
काठमाडौं । सरकार र नेपाल राष्ट्र बैंकले अर्थतन्त्रमा क्रमशः सुधार हुँदै आएको बताए पनि उद्योगहरूको अवस्था भने निकै नाजुक रहेको पाइएको छ ।
आर्थिक मन्दीको असर अर्थतन्त्रका सबै क्षेत्रमा परेको छ । त्यसमा पनि उत्पादनमूलक उद्योगहरू झनै संकटमा रहेको उद्योगहरूले सार्वजनिक गरेको ब्यालेन्स सिटले देखाएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उत्पादनमूलक तथा प्रोसेसिङ क्षेत्रका ८ उद्योग सूचीकृत छन् । ती उद्योगले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार अवस्था विकाराल रहेको देखिन्छ ।
समीक्षा अवधिमा ८ कम्पनीको खुद नाफा ५ करोड ९ लाख रुपैयाँ ऋणात्मक भएको छ । जबकि गत वर्षको यही अवधिमा यी कम्पनीले कुल १ अर्ब ७९ करोड रुपैयाँ खुद नाफा कमाएका थिए ।
नेप्सेमा उत्पादनमूलक क्षेत्रका नगन्य उद्योग मात्र दर्ता छन् । तर, यिनलाई प्रतिनिधि मान्दा अधिकांश उद्योगको हालत खराब रहेको स्पष्ट बुझन् सकिन्छ । विगतका वर्षहरूको आकर्षक नाफा कमाउँदै आएका सूचीकृत उद्योगहरू अहिले घाटा व्यहोर्न पुगेका छन् । जसले उद्योगहरूको वास्तविक चित्र समेत देखाएको छ ।
समीक्षा अवधिमा ८ उद्योगमध्ये एउटा मात्र नाफामा गएको छ भने ७ वटाको नाफा घटेको छ । जसमा ४ वटा त नोक्सानीमा संचालनमा छन् ।
समीक्षा अवधिमा उद्योगहरूको बिक्री आम्दानी घट्दा नाफामा ठूलो असर परेको हो । त्यस्तै, कच्चा पद्धार्थको मूल्य वृद्धि, महँगो ब्याजदर, बढ्दो बिक्री लागत, बढ्दो प्रशासनिक खर्च लगायतले नाफा घटेको हो ।
मन्दीका कारण उपभोक्ताको क्रयशक्तिममा ह्रास आउँदा बजारमा उपभोग्य वस्तुको माग घट्न गई व्यापारमा ठूलो गिरावट आएको छ । जसले उत्पादनमूलक उद्योगहरूको व्यापारमा ठूलो धक्का लागेको छ । वस्तुको माग नहुँदा उद्योगहरू न्यून क्षमतामा मात्रै संचालनमा छन् ।
मन्दीका कारण व्यक्तिगत पूर्वाधार निर्माण न्यून छ । सरकारले पनि पूँजीगत खर्च बढाउन नसक्दा सिमेन्ट, डण्डी लगायत निर्माण सामग्रीको खपत बढ्न सकेको छैन । जसकारण उद्योगहरू पूर्ण क्षमतामा संचालन हुन सकेका छैनन् ।
त्यस्तै, उपभोक्ताले आफ्नो खर्च घटाउँदा दैनिक उपभोग्य वस्तुको समेत खपत घटेको छ । मदिरा, कोकाकोला लगयात पेय पद्धार्थको व्यापार ह्वात्तै घटेको छ । यसले अहिले उपभोक्ता आधारभूत बाहेक अन्य क्षेत्रमा खर्च गर्न नसक्ने अवस्थामा रहेको बुझन् सकिन्छ ।
उद्योग पूर्ण क्षमतामा संचालन नभए पनि प्रशासनिक खर्च र बैंकको ब्याज तिर्र्नैपर्ने बाध्यता छ । एकातिर घट्दो व्यापार र अर्कोतिर नियमित खर्चको भारले उद्योगहरू दोहोरो चेपुवामा परेका छन् ।
कुनको अवस्था कस्तो छ ?
