काठमाडौं । नेपाली सेयर बजार इतिहासमा पहिलो पटक बुक बिल्डिङ विधिबाट आइपीओ जारी गरेको सर्वोत्तम सिमेन्टले आजदेखि सर्वसाधरणका लागि सेयर बिक्री खुला गरेको छ ।
कम्पनीले संस्थागत लगानीकर्ता, वैदेशिक रोजगारीमा रहेका नेपाली र उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि सेयर जारी गरिसकेपछि अन्तिम चरणमा सर्वसाधरणका लागि आइपीओ बिक्रीमा ल्याएको हो ।यससँगै सर्वोत्तम सर्वसाधरणलाई सेयर जारी गर्ने चौथो सिमेन्ट कम्पनी बनेको छ ।
कम्पनीले सर्वसाधरणका प्रतिकित्ता ३६०.९० रुपैयाँ दरले २७ लाख ७६ हजार ७६ कित्ता सेयर बिक्रीमा ल्याएको हो । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको आइपीओमा फागुन १६ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन पाइने छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरूका साथै मेरोसेयरमार्फ अनलाइन आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटल रहेको छ।
सर्वोत्तम कस्तो कम्पनी हो ?
सर्वोत्तम सिमेन्ट कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापित भएको कम्पनी हो । २०६७ असोज २० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएको सर्वोत्तम २०७६ साउन २९ गतेदेखि पब्लिक लिमिटेडमा परिणत भई कारोबार गर्दै आएको छ ।
सर्वोत्तमको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका-३२, तीनकुनेमा रहेको छ भने उद्योग नवलपरासीको सुनवल नगरपालिका-११, जोडेनीमा रहेको छ ।
सर्वोत्तम उत्पादनमूलक उद्योग हो । कम्पनीको कुल लागत १२ अर्ब २२ करोड ६ लाख ७९ हजार २०९ रुपैयाँ रहेको छ । उद्योगले २०७१ फागुन १ गतेदेखि क्लिंकर र सिमेन्ट उत्पादन गर्दै आएको छ । सर्वोत्तमले विभिन्न ग्रेडमा ओपीसी, पीपीसी र पीएससी सिमेन्ट उत्पादन गर्छ ।
उद्योगको उत्पादन क्षमता प्रतिदिन क्लिंकर ३ हजार टन र सिमेन्ट ३ हजार टन (दैनिक ६० हजार बोरा) रहेको छ । उद्योगले डेनमार्कको भीआरएम प्रविधिको प्रयोग गरेको छ ।
यस्तै, कम्पनीको चुनढुंगा खानी पाल्लको तिनाउ र गुल्मी/पाल्पाको सुनपातिमा (साविक दौधा/सिद्धेश्वर गाविस)मा रहेको छ । तिनाउ गाउँपालिकामा ११.९४ वर्ग किमी र गुल्मी/पाल्पाको साविक दौधा/सिद्धेश्वर गाविस सुनपातिमा ९ वर्ग वर्गकिलोमिटर क्षेत्रफलमा चुनढुङ्गाको उत्खननको अनुमति पाएको छ । तिनाउको खानी उत्खनन् गर्न वि.सं. २०९९ र सुनपातिको वि.सं. २१०६ सम्म अनुमति पाएको छ ।
त्यस्तै, धादिङ्गको बेनिघाट रोराङ गाउँपालिका स्थित कान्द्राङ्गगढीमा चुनढुङ्गा उत्खनन् गर्न २०७८ पुस १४ गते उद्योग र खानी तथा भूगर्भ विभाग बीच सम्झौता भएको छ ।
कस्तो छ कम्पनीको वित्तीय अवस्था ?
