नीतिगत सुधारपछि लयमा फर्कियो घरजग्गा कारोबार, माघमा ८ महिना यताकै धेरै किनबेच

काठमाडौं । घरजग्गा कारोबार क्रमशः लयमा फर्किन थालेको छ । डेढ वर्षदेखि सुस्ताएको घरजग्गा कारोबार पछिल्ला महिनाहरूमा लगातार सुधार आइरहेको हो ।

सरकारले कित्ताकाटमा गरेको खुकुलो र कर्जा लगानीमा राष्ट्र बैंकको लचकतापछि चालु वर्षको मंसिरदेखि घरजग्गा किनबेच महिनैपिच्छे बढिरहेको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको माघमा देशभरका मालपोत कार्यालयबाट कुल ४९ हजार २९० वटा घरजग्गा किनबेच (लिखत पारित) भएको छ ।

यो ८ महिना यताकै अर्थात् २०८० जेठ यताकै धेरै हो । माघमा चालु वर्षकै धेरै जरजग्गा किनबेच भएको छ । चालु वर्षको पहिलो महिना साउनमा सर्वाधिक ४९ हजार २६३ वटा घरजग्गा किनबेच भएको थियो ।

पुसको तुलनामा माघमा ४ हजार १३ वटा धेरै घरजग्गा लिखतपारित भएको छ । चालु वर्षको ७ महिनामा कुल २ लाख ८७ हजार २०६ वटा घरजग्गा किनबेच भएको विभागको तथ्यांक छ ।

चालु आवको साउनमा ४९ हजार २६३, भदौमा ३५ हजार ६८६, असोजमा ३९ हजार ७९३, कात्तिकमा २६ हजार ४६, मंसिरमा ४१ हजार ८५१ र पुसमा ४५ हजार २७७ वटा घरजग्गाको किनबेच भएको छ ।

सरकारी नीतिगत सहजता, घरजग्गा कर्जा लगानीमा लचकता, बैंकिङ प्रणालीमा अधिक तरलता, घट्दो ब्याजदर, अर्थतन्त्रमा क्रमशः देखिन थालेको सुधार लगायत कारणले माघमा घरजग्गा कारोबारमा उल्लेख्य सुधार आएको हो ।

सरकारले २०७९ जेठमा सरकारले भूउपयोग नियमावली लागू गरे यता घरजग्गा कारोबारमा चरम मन्दी आएको थियो । घरजग्गा कारोबार घट्दा समग्र अर्थतन्त्र नै मन्दीमा गएको भन्दै पछिल्लो समय सरकारले नीतिगत लचकता अपनाएको छ ।

सरकारले गत साउन अन्तिममा भूउपयोग नियमावली संशोधन गरेर यथास्थितिमै कित्ताकाट खुलाएको थियो । सरकारको सो निर्णयपछि अहिले कित्ताकाट सहज भएको छ ।

त्यस्तै, नेपाल राष्ट्र बैंकले पनि घरजग्गा क्षेत्रमा कर्जा लगानीमा लचकता अपनाएको छ । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत व्यक्तिगत घर कर्जाको सीमा बढाएर २ करोड पुर्याएको छ भने रियल स्टेट कम्पनीलाई दिइने कर्जाको भार १०० प्रतिशतमा झारेको थियो । त्यस्तै, पहिलो त्रैमासिम समीक्षा मार्फत रिय ई–स्टेट कर्जाको जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशतमा झारेको छ ।

त्यस्तै, राष्ट्र बैंकले गत असोजमा घरजग्गा धितो कर्जाको सीमा पनि बढाएको थियो । ५० लाख रुपैयाँसम्म व्यक्तिगत आवसीय कर्जा प्रवाह गर्दा ‘लोन टु भ्यालु रेसियो’ ५० प्रतिशत पुर्याएको थियो । त्यसअघि लोन टु भ्यालु रेसियो काठमाडौं उपत्यकामा ३० प्रतिशत र उपत्यका बाहिर ४० प्रतिशत थियो ।