समीक्षा अवधिमा सूचीकृत ३ सिमेन्ट उद्योगमध्ये सोनापुर र घोराही घाटामा छन् भने शिवम् मात्रै नाफामा छ । शिवम्को नाफा पनि गत वर्षको सोही अवधिको तुलनामा ६८ प्रतिशतले घटेको छ ।
यस अवधिमा तीनै उद्योगको व्यापारमा ठूलो गिरावट आएको छ । संचालनमा आएको वर्षौं भएको र अन्य तुलनामा न्यून ऋण रहेको शिवम्को समेत ब्यालेन्स सिट खल्बल्लिएको छ । यसबाट अर्बौं ऋण भएका उद्योगको हालत के होला भन्ने सजिलै अनुमान लगाउन सकिन्छ । कमाईले बैंकको किस्ता तिर्न समेत तिर्न धौधौ रहको अवस्था छ ।
पुससम्म शिवम् सिमेन्टले १४ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको छ । जबकि गत वर्ष सोही अवधिमा ४५ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा शिवम्को बिक्री आम्दानी ५.२९ प्रतिशत बढेर ३ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ भने अन्य आम्दानी ४७.४० प्रतिशतले घटेर १७ करोड २ लाखमा सीमित भएको छ ।
शिवम्को खर्च ७.६७ प्रतिशतले बढेर ५० करोड ९४ लाख रुपैयाँ पुगको छ । हाल ५ अर्ब २ करोड चुक्ता पूँजी रहेको शिवमको सेयर प्रिमियमा ९५ करोड ६२ लाख र जगेडा कोषमा ३ अर्ब ४५ करोड संचिति छ । शिवम्को प्रतिसेयर आम्दानी ५.९१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८७.६९ रुपैयाँ छ ।
पुससम्म सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड १४ करोड ७८ लाख रुपैयाँ घाटामा रहेको हो । जबकि गत वर्ष सोही अवधिमा २ करोड ६२ लाख रुपैयाँ खुद नाफामा थियो ।
समीक्षा अवधिमा सोनापुरको संचालन आम्दानी ५९.२१ प्रतिशतले घटेर ७० करोड ५६ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष पुससम्म कम्पनीको यस्तो आम्दानी १ अर्ब ७३ करोड रुपैयाँ थियो ।
यस्तै, कम्पनीको संचालन नाफा १ करोड १४ लाख रुपैयाँ ऋणात्मक भएको छ । हाल ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब ३० करोड ५७ लाख रुपैयाँ सचित छ ।
घाटामा गएसँगै कम्पनीको प्रतिसेयर आम्दानी ९.६२ रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ १७४.९८ रुपैयाँ छ ।
घोराही झन्डै ४२ करोड घाटामा
समीक्षा अवधिमा घोराही सिमेन्ट ४१ करोड ८४ लाख ३८ लाख रुपैयाँ घाटामा छ । गत वर्षको सोही अवधिमा घोराहीले १ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी १.४० प्रतिशतले बढेर १ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । गत वर्ष पुससम्म कम्पनीको यस्तो आम्दानी १ अर्ब ६८ करोड रुपैयाँ थियो ।
यस्तै, घोराहीके अन्य आम्दानी ९८.८७ प्रतिशतले घटेर ११ लाख ७६ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष कम्पनीको अन्य आम्दानी १० करोड ३७ लाख रुपैयाँ थियो ।
घोराहीको प्रशासनिक खर्च ४१.४९ प्रतिशतले बढेर १५ करोड ५८ लाख रुपैयाँ पुगेका छ । त्यस्तै, वित्तीय खर्च ३७.६१ प्रतिशतले बढेर २६ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।
हाल ४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा २ अर्ब ९९ करोड, जगेडा कोषमा ७ करोड ९० लाख र सेयर प्रिमियममा २ अर्ब ६५ करोड रुपैयाँ संचित छ । कम्पनीको प्रतिसेयर आम्दानी ९.१६ रुपैयाँ ऋणात्मक छ र प्रतिसेयर नेटवर्थ २२५.४५ रुपैयाँ छ ।
बोटलर्स नेपालका दुवै कम्पनी घाटामा
पेय पद्धार्थ कोकाकोला उत्पादन गर्दै आएको बोटलर्स नेपालका दुवै कम्पनी घाटामा गएका छन् । चितवनमा प्लान्ट सञ्चालन गरिरहेको बोटलर्स नेपाल (तराई) पुससम्म ७ करोड ४१ लाख रुपैयाँ घाटामा छ । गत वर्ष सोही अवधिमा १५ करोड ३२ लाख रुपैयाँ खुद नाफामा थियो ।
समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी २२ करोड घटेर ३ अर्ब ६८ करोड रुपैयाँ मा सीमित भएको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ३ अर्ब ८६ करोड थियो । यस्तै, वित्तीय खर्च ११ करोड ३७ लाखबाट बढेर १४ करोड ५ लाख रुपैयाँ पुगेको छ ।
