काठमाडौं । राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको करिब ३१ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्म आयोजनाको ३०.९६ प्रतिशत भौतिक र ३१.५७ प्रतिशत वित्तीय प्रगति भएको छ ।
मुआब्जा वितरण तथा जग्गा अधिग्रहण हुन बाँकी खोकना क्षेत्र र अदालतमा मुद्दा परेका ठेक्का प्रक्रियामा बाहेक कामको प्रगति सन्तोषजनक रहेको नेपाली सेनाका प्राविधिक सहायक रथी तथा आयोजना प्रमुख विकास पोखरेलले जानकारी दिए ।
‘ठेक्का लागिसकेका काममा प्रगति राम्रो छ । केही खरिद प्रक्रिया टुङ्गिन बाँकी छन् । मुद्दा मामिलामा पनि गएका छन् । तर हामीले तोकिएको समय २०८३ चैतसम्ममा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य राखेका छौँ,’ उनले भने । खरिद प्रक्रियालाई लिएर पाटन उच्च अदालतमा दायर भएको मुद्दाको चाँडो निरुपण भएर काम अघि बढ्न सके तोकिएको समयभित्रै काम सम्पन्न हुने उनको भनाइ छ । राष्ट्रिय गौरवको आयोजनामा आइपर्ने कानुनी, प्रशासनिक तथा अरु कठिनाइलाई प्राथमिकताका साथ चाँडो टुङ्ग्याउन सक्नुपर्ने पोखरेल बताउँछन् ।
करिब ७१ किलोमिटर लम्बाइ रहेको सो आयोजना काठमाडौँमा ४.६, ललितपुरमा ९, मकवानपुरमा ४९.७० र बारामा ७.६ किलोमिटर पर्दछ । आयोजनाको कुल १३ निर्माण प्याकेज रहेकामा प्याकेज नम्बर १ देखि ७ र १० को खरिद प्रक्रिया सम्पन्न भई कार्यान्वयनको चरणमा छ । प्याकेज नम्बर ८ (क), ८ (ख), ९ (क) र ९ (ख) को भने खरिद प्रक्रिया नै विवादित छ । पटक–पटक ठेक्का आह्वान गर्दा पनि यी ४ प्याकेजको खरिद प्रक्रिया टुङ्गिन सकेको छैन । अहिले यसको मुद्दा पाटन अदालतमा विचाराधीन छ ।
त्यसैगरी, प्याकेज नम्बर ११ अन्तर्गत पर्ने खोकना क्षेत्रमा द्रुतमार्गको सुरु विन्दु निर्धारण, सो क्षेत्रको सवारी आवागमन व्यवस्थापन र जग्गा अधिग्रहण विवाद समाधान गर्न बाँकी छ । यही कारणले सो क्षेत्रमा आयोजनाको खरिद प्रक्रिया सुरु हुन सकेको छैन । अहिले आयोजनाको करिब ९५ प्रतिशत प्याकेज कार्यान्वयन तथा खरिद प्रक्रियामा गइसकेको आयोजनाको अपरेसन तथा कार्यान्वयन महाशाखा प्रमुख इन्दिवर गुरुङ बताउँछन् ।
खरिद प्रक्रियामा गइसकेका काममा मुख्यगरी सुरुङमार्ग र पुल निर्माणको काम धमाधम भइरहेका छन् । अहिले निर्माणाधीन ३ सुरुङमार्गको कुल लम्बाइ ६.४१५ किलोमिटरमध्ये ४.३२५ किलोमिटर अर्थात् ६७.४३ प्रतिशत खन्ने काम सकिएको छ ।
लेनडाँडा सुरुङमार्ग आगामी वर्ष वैशाखभित्र, धेद्रे सुरुङमार्ग जेठभित्र र महादेवटार सुरुङमार्ग आगामी वर्ष असोज तथा कात्तिकभित्र ‘ब्रेक थ्रु’ गरिसक्ने गरी काम भइरहेको आयोजनाका इन्जिनियर विनायक शर्माले जानकारी दिए । एउटा सुरुङमार्गमा हरेक दिन औसत ३ मिटर हाराहारी खन्ने काम भइरहेको उनको भनाइ छ ।
महादेवटार सुरुङमार्गको लम्बाइ ३.३५५ किलोमिटरमध्ये हालसम्म १.९४८ किलोमिटर सुरुङ खन्ने काम सकिएको छ । त्यसैगरी, धेद्रे सुरुङमार्गको कुल लम्बाइ १.६३ किलोमिटरमध्ये हालसम्म १.१७३ किलोमिटर सुरुङ खनिसकेको छ । लेनडाँडा सुरुडमार्गको स्वीकृत विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बमोजिम कुल लम्बाइ १.४३ किलोमिटर रहेकामा हालसम्म १.२०४ किलोमिटर सुरुङ खनिएको छ ।
