काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत होटलहरूको खुद नाफामा उछाल आएको छ । होटलहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा औसतमा ५३.५५ प्रतिशतले बढेको हो ।
होटल तथा पर्यटन समूहमा सूचीकृत ६ वटा कम्पनीले पुस मसान्तसम्म कुल ३८ करोड ६६ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा १३ करोड ४८ लाख रुपैयाँ धेरै हो । गत वर्ष पुससम्म यी होटलले कुल २५ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।
समीक्षा अवधिका होटलहरूको आम्दानी बढ्दा खुद नाफामा उछाल आएको हो । कारोनापछि सुस्त रहेको पर्यटकीय गतिविधि चालु वर्षमा चलायमान हुँदा होटलहरूको आम्दानी उल्लेख्य रुपमा बढेको हो ।
चालु आवमा विदेशी पर्यटक आवगमन बढ्नुका साथै आन्तरिक पर्यटकीय गतिविधमा पनि उल्लेख्य सुधार आएको छ । जसकारण होटलहरूको आम्दानी बढ्न गई नाफामा समेत उछाल आएको हो ।
सन् २०२३ मा मात्रै १० लाख विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने २०२४ को पहिलो महिनामा पनि ७० हजार बढी पर्यटक नेपाल भ्रमणमा आएका छन् । त्यस्तै, आन्तरिक पर्यटकीय गतिविधि पनि बढेको छ । यसले पनि होटलको व्यवसाय बढाउन सहयोग पुर्याइरहेको छ ।
कोभिड अवधिमा पर्यटन व्यवसाय र भौतिक कार्यक्रम ठप्प हुँदा होटलको व्यवसाय पनि धरासाय भएको थियो । कतिपय ठूला होटलहरू खर्च धान्न नसकेर बन्द समेत भएका थिए । तर, गत वर्षदेखि पर्यटन क्षेत्र लयमा फर्किँदा होटल व्यवसाय फस्टाएको हो । होटल व्यवसायीहरूका अनुसार अहिले आन्तरिक कार्यक्रम तथा संस्थागत गतिविधिले अकुपेन्सी राम्रै छ ।
आर्थिक संकुचनका कारण बैंक तथा वित्तीय संस्था, उत्पादनमूलक उद्योगहरू नराम्ररी प्रभावित हुँदा पनि होटल व्यवसाय भने गुल्जार बनेको छ ।
कुन होटलले कति कमाए ?
समीक्षा अवधिमा सबै होटलको व्यवसाय बढेको छ । समीक्षा अवधिमा सूचीकृत ६ वटामध्ये ५ वटा होटल नाफामा छन् भने सिटी होटल घाटामा छ ।

समीक्षा अवधिमा सोल्टी होटलले सबैभन्दा धेरै नाफा कमाएको छ । चालु आवको ६ महिनामा २६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको पुसको तुलनामा यस वर्ष सोल्टीको नाफा ४.६४ प्रतिशतले बढेको छ ।
तारागाउँ रिजेन्सी १८ करोड १६ लाख रुपैयाँ नाफा कमाउँदै दोस्रो धेरै नाफा कमाउने होट बनेको छ । तारागाउँले गत वर्षको तुलनामा यस वर्ष नाफा ७१.०७ प्रतिशतले बढाउन सफल भएको छ ।
यस्तै, पुससम्म चन्दागिरि हिल्सले ६ करोड २८ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष सोही अवधिमा ५ करोड १६ लाख रुपैयाँ नाफा कमाएको चन्द्रागिरिको समीक्षा अवधिमा नाफा २२.६ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा ओरेन्टल होटलको नाफा ४६.२४ प्रतिशत बढेर ५करोड ३४ लाख रुपैयाँँ पुगेको छ । यस्तै, गत वर्ष पुससम्म ९८ लाख ८७ हजार घाटामा रहेको कालिञ्चोक दर्शन यस वर्ष सोही अवधिमा ६४ लाख ३४ हजार नाफामा छ ।
पुससम्म सिटी होटल भने ११ करोड ७९ लाख रुपैयाँ नोक्सानीमा छ । यद्यपि, गत वर्षको तुलनामा यसको नोक्सानी डेढ करोडले घटेको छ । गत वर्ष यही अवधिमा सिटी १३ करोड २४ लाख रुपैयाँ घाटामा थियो ।