काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ३ पूर्वसचिव सहित १७ जना विरुद्ध मुद्दा दायर गरेको छ ।
आइतबार आयोगले कामै नगरी भुक्तानी दिएको भन्दै परामर्श दाता र ठेकेदार कम्पनीका प्रतिनिधिविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । आयोगले उनीहरुसँग ८० करोड बढी बिगो पनि दाबी गरेको छ ।
आयोगले उनीहरु माथि मेलम्ची आयोजनाको निर्माण व्यवसायी सीएमसी दि रभेन्नालाई रनिङ बिलमा काम नै नगरी भुक्तानी गरेको, निर्माण व्यवसायीले छाडेर गएको मेसिन, यन्त्र, उपकरण र अन्य सामग्रीको रेन्टल चार्जसमेत कट्टा नगरी भुक्तानी गरेको आरोप लगाएको छ ।
आयोगले तत्कालीन मेलम्ची आयोजना बोर्डका तत्कालनीन अध्यक्ष तथा खानेपानी मन्त्रालयका सचिव सञ्जय शर्मा, अर्थमन्त्रालयका तत्कालीन सहसचिव मुकुन्दप्रसाद पौडेलविरूद्ध पनि मुद्दा दर्ता गरेको छ। उनीहरूबाट जनही ६ करोड ९७ लाख ८२ हजार १७८ रूपैयाँ बिगो दाबी गरिएको छ।
त्यस्तै, मेलम्ची खानेपानी विकास समिति बोर्डको तत्कालीन अध्यक्ष र खानेपानी मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यक्षसँग ४ करोड ११ लाख ३४ हजार २७९ रूपैयाँ बिगो मागदाबी गरिएको छ।
मेलम्ची खानेपानी बोर्डका अध्यक्ष गजेन्द्रकुमार ठाकुरसँग ६० करोड ४९ लाख १९ हजार ८८४ बिगो माग दाबी गर्दै उनीविरूद्ध पनि मुद्दा दायर गरिएको छ।
त्यसैगरी, मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य चन्द्रबहादुर थापासँग ७१ करोड ५८ लाख रुपैयाँ बिगो दाबी गरेको छ । मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक घनश्याम भट्टराईसँग २२ करोड ७५ लाख, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटाविरुद्ध ३२ करोड ३५ लाख र तत्कालीन कार्यकारी निर्देशक सूर्यराज कँडेलसँग ८९ करोड ८ लाख रुपैयाँ बढी बिगो माग गरिएको छ ।