काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले बैंकिङ क्षेत्रलाई खलबल्याउने गरी भइरहेका अराजक गतिविधि गर्ने माथि कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
नेपाल बैकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै पछिल्लो समयमा बैंकिङ क्षेत्र विरुद्ध भइरहेका अराजक गतिविधि र सामाजिक संजालमा समेत प्रेषित गरिएका केही भ्रामक र गलत अभिव्यक्तिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको भएको जनाएका हुन् ।
उनीहरूले सर्वसाधारणलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तिजनक अभिव्यक्ति दिनेलाई कानुनको दायरामा ल्याई आवश्यक कारवाही गर्न समेत सरकारसँग आग्रह गरेका छन् ।
‘अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्तलाई आत्मसात गर्दै नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरुको पालना गर्दै, नेपालको बैंकिङ क्षेत्र उदाहरणको रुपमा स्थापित भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानी र सोको नीतिरनियमहरुको अधिनमा रहेर प्रत्येक त्रैमासमा वित्तीय विवरण सार्वजनिक गर्दै आएको बैंकिङ क्षेत्र पारदर्शी मात्र नभई सुपरीवेक्षणीय दृष्टिकोणले समेत अब्बल रहेको छ ।’
नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरूमा जोखिम बहन गर्ने क्षमता भएको र आजको दिनमा यी संस्थाहरू सुरक्षित रहेको दाबी पनि संघहरूको छ ।
‘निक्षेपकर्ताहरूको रकम पूर्णरुपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाख रुपैयाँसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत् सुरक्षण गरिएको स्मरण गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ ।