नारायणगढ-मुग्लिन सडक थप ३ साता दिउँसो बन्द हुने

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न चट्टान फोर्ने काम गरिँदै ।

भरतपुर । नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द गरिने भएको छ । सो सडक खण्डको तुईन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसो (१२ बजेदेखि ४ बजेसम्म)सडक बन्द गरेर काम गर्न लागिएको हो ।

बिहीबार जिल्ला प्रशासन कार्यालय चितवनमा भएको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय गरेको नागढुंगा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड–नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यले जानकारी दिए ।

उनले अन्तिम पटकका लागि तीन साता सडक बन्द गरेर काम गर्न लागिएको बताए । गत पुस ७ गतेदेखि दिउँसो ४ घण्टा सडक बन्द गरेर काम गरिँदै आएको छ ।

नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारीसाधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने छ भने मालबहाक सवारीसाधन भतेरी जङ्गलदेखि रामनगरसम्म रोकिनेछ ।

काठमाडौँबाट आउने यात्रुवाहक सवारीसाधन मुग्लिन बजारदेखि मनकामना केबलकारसम्म र मालवाहक सवारीसधान लेवाटारमा रोकिने उनले जानकारी दिए ।

यसैगरी, पोखराबाट आउने यात्रुवाहक सवारी साधनलाई बेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारी साधनलाई सत्रसय फाँटमा रोकिनेछ ।

सो सडकमा बनाइनुपर्ने १९ पुलमध्ये चारवटा चार वर्षअघि निर्माण गरिएका थिएभने बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । विसं २०७६ चैत १० गतेदेखि पुल निर्माण थालिएको हो ।

महिला लघुवित्तले पनि यस वर्ष लाभांश नदिने Read Previous

महिला लघुवित्तले पनि यस वर्ष लाभांश नदिने

स्टार्टअप कर्जाका लागि प्रस्ताव माग, २५ लाखसम्म पाइने Read Next

स्टार्टअप कर्जाका लागि प्रस्ताव माग, २५ लाखसम्म पाइने