सर्वोत्तमको अधिकृत पूँजी ५ अर्ब रुपैयाँ र जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँ छ । हाल ४ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ निष्काशनपछि (स्थानीय र सर्वसाधरणलाई) ४ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । आइपीओपछि कम्पनीमा संस्थापक हिस्सा ८७.०९६७ प्रतिशत र सर्वसाधरणको १२.९०३३ प्रतिशत कायम हुनेछ ।
कम्पनीले आगामी ३ वर्षसम्म पूँजी वृद्धिको योजना बनाएको छैन । गत आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म २१ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षमा ८२ करोड ८४ लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । त्यस्तै, आव २०८१/८२ मा १ अर्ब २ करोड र आव २०८२/८३ मा १ अर्ब १८ करोड रुपैयाँ खुद नाफा कमाउने अनुमान छ ।
गत असार मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ५.८२ रुपैयाँ छ भने चालु आवको अन्त्यसम्म १७.८२ रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ । त्यस्तै, आव २०८१/८२ मा २२.११ रुपैयाँ र आव २०८२/८३ मा २५.४९ रुपैयाँ पुग्ने अनुमान रहेको छ ।
गत असार मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १८५.५६ रुपैयाँ छ । चालु आवमा नेटवर्थ २०७.२२ रुपैयाँ, आगामी वर्ष २०४.३३ रुपैयाँ र आव २०८२/८३ सम्म १९९.८२ रुपैयाँ हुने कम्पनीको प्रक्षेपण छ ।
गत वर्षको अन्त्यसम्म कम्पनीको जगेडा कोषमा ३ अर्ब ४५ करोड ६९ लाख रुपैयाँ संचित छ । चालु वर्षको अन्त्यसम्म कम्पनीको जगेडा कोष ४ अर्ब ९८ करोड, आगामी वर्ष ८ अर्ब ८६ करोड र आव २०८२/८३ सम्म ४ अर्ब ६४ करोड पुग्ने प्रक्षेपण गरेको छ ।
सेयर निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर त्रिपल बी’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमा नै वित्तीय दायित्व बहन गर्न क्षमता मध्यम स्तरको रहेको जनाउँदछ ।
आइपीओ बिक्रीबाट प्राप्त पैसा के गर्छ ?
कम्पनीले आइपीओ बिक्रीबाट कुल २ अर्ब ९६ करोड रुपैयाँ (संस्थागत लगानीकर्ता र सर्वसाधरण गरी) पूँजी जुटाउने छ । सोमध्ये कम्पनीले नेपाल बैंकको २९ करोड ९२ लाख रुपैयाँ र प्राइम कमर्शियल बैंकको १ अर्ब गरी कुल १ अर्ब २९ करोड ९२ लाख रुपैयाँ ऋण तिर्ने जनाएको छ ।
आइपीओबाट प्राप्त बाँकी ९६ करोड रुपैयाँ कम्पनीको उद्योग रहेको पूर्व तथा पश्चिममा ग्राइनडिङ यूनिट विस्तार गर्न, काठमाडौं उपत्यकालाई लक्षित गर्दै धादिङ, मकवानपुर, नुवाकोट आसपासमा सिमेन्ट प्लान्ट गर्न र उद्योगमा वेयस्ट हिट रिकोभरी सिस्टम प्रणाली स्थापना गरी ३.५ मेगावाटसम्म बिजुली उत्पादन गर्नमा खर्च गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले हालसम्म कुल ऋणको ९५ प्रतिशत बढी ऋण आन्तरिक नगद प्रवाहबाट भुक्तानी गरिसकेको छ । आइपीओ निष्काशनपछि कम्पनीले तिर्नुपर्ने अल्पकालीन ऋण ८६ करोड ५७ लाख र दीर्घकालीन ऋण ४७ करोड २३ लाख रुपैयाँ बाँकी रहने छ ।
को-को छन् प्रमुख लगानीकर्ता ?
कम्पनीको प्रमुख लगानीकर्ताको रुपमा विष्णुप्रसाद न्यौपाने रहेका छन् । कम्पनीमा उनको २८.९७ हिस्सा अर्थात् १ करोड १७ लाख ३४ हजार २७९ कित्ता सेयर लगानी छ ।
त्यसैगरी, मीनाकुमारी अग्रवालको ९२ लाख ४ हजार २२० कित्ता सेयर लगानी अर्थात् २२.७३ प्रतिशत हिस्सा छ । त्यस्तै, दुर्गाप्रसाद न्यौपाने र टिकाराम न्यौपानेको समान ९.६४/९.६४ प्रतिशत (३९ लाख ३ हजार ४८५ कित्ता) हिस्सा रहेकोछ ।
कम्पनीका अन्य लगानीकर्ताहरूमा तेञ्जङ तामाङ २७ लाख ८ हजार १४० कित्ता (६.६९ प्रतिशत), नेहा अग्रवाद २७ लाख ३७ हजार ९१९ कित्ता (६.७६ प्रतिशत), कुन्तीदेवी न्यौपाने १९ लाख ६८ हजार ४१९ कित्ता (४.८६ प्रतिशत) र शिखा अग्रवालको २७ लाख ६१ हजार ७४२ कित्ता (६.८२ प्रतिशत) सेयर लगानी छ ।