काठमाडौं । लघुवित्त व्यवसाय झन्झन् संकटमा पर्दै गएको एक अध्ययनले देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘लघुवित्त वित्तीय संस्थाहरूको गैर–स्थलगत सुपरीवेक्षण प्रतिवेदन’ले लघुवित्त व्यवसाय खस्किँदै गएको देखाएको हो ।
प्रतिवेदन अनुसार लघुवित्तहरूको कर्जा लगानी, खुद नाफा, सदस्य संख्या, ऋणीको संख्या घट्दै गएको छ । लगानी गरिएको कर्जा असुल हुन नसक्दा खराब कर्जा अचाक्ली बढेको छ । खराब कर्जा बढ्दा ठूलो रकम प्रोभिजिन गर्नुपर्दा नाफामा ठूलो असर परेको छ । चालु आवको पुस मसान्तसम्म अधिकांश लघुवित्तको नाफा घटेको छ भने २१ वटा घाटामा गएका छन् ।
अर्थतन्त्रमा आएको मन्दीका कारण ऋणीको आम्दानी घट्न गई ऋण तिर्ने क्षमतामा ह्रास आउँदा लघुवित्त व्यवसायमा ठूलो धक्का लागेको छ । त्यस्तै, लघुवित्त संस्थाहरू विरुद्ध भएको अराजक गतिविधि र आन्दोलनका कारण ऋण नतिर्ने प्रवृति बढ्दै गएको छ । जसले ऋण असुलीमा ठूलो प्रभाव पारेको छ ।
साढे २ लाख घटे ऋणीको संख्या
चालु आर्थिक वर्षको ६ महिना (साउन–पुस) मा लघुवित्त वित्तीय संस्थाहरूका ऋणी साढे २ लाख बढीले घटेको छन् । राष्ट्र बैंकका अनुसार चालु वर्षमा लघुवित्तका ऋणीको संख्या २ लाख ४८ हजारले घटेका हुन् ।
गत असार मसान्तसम्म लघुवित्त संस्थाका ऋणीको संख्या कुल २९ लाख ८४ हजार रहेकोम पुस मसान्त आइपुग्दा ८.३३ प्रतिशतले घटेर २७ लाख ३६ हजारमा सीमित भएका छन् ।
यस्तै, समीक्षा अवधिमा लघुवित्तका सदस्य पनि ०.२२ प्रतिशतले घटेर ६० लाख ३ हजारमा सीमित भएका छन् । असार मसान्तमा कुल सदस्य संख्या ६० लाख १६ हजार थिए ।
पछिल्लो समय लघुवित्त संस्था विरुद्ध भएका अराजक गतिविधि र कर्जा लगानीमा राष्ट्र बैंकको कडाइका कारण लघुवित्तका ऋणीको संख्या घटेको हो । लघुवित्तहरूले यस अवधिमा कर्जा लगानीभन्दा विगतमा लगानी गरेको ऋण उठाउन केन्द्रित हुँदा ऋणीको संख्या घटेका हुन् । यद्यपि, यस अवधिमा लघुवित्तहरूले ऋण असुली गर्न नसक्दा खराब कर्जा ह्वात्तै बढेर औसतमै साढे ७ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा आधाभन्दा बढी लघुवित्तको खराब कर्जा ५ प्रतिशत माथि पुगेको छ ।
आधा लघुवित्तको खराब कर्जा सीमा माथि
समीक्षा अवधिमा आधा लघवित्तको खराब कर्जा राष्ट्र बैंकले तोकेको सीमा माथि पुगेको छ । अर्थात् खराब कर्जा ५ प्रतिशत माथि पुगेको छ ।यस अवधिमा लघुवित्तहरूको खराब कर्जा औसतमा साढे ७ प्रतिशत पुगेको छ ।
५७ मध्ये २८ लघुवित्तको खराब कर्जा ५ प्रतिशत माथि पुगेको हो । त्यसमा ६ वटाको १० प्रतिशत माथि छ । जसमा श्रृजनशील लघुवित्तको सबैभन्दा धेरै १८.१४ प्रतिशत पुगेको छ ।

त्यसैगरी, एनआइसी एशिया लघुवित्तको १३.७६ प्रतिशत, नेष्डो समृद्धिको ११.९७ प्रतिशत, निर्धन उत्थानको ११.७० प्रतिशत, स्वाबलम्बनको ११.३६ प्रतिशत र डिप्रोक्स लघुवित्तको १०ं४१ प्रतिशत पुगेको छ । त्यस्तै, नेरुडे, युनिक नेपाल र लक्ष्मी लघुवित्तको खराब कर्जा ९ देखि १० प्रतिशतको बीचमा छ ।
कर्जा नोक्सानी व्यवस्थाका लागि २२ अर्ब छुट्याए
समीक्षा अवधिमा लघुवित्तहरूले कर्जा नोक्सानी व्यवस्थाका लागि झन्डै २२ अर्ब रुपैयाँ छुट्याएका छन् । समीक्षा अवधिमा थोक कर्जा प्रदायक लघुवित्तले सक्रिय कर्जा नोक्सानी व्यवस्थापन गर्न ९६ करोड ५५ लाख र खराब कर्जा व्यवस्थापन गर्न ७० करोड ९५ लाख गरी कुल १ अर्ब ६७ करोड रुपैयाँ रकम प्रोभिजन गरेका छन् ।
