अफ्रिकासम्म पुग्न थाल्यो नेपाली सिमेन्ट, ७ महिनामा २ अर्ब बढिकाे निर्यात

काठमाडौं । नेपाली सिमेन्टको अन्तर्राष्ट्रिय बजार विस्तार हुँदै गएको छ । यसअघि भारतीय बजारमा मात्रै सीमित हुँदै आएको नेपाली सिमेन्ट माघ महिनामा पहिलोपटक अफ्रिकी मुलुक नामिबिया निर्यात भएको हो ।

छिमेकी मुलुक भारत निर्यात हुन थालेको डेढ वर्षपछि नेपाली सिमेन्ट पहिलोपटक तेस्रो मुलुक निर्यात भएको हो । भन्सार विभागको तथ्यांक अनुसार माघमा १० लाख ४९ हजार रुपैयाँ बराबरको १५५ टन तयारी सिमेन्ट नामिबिया निर्यात भएको हो ।

चालु आर्थिक वर्षको ७ महिना (साउन-माघ)मा कीर्तिमानी २ अर्ब रुपैयाँ बढिको सिमेन्ट विदेशिएको छ । विभागको तथ्यांक अनुसार चालु वर्षको माघ मसान्तसम्म नेपालबाट कुल २ अर्ब ६ करोड ८ लाख रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर निर्यात भएको हो ।

गत वर्षको तुलनामा चालु आवको सोही अवधिमा सिमेन्ट निर्यात १२ गुणा अर्थात् ११३३.८० हजार प्रतिशतले धेरै हो । गत वर्ष माघसम्म कुल १६ करोड ७० लाख रुपैयाँको सिमेन्ट निर्यात भएको थियो ।

चालु वर्षको ७ महिनामै गत वर्ष भरीकोभन्दा १ अर्ब २८ करोड रुपैयाँ बढीको सिमेन्ट निर्यात भएको हो । गत आव २०७९/८० मा कुल ७७ करोड ९३ लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको थियो ।

विभागका अनुसार चालु आवको माघसम्म ९८ करोड ३७ लाख रुपैयाँ बराबरको ३ लाख ५९ हजार ७३ मेट्रिकटन क्लिंकर (सिमेन्टको कच्चा पद्धार्थ) निर्यात भएको छ । त्यस्तै, यही अवधिमा १ अर्ब ७ करोड ६० लाख रुपैयाँको १७ लाख ८८ हजार ४२६ मेट्रिकटन तयारी सिमेन्ट निर्यात भएको छ । जसमा १५५ टन नामिबिया र १७ लाख ८८ हजार २७२ टन भारत निर्यात भएको हो ।

अर्थतन्त्रमा आएको शिथिलताका कारण स्वदेशी बजारमा सिमेन्टको खपत बढ्न नसके पनि भारतीय बजारमा माग बढ्दा निर्यातमा उत्साह देखिएको छ । जसले मुलुकको डरलाग्दो व्यापार घाटा घटाउन थोरै भए पनि भूमिका खेलेको छ ।

चालु वर्षको माघसम्म समग्रमा नेपालबाट हुने निर्यात ७.०७ प्रतिशतले घट्दा पनि सिमेन्टले भने आशा जगाएको छ । कुल निर्यातमा सिमेन्टको हिस्सा २.३७ प्रतिशत पुगेको छ ।

नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेको र निर्यातको सम्भावना देखेपछि सरकारले गत वर्षदेखि निर्यातको ढोको खोलिदिएको थियो । सरकारले आव २०७९/८० को बजेटमार्फत सिमेन्ट, स्टील, प्लाइवुडलगायत वस्तु निर्यातमा ८ प्रतिशत अनुदान र वार्षिक रु १० करोडभन्दाबढीको विद्युत् खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेको थियो । त्यसपछि नेपालबाट सिमेन्ट, प्लाइवुड लगायत वस्तु निर्यातको नयाँ ढोका खुलेको थियो ।

मासिक साढे २९ करोडको सिमेन्ट निर्यात

चालु वर्षमा औसतमा मासिक झन्डै साढे २९ करोड रुपैयाँको सिमेन्ट निर्यात भएको विभागको तथ्यांक छ । चालु आवमा असोजमा सबैभन्दा धेरै ४३ करोड ४६ लाख रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर निर्यात थियो ।

त्यस्तै, माघमा २९ करोड ७५ लाख, पुसमा २७ करोड १० लाख, मंसिरमा ३६ करोड, कात्तिकमा २७ करोड ७७ लाख, साउनमा २३ करोड ५० लाख र भदौमा १८ करोड ३५ लाख रुपैयाँ बराबरको क्लिंकर तथा सिमेन्ट निर्यात भएको विभागको तथ्यांक छ ।

यी उद्योगले गर्छन् निर्यात

नेपालबाट सिमेन्ट निर्यात हुन थालेको डेढ वर्ष पुगेको छ । यस अवधिमा आधा दर्जन उद्योगले निर्यात थालेका छन् । पहिलोपटक २०७९ असार २४ गते पाल्पा सिमेन्टको ‘तानसेन’ ब्राण्ड भारत निर्यात सुरू गरेको थियो ।

त्यसपछि, २०७९ असोज ३१ गतेदेखि अर्घाखाँची, २०८० जेठ २९ गतेदेखि बालाजी सिमेन्टले ‘बाहुबली’ र ‘श्रृष्टी’ ब्राण्डमा पीपीसी र २०८० गत भदौ २१ देखि सीजी सिमेन्टले निर्यात थालेका थिए । शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले पनि गत मंसिर १६ गतेदेखि भारतमा क्लिंकर निर्यात सुरू गरेको छ ।

अन्य सिमेन्ट उद्योगहरुले पनि भारत निर्यातको तयारी गरिरहेको सिमेन्ट उत्पादक संघले जनाएको छ । नेपाली सिमेन्ट उद्योगले भारत निर्यातका लागि भारत सरकारबाट गुणस्तरको प्रमाणपत्र लिनुपर्ने व्यवस्था छ । सो प्रक्रियामा रहेकाले थप उद्योगले पनि चाँडै निर्यात थाल्ने संघको भनाइ छ । अहिले भारतीय बजारमा पनि नेपाली सिमेन्ट बजारीकरण हुन नसकेको र बजारीकरण गर्न सक्ने तत्कालै अर्बौंको सिमेन्ट निर्यात गर्न सकिने संघले जनाएको छ ।

नेपालमा हाल ५० बढी सिमेन्ट उद्योग संचालित छन् । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिङ्कर दुवै उत्पादन गर्दै आएका छन । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै २ करोड २० लाख टन हाराहारी रहेको छ ।

लघुवित्त र सहकारीका समस्या चाँडै समाधान हुन्छन् : प्रधानमन्त्री दाहाल Read Previous

लघुवित्त र सहकारीका समस्या चाँडै समाधान हुन्छन् : प्रधानमन्त्री दाहाल

महानगरले निःशुल्क उपचारका लागि संचालनमा ल्याएको अनलाइन प्रणालीमा ४१ अस्पताल आबद्ध Read Next

महानगरले निःशुल्क उपचारका लागि संचालनमा ल्याएको अनलाइन प्रणालीमा ४१ अस्पताल आबद्ध