काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्स संचालक समितिको माघ २५ गते बसेको बैठकले सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२१ गरी कुल ४.२१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
यस्तै, हिमालयनले उक्त बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको
छ ।
कम्पनीले हकप्रद सेयर निष्काशन सम्बन्धी प्रस्ताव पारित गर्न फागुन २० गते, तेस्रो वार्षिक साधरण सभा बोलाएको छ । सो सभा राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ।
त्यसैगरी, कम्पनीले साधरण सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने, संस्थापकसमूहको तर्फबाट रिक्त रहेको पदका लागि एक जना सञ्चालक र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि लैजाने भएको छ ।
कम्पनीले लाभांश तथा साधरण सभा प्रयोजनका लागि फागुन ७ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार फागुन ६ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।