हाल १२ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ७१ करोड रुपैयाँ संचित छ । कम्पनीको प्रतिसेयर आम्दानी १२३ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ ३ हजार १७३ रुपैयाँ छ ।
काठमाडौंको बालाजुमा प्लान्ट संचालन गरिरहेको बोटलर्स नेपाल बालाजुले चालु आवको ६ महिनामा १५ करोड १५ लाख रुपैयाँ घाटा व्यहोरेको छ । जबकि गत वर्ष यही अवधिमा कम्पनी २९ करोड २१ लाख रुपैयाँ नाफामा थियो ।
समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ६१ करोड रुपैयाँ घटेर ४ अर्ब ५८ करोड रुपैयाँमा सीमित भएको छ । यस्तै, वित्तीय लागत दोब्बरले बढेर १५ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।
हाल १९ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ५ अर्ब ५२ करोड रुपैयाँ संचित छ । यसको प्रतिसेयर आम्दानी १४९ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ भने ३ हजार १२० रुपैयाँ छ ।
युनिलिभरको नाफा २३ प्रतिशत घट्यो
दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने युनिलिभर नेपालको खुद नाफा २३.८० प्रतिशतले घटेर ४१ करोड १० लाखमा सीमित भएको छ । गत वर्ष सोही अवधिमा कम्पनीले ५५ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस अवधिमा युनिलिभरको बिक्री आम्दानी ३१.५२ प्रतिशतले घटेर १ अर्ब २७ करोडमा सीमित भएको छ । गत वर्ष यस्तो आम्दानी १ अर्ब ८५ करोड थियो ।
त्यस्तै, संचालन आम्दानी १६.२० प्रतिशतले घटेर १ अर्ब ८४ करोडमा झरेको छ । अन्य आम्दानी भने ७६.५४ प्रतिशतले बढेर ७ करोड ६४ लाख पुगेको छ ।
हाल ९ करोड २१ लाख चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा कोषमा ३ अर्ब ७७ करोड संचित छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९१४.२२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ४ हजार २०२ रुपैयाँ छ ।
हिमालयन डिस्ट्रीलरीको नाफा झन्डै आधा घट्यो
मदिरा उत्पादन गर्ने हिमालयन डिस्ट्रीलरीको खुद नाफा ४४.३८ प्रतिशतले घटेर १६ करोड ३६ लाखमा सीमित भएको छ । कम्पनीले गत वर्ष यही अवधिमा २९ करोड ४२ लाख रुपैयाँँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ६०.११ प्रतिशतले घटेर १ अर्ब १ करोड रुपैयाँमा सीमित भएको छ । गत वर्ष सोही अवधिमा कम्पनीले २ अर्ब ५३ करोडको व्यापार गरेको थियो ।
त्यस्तै, कम्पनीको संचालन आम्दानी २२.४९ प्रतिशतले घटेर १ अर्ब ८९ करोडमा झरेको छ । गत वर्ष यस्तो आम्दानी २ अर्ब ४४ करोड रुपैयाँ थियो ।
कम्पनीको अन्य आम्दानी भने १७८.८९ प्रतिशतले बढेर १ करोड ७१ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको प्रशासनिक खर्च ३ करोड ३२ लाख र बिक्रीवितरण खर्च १९ करोड ८२ लाख रुपैयाँ छ ।
हाल २ अर्ब २ अर्ब ६७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ४८ करोड १५ लाख रुपैयाँ संचित छ । यसको प्रतिसेयर आम्दानी १२.२५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३९.७९ रुपैयाँ छ ।
नेपाल ल्युबको मात्र नाफा बढ्यो
चालु वर्षमा सूचीकृत उत्पादनमूलक ८ कम्पनीमध्ये नेपाल ल्युब आयलको मात्र नाफा बढेको छ । गत वर्ष दोस्रो त्रैमाससम्म १० लाख नोक्सानीमा रहको कम्पनीले चालु वर्षको सोही अवधिमा ७८ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
समक्षा अवधिमा कम्पनीको संचालन आम्दानी ३६.६७ प्रतिशतले बढेर ५१ करोड ७६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको वित्तीय खर्च २ करोड ५ लाखबाट घटेर १ करोड ८४ लाख रुपैयाँमा झरेको छ ।
हाल ६ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा २२ करोड ८२ लाख रुपैयाँ संचित छ । कम्पनीको प्रतिसेयर आम्दानी २५.९४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २८४.०८ रुपैयाँ छ ।