त्यसैगरी, काठमाडौं उपत्यका भित्र रियल ई(स्टेट कर्जाको धितो संरक्षणमा ‘लोन टु भ्यालु रेसियो’ ५० प्रतिशत पुर्याएको थियो । साथै, नेपाल सरकारबाट स्वीकृति प्राप्त घर निर्माण व्यवसाय कम्पनीरपरियोजनाहरूलाई आवासीय घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा यस्तो अनुपात बढीमा ६० प्रतिशतसम्म कायम गर्न सक्ने व्यवस्था गरेको थियो । त्यससअघि यस्तो सीमा ४० प्रतिशत थियो ।

यस्तै, पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा सहजै कर्जा पाइने अवस्था छ भने ब्याजदर समेत घट्दो क्रममा छ । अहिले बैंकहरूको औसत बेसरेट एकल अंकमा झरिसकेको छ । नीतिगत कडाइ र आर्थिक मन्दीका पछिल्लो समय घरजग्गा किनबेच गर्न नसकेकाहरू अहिले बैंकबाट ऋण लिएर किन्न थालेको छन् । जसले घरजग्गा कारोबार चलायमान बनाउँदै लगेको छ । पछिल्ला महिनाहरूमा क्रमशः आर्थिक गतिविधिहरू चलायमान हुन थालेकाले पनि कारोबारमा सुधार देखिएको हो ।

५० करोड बढ्यो राजस्व

माघमा घरजग्गा किनबेच बढेसँगै राजस्व संकलनमा पनि ठूलो सुधार देखिएको छ । विभागका अनुसार पुसको तुलनामा माघमा घरजग्गा कारोबार बापत प्राप्त हुने राजस्व ५० करोड रुपैयाँले बढेको छ ।

पुसमा घरजग्गा कारोबारबाट ३ अर्ब २० करोड रुपैयाँ राजस्व उठेकोमा माघमा बढेर ३ अर्ब ७१ करोड रुपैयाँ पुगेको विभागले जनाएको छ ।

घरजग्गा कारोबार बापत सरकारले साउनमा २ अर्ब ९१ करोड, भदौमा ३ अर्ब ६ करोड, असोजमा ४ अर्ब ४३ करोड ५४ लाख र कात्तिकमा २ अर्ब १६ करोड ३८ लाख रुपैयाँमा राजस्व उठाएको थियो ।

यी ठाउँमा भयो धेरै किनबेच

माघ महिनामा पनि विगतमा जस्तै तराईका जिल्लाहरूमा धेरै जग्गा किनबेच भएको छ । यस महिना जनकपुर मालपोत कार्यालयबाट सबैभन्दा धरै २ हजार ९२ वटा लिखत पारित भएको छ।

त्यस्तै, मालपोत कार्यालय इनरुवाबाट २ हजार ३२, भद्रपुरबाट १ हजार ९००, बेलबारीबाट १ हजार ६८३, राजविराजबाट १ हजार ४००, जलेश्वरबाट १ हजार २९२, जलेश्वरबाट १ हजार २९२, सिराहबाट १ हजार ११३, मलंगवाबाट १ हजार ८० र पर्साबाट १ हजार ६७ वटा लिखत पारित भएको छ ।

यस्तै, काठमाडौं उपत्यकामा मालपोत कार्यालय भक्तपुरबाट सबैभन्दा धेरै ९९५ वटा लिखत पारित भएको छ । त्यसैगरी, मालपोत कार्यालय लगनखेलबाट ९२७, कलंकीबाट ६६७, चाबहिलबाट ४४७, साँखुबाट ४०८, मनमैजुबाट ३०९ र डिल्लीबजारबाट २०६ वटा घरजग्गा किनबेच भएको छ ।

सन् २०२३ मा रूसको वैदेशिक व्यापार आधाभन्दा धेरै घट्यो Read Previous

सन् २०२३ मा रूसको वैदेशिक व्यापार आधाभन्दा धेरै घट्यो

बेलुन नेपालको भ्यालेनटाइन डे अफर, हट एयर बेलुनमा उड्ने जोडीलाई १४% छुट Read Next

बेलुन नेपालको भ्यालेनटाइन डे अफर, हट एयर बेलुनमा उड्ने जोडीलाई १४% छुट