काठमाडौं । नेपाल टेलिकमले ६ महिनाभित्र ३४ वटा विमानस्थलमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।
नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बीच उक्त सेवा सञ्चालनका लागि सम्झौता भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए ।
उनले भने, ‘टेलिकम र नागरिक उड्डयन प्राधिकरणबीच ३४ विमानस्थलमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने सम्झौता भएको छ, अबको ६ महिनाभित्रमा सबै विमानस्थलमा वाइफाइ इन्टरनेटको काम सकिनेछ ।’
नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र क्यानका प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले सम्झौतापत्रमा हस्ताक्षर गरेको प्राधिकरणले जनाएको छ ।
हमतिअनुसार टेलिकमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलतर्फ आगमन र प्रस्थान कक्षमा फ्री वाइफाइ नेटवर्क जडान गर्नेछ भने नेपालभित्र सञ्चालित अन्य विमानस्थलहरुमा चरणबद्ध रुपमा फ्री वाइफाइ इन्टरनेट सेवा सञ्चालन गर्नेछ ।
त्यसैगरी विमानस्थलभित्र यात्रुलाई सजिलो हुने गरी उपयुक्त स्थानमा कम्पनीका सेवासम्बन्धी जानकारी उपलब्ध गराउनका लागि सूचना तथा सहायताकक्ष स्थापना गरिने उल्लेख छ ।
फ्री वाइफाइ नेटवर्क सेवा सञ्चालन तथा व्यवस्थापनका लागि उपकरणहरु जडान गर्न आवश्यक उपयुक्त स्थान उपलब्ध गराउने र अन्य व्यवस्थापनका लागि आवश्यक कार्य प्राधिकरणले गर्नेछ । यात्रुलाई सुविधा हुने गरी मोबाइल चार्जिङ स्टेसन राख्ने स्थान प्राधिकरणले उपलब्ध गराउने सहमतिपत्रमा भनिएको छ ।