काठमाडौं । घोराही सिमेन्ट नोक्सानीमा गएको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ४१ करोड ८४ लाख ३८ लाख रुपैयाँ घाटामा रहेको हो ।
जबकि घोराही गत वर्षको सोही अवधिमा १ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बिक्री आम्दानी बढे पनि अन्य आम्दानी घट्दा र खर्च बढ्दा कम्पनी नोक्सानीमा गएको हो ।
समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी १.४० प्रतिशतले बढेर १ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । गत वर्ष पुससम्म कम्पनीको यस्तो आम्दानी १ अर्ब ६८ करोड रुपैयाँ थियो ।
यस्तै, समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ९८.८७ प्रतिशतले घटेर ११ लाख ७६ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष कम्पनीको अन्य आम्दानी १० करोड ३७ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिमा कम्पनीको प्रशासनिक खर्च ४१.४९ प्रतिशतले बढेर १५ करोड ५८ लाख रुपैयाँ पुगेका छ । त्यस्तै, वित्तीय खर्च ३७.६१ प्रतिशतले बढेर २६ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।
हाल ४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा २ अर्ब ९९ करोड, जगेडा कोषमा ७ करोड ९० लाख र सेयर प्रिमियममा २ अर्ब ६५ करोड रुपैयाँ संचित छ।
घाटामा गएसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि ऋणात्मक भएको छ । गत वर्ष ०.९७ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी समीक्षा अवधिमा १८.३२ रुपैयाँ ऋणात्मक छ ।
यस अवधिमा प्रतिशेयर नेटवर्थ २२५.४५ रुपैयाँ छ ।