व्यापारीलाई हठातमा पक्राउ गरी मानमर्दन गरियो : निजी क्षेत्र

काठमाडौं । उद्योगी, व्यवसायीहरुले प्रहरीले सीजी होल्डिङ प्रबन्ध निर्देशक अरुण चौधरीलाई हठातमा पक्राउ गरेको बताएका छन् ।नेपाल उद्योग परिसंघले बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै यस्ताे धारणा सार्वजनिक गरेको हो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले प्रहरीले चौधरीलाई कुनै पूर्वसूचना नदिई हठातमा पक्राउ गरेको बताए । उनले प्रहरीले चौधरीलाई अनुसन्धानमा समेत नबोलाई कतै भाग्न लागे जस्तै गरी हठातमा पक्राउ गरी मानमर्दन गरेको बताए ।

उनले प्रहरीले पक्राउ गर्न पाउने भए पनि कुनै सूचना नदिएको भन्दै आपत्ति जनाए । उनले सरकारले लगानी सम्मेलनको मुखैमा व्यवसायीलाई धरपकड गर्दा स्वदेशी व्यवसायी नै पलायन हुने अवस्था आउने चेतावनी समेत दिए ।

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघले एक विज्ञप्ति जारी गर्दै चौधरी पक्राउको विरोध गरेको छ । विस्तृत अध्ययन नगरी व्यवसायीलाई पक्राउ नगर्न पटक पटक आग्रह गर्दै आइए पनि त्यसलाई वेवास्ता गर्दा व्यवसायीहरु निरुत्साहित हुने महासंघले बताएको छ ।

‘महासंघले सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवासायीलाई पक्राउ नगर्न सरकारलाई पटकपटक आग्रह गर्दै आएको छ । पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउन प्रवृत्तिले देशमा वर्तमान व्यवसायिक परिदृश्बाट पहिले नै निराश भएका व्यवसायीलाई थप निरुत्साहित बनाएको छ,’ महासंघद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

पहिले सत्यतथ्य पत्ता लगाएर मात्र आवश्यक परे कानुनी कारबाही अगाडि बढाउनुपर्ने महासंघको भनाइ छ । ‘महासंघ यस विषयमा पहिले सत्यतथ्य पत्ता लगाएर आवश्यक परे कानुनी कारबाही अघि बढाउन सरकारलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

बाँसबारी छाला जुत्ता उद्योगको १० रोपनी जग्गा हडपेको आरोपमा अनुसन्धान गर्न प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)ले आज दिउँसो चौधरीलाई पक्राउ गरेको थियो ।

 

गण्डकीमा 'राइड सेयरिङ'को नियमन गर्ने बाटो खुल्यो, दुईपांग्रे दर्ता गर्न २५ हजार Read Previous

गण्डकीमा 'राइड सेयरिङ'को नियमन गर्ने बाटो खुल्यो, दुईपांग्रे दर्ता गर्न २५ हजार

माण्डु हाइड्रोपावरको नाफामा सुधार, प्रतिसेयर आम्दानी कति ? Read Next

माण्डु हाइड्रोपावरको नाफामा सुधार, प्रतिसेयर आम्दानी कति ?