नेप्सेमा सूचीकृत एक कम्पनी : जसको सेयर मूल्य ७ महिनामा १ दिन मात्रै घट्यो, १२ गुणाले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हाल २७१ वटा कम्पनी (म्युचुअल फण्ड र डिबेन्चर बाहेक) सूचीकृत छन् । तीमध्ये करिब २ दर्जन कम्पनीको कारोबार रोक्का छ भने अन्य कारोबारका लागि योग्य छन् ।

सूचीकृत कम्पनीहरूको सेयर मूल्य एकोहोरो महिनौंसम्म बढिरहने वा घटिरहने भन्ने हुँदैन । केही दिन बढेपछि घट्छ । केही दिन घटेपछि फेरि बढ्छ । अर्थात् प्रफिट बुकपछि करेक्सन हुन्छ र करेक्सनपछि फेरि बढ्छ । दैनिक सेयर खरिद माग र आपूर्तिका आधार मूल्य घट/बढ हुन्छ ।

तर, नेप्सेमा सूचीकृत एउटा कम्पनीको भने करिब ७ महिनादेखि लगातार सेयर मूल्य बढिरहेको छ । त्यो कम्पनी हो समाज लघुवित्त वित्तीय संस्था । २०७७ साल भदौमा आइपीओ जारी गरे पनि झन्डै ३ वर्षपछि गत साउन १ गतेदेखि मात्रै दोस्रो बजारमा कारोबारमा यस लघुवित्तको सेयर मूल्य ७ महिनादेखि लगातार बढिरहेको हो ।

आइपीओ जारी लगत्तै समाजले स्वस्तिक लघुवित्तसँग मर्जर सम्झौता गरेपछि सेयर कारोबार हुन सकेको थिएन । त्यसको १ वर्षपछि मर्जर सम्झौता भाँडिएपछि नेपाल राष्ट्र बैंकले अर्को लघुवित्तसँग मर्जर वा प्राप्ति नभएसम्म सेयर कारोबारमा रोक लगाएको थियो । सोही कारण आइपीओ जारी गरेको ३ वर्षपछि मात्रै दोस्रो बजारमा कारोबारमा आएको थियो ।

लघुवित्तको सेयर कारोबारमा आएदेखि (लाभांशपछि मूल्य समायोजन बाहेक) जम्मा एक दिन मात्रै सेयर मूल्य घटेको छ । अर्थात् हालसम्म ७४ दिन सेयर कारोबार हुँदा १ दिन मात्र मूल्य घटेको छ । ५० बढी दिन मूल्य बढेको छ भने २० दिन स्थिर रहेको छ ।

साउन १ गते अंकित मूल्यभन्दा कम अर्थात् प्रतिकित्ता ७२.१ रुपैयाँमा पहिलो कारोबार खुलेको कम्पनीको सेयर मूल्य १४ कारोबार दिन (साउन १८ गते) बढेर ७४.९ रुपैयाँ पुगेको थियो । त्यसपछि कम्पनीले आव २०७८/७९ को नाफाबाट वितरण गर्ने १४.२५ प्रतिशत बोनसपछि मूल्य समायोजन भएर नयाँ सेयर मूल्य ६५.५६ रुपैयाँ कायम भएको थियो ।

मूल्य समायोजनपछि तेस्रो कारोबार दिन (साउन २३ गते) कम्पनीको सेयर मूल्य ७६ पैसाले घटेको थियो भने त्यस यताका हरेक दिनमा बढ्दै आएको छ । अर्थात् गत साउन २३ गतेदेखि यता लघुवित्तको सेयर मूल्य एकदिन पनि घटेको छैन ।

यस अवधिमा लघुवित्तको सेयर मूल्य झन्डै १२ गुणाले बढेको छ । ७२.१ रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयर मूल्य ७४ कारोबार दिनमा ११६४ प्रतिशतले बढेर बुधबार ८३९.३० रुपैयाँ पुगेको छ ।

७ महिनाको अवधिमा लघुवित्तको कुल २ हजार ६३४ कित्ता सेयर कारोबार भएको छ । २२२ पटकमा १० लाख १४ हजार ३१६ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस अवधिमा जम्मा ५ दिन मात्र १०० बढी कित्ता सेयर किनबेच भएको छ अरू सबै दिन १०० कित्ताभन्दा कम सेयर खरिद बिक्री भएको ।

नेप्सेमा समाजको जम्मा २ लाख २८ हजार ५०० कित्ता सेयर सूचीकृत छ । जसमा संस्थापक समूहको १ लाख ३० हजार २४५ कित्ता र सर्वसाधरणको ९८ हजार २५५ कित्ता छ । दोस्रो बजारमा कारोबार हुने साधरणतर्फको ९८ हजार २५५ कित्ता मात्रै हो । कम्पनीको आइपीओ जम्मा ८ हजार ७० जनाले १० कित्ताका दरले पाएका थिए । नेप्सेमा सूचीकृत कम्पनीमध्ये समाज सबैभन्दा थोरै चुक्ता पूँजी भएको कम्पनी समेत हो ।

समाजको सेयर खरिदका लागि दैनिक हजारौं कित्ता सेयर माग हुन्छ । तर, बिक्रीकर्ता नगन्य छन् । नेप्सेमा थोरै सेयर संख्या हुने कम्पनीको सेयर मूल्यमा अत्यधिक चलखेल हुने गरेको छ । चाहे जति सेयर किन्न नपाउने (आपूर्ति नहुँदा) चलखेल गरी मूल्य निकै माथि पुर्याइने गरेका दृष्टान्त छ । त्यसैले आइपीओ पाएका अधिकांश सेयरधनीले अहिले नै सेयर बेच्न चाहेको देखिँदैन । कम्पनीको वित्तीय अवस्था तुलनात्मक रूपमा कमजोर नै रहे पनि मूल्य निकै माथि पुग्ने आशामा लगानीकर्ताले सेयर होल्ड गरेर बसेका छन् ।

कस्तो छ वित्तीय अवस्था

चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्म लघुवित्त १६ लाख ७० हजार रुपैयाँ घाटामा रहेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ७५ लाख ८२ हजार रुपैैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा खुद ब्याज आम्दानी घट्दा र सञ्चालन नाफा घट्दा लघुवित्त नोक्सानीमा गएको हो । यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६५.३३ प्रतिशतले घटेर ६७ लाख ६ हजार रुपैयाँमा सीमित भएको छ भने संचालन मुनाफा १ करोड ८८ लाख रुपैयाँ ऋणात्मक छ ।

समीक्षा अवधिसम्म लघुवित्तले २८ करोड ५२ लाख रुपैयाँ सापटी र १३ करोड २२ लाख रुपैयाँ निक्षेप संकलन गरी कुल ४१ करोड ७१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

हाल २ करोड २८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २ करोड २४ लाख रुपैयाँ संचित छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ७.३१ रुपैयाँ ऋणात्मक छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १९८.२६ रुपैयाँ र खराब कर्जा ४.०१ प्रतिशत छ ।

अब लाइसेन्स नलिई घरजग्गा कारोबार गरे २५ लाख जरिवाना, ६ महिनासम्म  कैद Read Previous

अब लाइसेन्स नलिई घरजग्गा कारोबार गरे २५ लाख जरिवाना, ६ महिनासम्म कैद

निजी वनको दर्ता अब पालिकाबाट, रुख कटान खुला Read Next

निजी वनको दर्ता अब पालिकाबाट, रुख कटान खुला