समीक्षा अवधिमा खुद्रा कर्जा प्रदायक लघुवित्तको निष्क्रिय कर्जा ४०.७८ प्रतिशतले बढेर २८ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । २०८० पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक संस्थाहरूले पुनरतालिकीकरण गरेको कर्जा रकम रु ४२ अर्ब १७ करोड रहेको छ
यस अवधिमा सक्रिय कर्जा नोक्सानीका लागि ६ अर्ब ५ करोड र खराब कर्जा नोक्सानी व्यवस्थापन गर्न १४ अर्ब १७ करोड गरी कुल २० अर्ब २२ करोड रुपैयाँ छुट्याएका छन् ।
स्रोत संकलन थोकको घट्यो, खुद्राको बढ्यो
पुस मसान्तसम्म ५७ वटा लघुवित्त संचालनमा छन् तीमध्ये ३ वटा थोक कर्जा प्रदायक र ५४ वटा खुद्रा कर्जा प्रदायक छन् । समीक्षा अवधिमा थोक कर्जा प्रदायक लघुवित्त संस्थाहरूको वित्तीय स्रोत संकलन (निक्षेप संकलन र सापटी)मा गिरावट आएको छ । लघुवित्तहरू नयाँ व्यवसाय विस्तारमाभन्दा कर्जा असुलीमा केन्द्रित हुँदा स्रोत संकलन गरेका हुन् ।
६ महिनाको अवधिमा थोक कर्जा प्रदायक लघुवित्तहरूको वित्तीय स्रोत संकलन (निक्षेप संकलन र सापटी) ८.३१ प्रतिशतले घटेर ४८ अर्ब ३६ करोड रुपैयाँमा सीमित भएको छ । असार मसान्तसम्म लघुवत्तहरूको निक्षेप र सापटी ५२ अर्ब ७४ करोड रुपैयाँ थियो ।
यस अवधिमा खुद्रा कर्जा प्रदायक लघुवित्तहरूको वित्तीय स्रोत संकलन ४.५३ प्रतिशतले बढेको छ । पुससम्म खुद्रा कर्जा प्रदायक ५४ लघुवित्तले १ खर्ब ६७ अर्ब ६४ करोड रुपैयाँ बचत/निक्षेप संकलन र १ खर्ब ७५ अर्ब ८३ करोड रुपैयाँ सापटी लिई कुल ३ खर्ब ४३ अर्ब ४७ करोड वित्तीय स्रोत संकलन गरेका छन् ।
थोकको घट्दा खुद्राले १४ अर्ब बढाए कर्जा लगानी
समीक्षा अवधिमा थोक कर्जा प्रदायक लघुवित्तको कर्जा लगानी १०.३२ प्रतिशतले घटेर ५४ अर्ब ८ करोडमा सीमित भएको छ । सोमध्ये खराब कर्जा १ अर्ब २२ करोड अर्थात् २.२५ प्रतिशत रहेको छ । पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक संस्थाहरूले पुनरतालिकीकरण गरेको कर्जा रकम रु २६ करोड रहेको छ ।
खुद्रा कर्जा प्रदायक लघुवित्तहरूले भने कर्जा लगानी ३.६६ प्रतिशतले विस्तार गरेका छन् । गत असार मसान्तसम्म यी लघुवित्तहरूले कुल ३ खर्ब ७१ अर्ब कर्जा लगानी गरेकोमा पुस मसान्त आइपुग्दा १४ अर्बले बढेर ३ खर्ब ८५ अर्ब पुगेको राष्ट्र बैंककाे तथ्यांकले देखाएको छ ।
नाफा घट्यो
समीक्षा अवधिमा थोक र खुद्रा दुवै कर्जा प्रदायक लघुवित्तको नाफा घटेको छ । यस अवधिमा थोक र्जा प्रदायको खुद नाफा २४.५८ प्रतिशतले घटेर ५९ करोड २५ लाखमा सीमित भएको छ । गत वर्ष सोही अवधिमा यस्तो नाफा १ अर्ब ११ करोड थियो ।
त्यस्तै, खुद्रा कर्जा प्रदायक लघुवित्तहरूको खुद नाफा ८७ प्रतिशतले घटेको छ । गत वर्ष पुससम्म ३ अर्ब २ करोड खुद नाफा कमाएका लघुव्त्तिहरूले चालु आवको सोही अवधिमा जम्मा ३१ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । खुद्रा कर्जा कारोबार गर्ने ५४ लघुवित्तमध्ये २१ खुद नोक्सानीमा रहेको राष्ट्र बैंक लघुवित्त संस्था सुपरीवेक्षण विभागले तयार पारेको लघुवित्त वित्तीय संस्थाहरूको गैरस्थलगत सुपरीवेक्षण प्रतिवेदनमा उल्लेख छ ।
सेयर तथा मुद्दती लगानी ३३.५३ प्रतिशत बढ्यो
समीक्षा अवधिमा लघुवित्त संस्थाहरूको सेयर, डिबेन्चर, मुद्दती लगायतमा गरिएको लगानी ३३.५४ प्रतिशतले बढेको छ । गत असार मसान्तसम्म लघुवित्तहरूको कुल लगानी ९ अर्ब ३४ करोड रहेकोमा पु मसान्तमा १२ अर्ब ४७ करोड पुगेको छ ।
पुससम्म लघुवित्तहरूको लगानी ससरकारी सुरक्षणपत्रमा १ अर्ब १५ करोड, सेयर तथा डिबेन्चरमा १० करोड १७ लाख, मुद्दती निक्षेपमा १० अर्ब ४५ करोड र अन्य लगानी ७६ करोड रुपैयाँ रहेको छ ।