी शासन र शान्ति सुरक्षा कायम गर्नु लगायत विष प्रमुख प्राथमिकतामा राखेको छ ।

अर्थमन्त्री महतले जलविद्युत्मा आन्तरिक र वाह्य लगानी प्रवद्र्धन गरी उत्पादन बढाउने र आन्तरिक खपतमा वृद्धि गरी मुलुकमा हरित अर्थतन्त्रको विकासगर्न जोड दिइने बताए । जलविद्युत्लाई अर्थतन्त्रको महत्त्वपूर्ण मेरूदण्डको रुपमा विकास गरी आन्तरिक आवश्यकता पूर्तिका साथै निर्यातमा जोड दिइने बताए । उनले निर्माणाधीन विद्युत्आयोजनाहरू र प्रशारणलाइनको लागत मूल्य बढ्न नदिन निर्धारित समयमा नै सम्पन्न गर्न जोड दिइने बताए ।

उनले कृषि उपजमा आत्मनिर्भरता हासिल गर्न अन्न, फलफूल, तरकारी, दूध,अण्डा र मासुको उत्पादन, भण्डारण, प्रशोधन एवम् वितरण प्रणालीमा सुधार गर्दै व्यवसायिकीकरणमा जोड दिइने बताए । कृषिमा उत्पादन लागत कम गर्न व्यवसायीकरण र आधुनिक प्रविधि प्रयोगमा जोड दिइने, आन्तरिक उत्पादनलाई प्रतिस्पर्धी बनाउन संरक्षण र उत्पादन आधारित अनुदान दिने नीतिलाई कार्यान्वयन गरिने, रासायनिक मलको दिगो आपूर्ति व्यवस्था मिलाइने बताए ।

गुणस्तरीय पर्यटन पूर्वाधार विकास गरी नेपाललाई आकर्षक पर्यटन गन्तव्यको रुपमा विकास गरिने अर्थमन्त्री महतले बताए । उनले थप धार्मिक, साँस्कृतिक एवम् मनोरम प्राकृतिक तथा पर्यटकीय गन्तव्यको पहिचान गरी पूर्वाधार विकास गरिने, पूर्वाधार निर्माणमा प्रोत्साहन गरिने, पोखरा र भैरहवा विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन देखिएका अड्चनहरूलाई हटाइने, निजगढ विमानस्थलको लगानी ढाँचा टुंगो लगाई निर्माण प्रक्रिया अगाडि बढाइने बताए ।

यस्तै, विद्युत् सेवोको पहुँच नपुगेको ठाउँमा सौर्य ऊर्जा र नवीकरणीण ऊर्जा पुर्याइने, वित्तीय क्षेत्रको नियमन र सुपरिवेक्षण थप प्रभावकारी बनाई स्वस्थ, प्रतिस्पर्धी र भरपर्दो वित्तीय क्षेत्र विकास गरिने, बैंक तथा वित्तीय संस्था, लघु वित्त, बीमा र पूँजीबजारका नियामक निकायको व्यवसायिकता वृद्धि गरिने लगायत काम प्राथमिकतामा राखेका छन् ।

 

 

मनी एक्सचेन्ज संचालकको धन्दा : डलरको बिटो देखाएर ठगी, पैसा मुद्दती र मिटरब्याजमा लगानी Read Previous

मनी एक्सचेन्ज संचालकको धन्दा : डलरको बिटो देखाएर ठगी, पैसा मुद्दती र मिटरब्याजमा लगानी

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Next

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी