जीवन बीमा कम्पनीलाई पुरानै पोलिसीको भरथेग, ७ महिनामा ८७ अर्ब संकलन, कुनले कति ?

काठमाडौं । अर्थतन्त्रमा आएको शिथिलताका कारण अधिकांश व्यवसाय खुम्चिरहेका बेला जीवन बीमा व्यवसाय भने बढेको छ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा जीवन बीमा व्यवसाय ४.२३ प्रतिशतले बढेको हो ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरू (१४ जीवन बीमा र ३ लघु जीवन बीमा)ले चालु आर्थिक वर्षको माघ मसान्तसम्म कुल ८६ अर्ब ९२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ३ अर्ब ३५ करोड रुपैयाँ धेरै हो । गत वर्ष सोही अवधिमा कम्पनीहरूले ८३ अर्ब ८९ करोड रुपैयाँ बराबर प्रिमियम संकलन गरेका थिए ।

यस अवधिमा १४ जीवन बीमा कम्पनीले ८६ अर्ब ८८ करोड र ३ लघुबीमा कम्पनीले ४ करोड २२ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । समीक्षा अवधिमा कुल बीमा शुल्क संकलन बढे पनि प्रथम बीमा शुल्क संकलन भने घटेको छ । यस अवधिमा बीमा कम्पनीले नयाँ व्यवसाय बढाउन नसके पनि पुरानै पोलिसीले भरथेग गरेको छ । कुल बीमा शुल्ककाे  ८१ प्रतिशत रकम बीमालेख नवीकरणाबाट उठाएका छन्।

गत वर्ष माघसम्म १६ अर्ब ४५ करोड प्रथम बीमा शुल्क संकलन गरेकोमा यस वर्ष १६ अर्ब १५ करोड रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा नयाँ बीमा शुल्क संकलन ३० करोडले घटेको छ ।

त्यस्तै, यस अवधिमा बीमा नवीकरण शुल्क भने ३ अर्ब ८३ करोड रुपैयाँ बढेको छ । गत वर्ष माघसम्म पोलिसी नवीकरणबाट ६६ अर्ब ९३ करोड प्रिमियम संकलन गरेका कम्पनीहरूले यस वर्ष सोही अवधिमा ७० अर्ब ७७ करोड रुपैयाँ संकलन गरेका छन् ।

समीक्षा अवधिमा प्रिमियम संकलन बढे पनि सक्रिय बीमालेखको संख्या भने घटेको छ । गत वर्षको तुलनामा सक्रिय बीमा लेखको संख्या ४ लाख ६६ हजार २ वटाले घटेको छ । गत वर्षको माघसम्म सक्रिय रहेको कुल बीमा लेखको संख्या १ करोड ४२ लाख ६० हजार १३९ रहेकोमा यस वर्षको सोही अवधिसम्म आइपुग्दा घटेर १ करोड ३७ लाख ९४ हजार १३७ रहेको छ । जबकि यस वर्ष तीनवटा लघु जीवन बीमा कम्पनीहरूको पनि व्यवसाय थपिएको छ ।

समीक्षा अवधिमा ३ कम्पनीको बीमा शुल्क संकलन घटेको छ भने ११ वटाको बढेको छ । जसमा राष्ट्रिय जीवन बीमाको २३.१५ प्रतिशत, सन नेपाल ७.४३ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेसनको ०.७७ प्रतिशतले घटेको छ ।

नेपाल लाइफको वर्चश्व कायमै

समीक्षा अवधिमा बीमा शुल्क संकलनमा नेपाल लाइफको वर्चश्व कायमै रहेको छ । कुल बीमा शुल्क मध्ये नेपाल लाइफ एक्लैले एकचौथाई बढी बीमा शुल्क संकलन गरेको छ । यस अवधिमा नेपाल लाइफले मात्रै २३ अर्ब २० करोड रुपैयाँ संकलन गरेको छ । यो कुल व्यवसायको २६.६९ प्रतिशत हिस्सा हो ।

यसैगरी , यस अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल र नेशनल लाइफ इन्स्योरेन्सले समान १० अर्ब बढी रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

यस्तै, हिमालयन लाइफले ९ अर्ब ९१ करोड, सूर्यज्योति लाइफ ५ अर्ब ३ करोड, राष्ट्रिय जीवन बीमाले ४ अर्ब ९८ करोड, एशियन लाइफ ४ अर्ब ४३ करोड बीमा शुल्क संकलन गरेका छन् ।

यसैगरी, सानिमा रिलायन्स लाइफले ३ अर्ब ३८ करोड, सिटिजन लाइफ ३ अर्ब २७ करोड, मेट लाइफ ३ अर्ब १४ करोड, आइएमई लाइफ २ अर्ब ५० करोड, प्रभु महालक्ष्मी २ अर्ब ३८ करोड, रिलायब लाइफ २ अर्ब ३० करोड र सन नेपाल लाइफले सबैभन्दा कम २ अर्ब १२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

लघुबीमाको हिस्सा नगन्य

समीक्षा अवधिमा लघु जीवन बीमा कम्पनीको व्यवसाय भने न्यून रहेको छ । गत वर्षदेखि संचालनमा आएका ३ लघुबीमा कम्पनीले चालु आवको ७ महिनामा जम्मा ४ करोड २२ लाख रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेका छन् ।

जसमा गार्डियन माइक्रो लाइफले १ करोड १५ लाख, क्रेष्ट माइक्रो लाइफले २ करोड ५८ लाख र लिबर्टी माइक्रो लाइफले ४८ लाख ७२ हजार रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

 

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर पशुपति क्याम्पसमा Read Previous

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर पशुपति क्याम्पसमा

पहिलो पटक अमेरिकी निजी कम्पनीको व्यावयासिक यान चन्द्रमामा अवतरण Read Next

पहिलो पटक अमेरिकी निजी कम्पनीको व्यावयासिक यान चन्द्रमामा अवतरण