आयोजनाको ६ स्थानमा सुरुङमार्ग छन् । सबै सुरुङमार्गको कुल लम्बाई १०.५५ किलोमिटर छ । यसमा देवीचौरी सुरुङ १ किलोमिटर, सिसौँटार सुरुङ ०.३९, चन्द्राम भीर सुरुङ २.२५, महादेवडाँडा सुरुङ ३.३५५, धेद्रे सुरुङ १.६३० तथा लेनडाँडा सुरुङ १.४३० किलोमिटर छ ।
त्यसैगरी, आयोजनामा कुल ८९ पुल बन्नेछन् । यसको कुल लम्बाइ १२.८८५ किलोमिटर हुनेछ । बुदुनेमा २ विश्रामस्थल बन्नेछन् भने खोकना, बुदुने र निजगढमा इन्टरचेञ्ज बन्नेछन् । त्यस्तै, टोलप्लाजा पनि खोकना, बुदुने र निजगढमा बन्नेछन् । हालसम्म ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका प्याकेज नम्बर १ देखि ७ सम्मका पुलअन्तर्गत रहेका कुल २.८०२ पाउन्डेसन पाइलमध्ये १.६६५ पाइल निर्माण कार्य सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।
द्रुतमार्गको सडकको चौडाइ पहाडी भू–भागमा २५ मिटर र तराई भू–भागमा २७ मिटर रहेको छ । आयोजना निर्माणका लागि अधिग्रहण गर्नुपर्ने कुल १५ हजार ४१६ रोपनी जग्गामध्ये सरकारी जग्गा १० हजार २४४ र व्यक्तिगत जग्गा ५ हजार १७२ रोपनी रहेको छ । अधिग्रहणको सूचनामा प्रकाशित व्यक्तिगत जग्गा ५ हजार १७२ रोपनीमध्ये हालसम्म ४ हजार ७७७ रोपनी जग्गा अधिग्रहण भइसकेको छ । ३९५ रोपनी जग्गा अधिग्रहण हुन बाँकी रहेको नेपाली सेनाले जनाएको छ । खोकना–बुङ्गमती क्षेत्रमा २१४ रोपनी जग्गाको मूल्य निर्धारण भई मुआब्जा वितरण हुन बाँकी छ भने १६५ रोपनी जग्गाको मूल्य निर्धारण हुन सकेको छैन । यो क्षेत्रमा कुल ३७९ रोपनी जग्गा अधिग्रहण हुन बाँकी छ ।
आयोजनाका लागि हालसम्म कटान गरिएका रुखको बदलामा १ अनुपात २५ का दरले वृक्षरोपण गरिएको सेनाले जनाएको छ । आयोजनाका लागि कुल ७ लाख ४ हजार ४४० बिरुवा रोप्नुपर्नेमा हालसम्म जम्मा ७ लाख ५ हजार ५५२ बिरुवा रोप्ने कार्य सकिएको छ ।
मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयअनुसार राष्ट्रिय गौरव एवं रणनीतिक महत्व बोकेको यो आयोजनाको निर्माण व्यवस्थापनको जिम्मेवारी सेनाले पाएको थियो । आयोजनाको २०७४ जेठ १४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको निजगढमा शिलान्यास गरेका थिए ।
विसं २०७४ साउन २७ गते सडक विभागबाट नेपाली सेनालाई आयोजना हस्तान्तरण भएको थियो । सोही वर्ष मङ्सिरदेखि नेपाली सेनाको जनशक्ति तथा राष्ट्रियस्तरका निर्माण व्यवसायीमार्फत द्रुतमार्गको ट्रयाक निर्माणको काम थालिएको थियो । गत वैशाखमा आयोजना सम्पन्न हुने समयावधि बढाएर २०८३ चैत मसान्तसम्म पुर्याइएको थियो । त्यस्तै, गत साउनमा आयोजनाको परिमार्जित विस्तृत आयोजना प्रतिवेदन स्वीकृत भएको थियो । यसबाट लागत घट्ने अनुमान गरिएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्बाट २०८० साउन ३० गते स्वीकृत भएको आयोजनाको परिमार्जित विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बमोजिम आयोजनाको कुल लम्बाइ ७०.९७७ किलोमिटर छ । यो आयोजनाको प्रस्थान विन्दु खोकना हो भने अन्तिम विन्दु निजगढ हो । विसं २०७८ वैशाख ३१ गते प्याकेज नम्बर १ र २ को निर्माण व्यवसायीसँग पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सम्झौता भई जेठ ३१ गतेदेखि निर्माण सुरु भएको हो ।