सूचीकृत ११२ कम्पनीको मात्रै सेयर धितोमा ऋण पाइने, ८३% हाइड्रोकोमा नपाइने (सूचीसहित)

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीहरू मध्ये ११२ वटाको मात्रै सेयर धितो राखेर ऋण पाइने भएको छ ।

नेप्सेले सार्वजनिक गरेको मार्जिन कारोबारका लागि योग्य धितोपत्र कम्पनीहरूको सूचीमा २७१ कम्पनीमध्ये ११२ वटा कम्पनी मात्रै अटेका हुन् ।

नेप्सेमा हाल कुल २७१ वटा कम्पनी (डिबेन्चर र म्युचुअल फण्ड बाहेक) सूचीकृत छन् । ती मध्ये ४१.३२ प्रतिशत अर्थात् ११२ कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य रहेको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार सूचीकृत ५८.६८ प्रतिशत अर्थात् १५९ वटा कम्पनी मार्जिन कारोबारका लागि अयोग्य छन् । अर्थात् १५९ कम्पनीको सेयर धितो राखेर ऋण पाइँदैन ।

नेप्सेले सार्वजनिक गरेको सूची अनुसार १९ वटै वाणिज्य बैंक मार्जिन कारोबारका लागि योग्य रहेका छन् । अर्थात् सूचीकृत सबै वाणिज्य बैंकको सेयर धितो राखेर मार्जिन कर्जा लिन सकिन्छ ।

त्यस्तै, ८ विकास बैंक, ५ फाइनान्स कम्पनी, ४० लघुवित्त कम्पनी, ७ जीवन बीमा, ९ निर्जीवन बीमा, लगानी समूहका ४, उत्पादनमूलक समूहका २, अन्य समूहका २ र १६ हाइड्रोपावर मार्जिन कर्जाका लागि योग्य छन् ।

८३ प्रतिशत हाइड्रो अयोग्य

मार्जिन कारोबारका लागि अयोग्य हुने धेरै कम्पनी हाइड्रोपावर क्षेत्रका छन् । नेप्सेमा सूचीकृत ९१ वटा हाइड्रोपावरमध्ये ७५ वटा हाइड्रोपावरको सेयर धितो राखेर मार्जिन कर्जा पाइँदैन । नेप्सेमा सबैभन्दा धेरै हाइड्रोपावर कम्पनी सूचीकृत भए पनि अधिकांशको मापदण्ड नपुग्दा मार्जिन कर्जाका लागि अयोग्य भएका हुन् । सूचीकृत ३ दर्जन बढी हाइड्रोपावर घाटामा छन् ।

त्यस्तै, १० विकास बैंक, १३ फाइनान्स कम्पनी, १५ लघुवित्त, ७ जीवन बीमा, ५ निर्जीवन बीमा, ६ उत्पादनमूलक कम्पनीको सेयर धितो राखेर ऋण लिन पाइँदैन ।

यस्ता कम्पनीको सेयर धितोमा ऋण पाइन्छ 

मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधिमा कम्तीमा १० हजार सेयरधनी भएको, खुद सम्पत्ति चुक्ता पूँजीभन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा १० प्रतिशत लाभांश वितरण गरेको कम्पनी हुनु पर्दछ ।

यस्तै, दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तीमा ८० प्रतिशत कारोबार दिनमा सेयर कारोबार भएको, आर्थिक वर्षको प्रथम ६ महिना भित्रै वार्षिक साधारण सभा सम्पन्न गरेको कम्पनीको सेयर मार्जिन कारोबारका लागि योग्य हुने व्यवस्था छ ।

हाल बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन कारोबार गरिरहेका छन् । साथै, पछिल्लो समय केही ब्रोकर कम्पनीहरूले समेत मार्जिन लेन्डिङ सेवा सुरू गरेका छन् ।

योग्य कम्पनीको सेयर धितोमा ७० प्रतिशतसम्म ऋण पाइन्छ । यस्तै, मार्जिन प्रकृतिको कर्जा प्रवाहमा सेयर धितोको मूल्यांकन गर्दा १२० दिनको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम छ त्यसैलाई आधार मानिन्छ ।

 

 

व्यवसायिक वातावरण निर्माण गर्न निजी क्षेत्रको आग्रह, प्रधानमन्त्रीले भने-'सुझाव अनुरूप काम गर्छु' Read Previous

व्यवसायिक वातावरण निर्माण गर्न निजी क्षेत्रको आग्रह, प्रधानमन्त्रीले भने-'सुझाव अनुरूप काम गर्छु'

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन जोड्ने सडक कालोपत्र गरिँदै Read Next

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन जोड्ने सडक कालोपत्र गरिँदै