निर्यातका लागि नेपाली उत्पादन मौलिक हुनुपर्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्न आवश्यक रहेको बताएका छन् ।

निर्यात व्यवसायी महासङ्घ नेपाल (फिन)को स्थापना दिवस तथा चौथो वार्षिकोत्सव समारोहमा अर्थमन्त्री डा महतले नेपाली उत्पादन उच्च प्रविधियुक्तभन्दा पनि मौलिक हुनुपर्नेमा जोड दिए ।

‘निर्यात क्षेत्रको भविष्य निकै राम्रो छ । निर्यातमुखी अर्थतन्त्रका लागि सरकारले वातावरण तयार पार्न सक्दो प्रयास जारी राखेको छ,’ उनले भने, ‘नियार्तका लागि नेपाली उत्पादन मौलिक हुनुपर्छ ।’

उनले भारतसँगको व्यापार सम्झौताबाट फाइदा लिन छाडेर साफ्टाको विषय उठाउन आवश्यक नरहेको धारणा राखे । आर्थिक वृद्धि, रोजगारी सिर्जना, राजस्व वृद्धि र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताले खेल्दै आएको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।

‘निर्यात व्यवसायीहरूको समर्पण र परिश्रमले विश्वबजारमा नेपाली उत्पादनको बजार माग बढाउन र मुलुकको निर्यात क्षमता विस्तारमा योगदान रहँदै आएको छ,’ उनले भने । मन्त्री महतले फिनले उठान गरेका जायज माग देशमा आर्थिक स्रोतको कमीका कारण तत्काल सम्बोधन गर्न नसकिएको र निकट भविष्यमा निर्यातकर्तालाई सहुलियत उपलब्ध गराइने प्रतिबद्धतासमेत व्यक्त गरे ।

वार्षिकोत्सवका अवसरमा महासङ्घले उत्कृष्ट निर्यातकर्तालाई सम्मान गरेको छ भने निर्यात बुलेटिन २०८० का अतिथि सम्पादक सरोज ओझा र कथा नेपाललाई कदरपत्रबाट सम्मान गरिएको छ ।

जनवरीमा आए गत वर्षकोभन्दा २४ हजार धेरै विदेशी पर्यटक Read Previous

जनवरीमा आए गत वर्षकोभन्दा २४ हजार धेरै विदेशी पर्यटक

नेप्सेमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी Read Next

नेप्सेमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी