काठमाडौं । आगामी चैत महिनादेखि संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढ्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा गरिएका व्यवस्था कार्यान्वयन गर्न निर्देशन जारी गर्दै संस्थागत मुद्दतीमा अहिलेकोभन्दा १ प्रतिशत बिन्दु धेरै ब्याजदर दिन पाउने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकका अनुसार चैत १ गतेदेखि संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दतीकोभन्दा १ प्रतिशत बिन्दु मात्रै कम हुनुपर्नेछ । अहिले संस्थागत र व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर २ प्रतिशत बिन्दु फरक हुनुपर्छ ।
चैतदेखि १ प्रतिशत बिन्दु मात्रै फरक हुने भएकाले संस्थागत मुद्दती निक्षेपको ब्याजदर १ प्रतिशत विन्दुसम्म बढाउन पाउने छन् । यद्यपि, बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेकाले बैंकहरुले ब्याजदर बढाउँछ भन्ने चाहिँ निश्चित छैन ।