पर्यटकीय क्षेत्र खुम्जुङ र नाम्चेमा विद्युत् सेवा ठप्प, टेलिफोन र एटीएम नचल्दा पर्यटक समस्यामा

हिमाली जिल्ला सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका–५ स्थित नाम्चे बजार ।

सोलुखुम्बु । पर्यटकीय क्षेत्र सोलुखुम्बुको नाम्चे र खुम्जुङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध बनेको छ । गत माघ २२ गते आएको हावाहुरीले ढलेको रुखले खुम्बु विद्युत् कम्पनीको हाइटेन्सन र जमिनमुनिको तारमा क्षति पुगेपछि विद्युत् सेवा ठप्प बनेको हो ।

यसबाट सगरमाथा क्षेत्र भ्रमणका लागि नाम्चे र खुम्जुङ क्षेत्र पुग्ने स्वदेशी तथा विदेशी पर्यटक समस्यामा परेका छन् । खुम्बुमा याम सुरु भएकाले अहिले दैनिक एक सय हाराहारीमा विदेशी पर्यटक खुम्बु पुग्ने गरेको पर्यटक प्रहरी कार्यालय नाम्चेको तथ्याङ्क छ । अहिले सो क्षेत्रमा सञ्चार सेवा ठप्प बनेको छ भने एटीएम सेवासमेत प्रभावित बनेको इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक कविन राईले बताए ।

अधिकांश विदेशी नगदका लागि एटीमएममा निर्भर हुने भएकाले विद्युत्का कारण एटिएम नै अवरुद्ध हुँदा समस्या देखिएको पर्यटन व्यवसायीले बताएका छन् ।

नाम्चेमा विद्युत सेवा नभएपछि सो क्षेत्रमा पुगेका पर्यटकसमेत बिचल्लीमा पर्ने गरेको प्रहरी निरीक्षक राईले बताउनुभयो । विद्युत्को भरमा सबै सेवा सञ्चालन हुने भएकाले विद्युत् नहुनेबित्तिकै काम प्रभावित हुने गरेको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ ।

‘जिल्लामा रिपोर्टिङ गर्ने काम धेरै हुने भएकाले समस्या भएको छ,’ हाम्रो सञ्चार सेवा पनि अहिले अवरुद्ध छ, विद्युत् नभएर मोबाइल चार्ज गर्न नपाएर सबै ठप्प छ, जिल्लामा रिपोर्टिङ गर्नका लागि अहिले हामी एक दिनको पैदल दूरीमा पर्ने लुक्ला झर्नुपर्ने बाध्यता छ,’ उनले भने ।

विश्वको पर्यटकको ध्यान केन्द्रित हुने ठाउँ भएकाले आफूहरूले निगरानीमा राखेको भए पनि नाम्चेमा विद्युत् नहुँदा समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्यालले बताए। उनले भने, ‘नाम्चे क्षेत्रमा हामीले दुई हप्तादेखि सञ्चार सम्पर्क गर्न पाएका छैनौँ निकै कठिन भइरहेको छ, अझ त्यहाँ पुग्ने पर्यटकको अवस्था के होला रु कल्पनाभन्दा बाहिरको कुरा छ ।’

विद्युत्को जमिनमाथिको भागको लाइन मर्मतमा समस्या नरहे पनि जमिनमुनिको तारमा समस्या देखिएको खुम्बु बिजुली कम्पनीका कर्मचारी सोनाम दोर्जी शेर्पाले बताए ।

चिसोका कारण जमिन जमेकाले तार फुट्ने तथा भाँचिने गरेकाले समस्या भएको उनको भनाइ छ । उनले भने, ‘हामी प्रयासरत छौँ, हावाहुरीले रुख ढाल्दा खुम्बु भ्याली र नाम्चे भ्याली क्षेत्रको छ–सात ठाउँको लाइनमा क्षति पुगेको थियो । जमिनमाथिको तारको समस्या समाधान भयो तर जमिनमुनिको तारमा देखिएको समस्या हल हुन समय लाग्यो, समस्या समाधान हुन अझै करिब आठ–दश दिन लाग्छ ।’

जमिनमुनिको करिब ७५० मिटर तार फेर्नुपर्ने भएको कम्पनीले जनाएको छ । काठमाडौँबाट खुम्बु तार ढुवानी गर्न लैजान सिलिङ उडानका लागि नेपाल नागरिक उड्डययन प्राधिकरणसँग समन्वय गरिरहेको कम्पनी कर्मचारी शेर्पाले बताए । विद्युत् अवरुद्ध हुनेबित्तिकै टेलिफोन सेवासमेत अवरुद्ध हुँदा खुम्बु–काठमाडौँ सम्पर्कमा समस्या भएको उनले बताए । सन् १९९३ मा निर्माण गरिएको ९३० किलोवाट क्षमताको उक्त खुम्बु बिजुली कम्पनीको ९४० घरधुरी उपभोक्ता रहेका छन् । रासस

मन्दीले उत्पादनमूलक उद्योगको ब्यालेन्स सिट 'डामाडोल', यस्तो छ सूचीकृत ८ कम्पनीको अवस्था Read Previous

मन्दीले उत्पादनमूलक उद्योगको ब्यालेन्स सिट 'डामाडोल', यस्तो छ सूचीकृत ८ कम्पनीको अवस्था

निर्वाचन हुन नसकेका क्षेत्रका सबै प्रतिनिधिले कांग्रेस महासमिति बैठकमा भाग लिन पाउने Read Next

निर्वाचन हुन नसकेका क्षेत्रका सबै प्रतिनिधिले कांग्रेस महासमिति बैठकमा भाग लिन पाउने