काठमाडौं । छिमेक लघुवित्त लघुवित्त वित्तीय संस्थाको खुद नाफामा गिरावट आएको छ । लघुवित्तले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा २१.५५ प्रतिशतले घटेको हो ।
चालु आवको पुस मसान्तसम्म लघुवित्तले ४३ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १२ करोड रुपैयाँ कम हो । गत वर्ष पुससम्म छिमेकले ५५ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
लघुवित्तको खुद ब्याज आम्दानी घट्दा र खराब कर्जा बढ्न गई इम्पेयरमेन्ट चार्ज बढ्दा नाफा प्रभावित भएको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३.५९ प्रतिशतले घटेर १ अर्ब ३८ करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ । यस्तै, सञ्चालन नाफा पनि २३.०६ प्रतिशतले घटेर ६१ करोड ३८ लाख रुपैयाँमा झरेको छ ।
समीक्षा अवधिमा लघुवित्तले ३१ अर्ब ८८ करोड निक्षेप संकलन र ३ अर्ब ५१ करोड सापटी लिइ कुल ३१ अर्ब ८७ करोड कर्जा प्रवाह गरेको छ ।
हाल २ अर्ब ९७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको सेयर प्रिमियममा ४ करोड ९ लाख, रिडेन्ड अर्निङमा १ अर्ब २८ करोड र जगेडा कोषमा २ अर्ब ५८ करोड रुपैयाँ संचित छ । समीक्षा अवधिमा लघुवित्तको वितरण योग्य नाफा १ अर्ब २८ करोड रुपैयाँ छ ।
खुद नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि भारी गिरावट आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ४७.८५ रुपैयाँबाट घटेर २९.३० रुपैयाँमा सीमित भएको छ ।
यस अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ २३१.५२ रुपैयाँ र खराब कर्जा २.९५ प्रतिशत रहेको छ ।