ग्लोबल आइएमईलाई उछिन्दै हिमालयन रि-इन्स्योरेन्स बन्यो पाँचौं ठूलो कम्पनी

काठमाडौं । ग्लोबल आइएमई बैंकलाई उछिन्दै हिमालयन रि-इन्स्योरेन्स सेयर बजारको पाँचौ ठूलो कम्पनी बनेको छ ।

गत पुस २३ गतेदेखि कारोबारमा आएको हिमालयन रि बजार पूँजीकरणका आधारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीमध्ये पाँचौं ठूलो कम्पनी बनेको हो ।

हिमालयन रि जम्मा १७ कारोबार दिनमै पाँचौं ठूलो कम्पनी बन्न सफल भएको हो । हिमालयन रिको सेयर मूल्य आज प्रतिकित्ता ५ रुपैयाँले बढेसँगै ग्लोबल आइएमईलाई पछि पारेको हो ।

नेप्सेका अनुसार बुधबारको सेयर मूल्यका आधारमा हिमालयन रिको कुल बजार पूँजीकरण ७१ अर्ब ४६ करोड रुपैयाँ रहेको छ भने ग्लोबल आइएमईको ७१ अर्ब १७ करोड रुपैयाँ छ ।

चुक्ता पूँजीका आधारमा ग्लोबल हिमालयनभन्दा साढे ३ गुणा ठूलो छ । तर, ग्लोबलको सेयर मूल्य कम र हिमालयनको धेरै हुँदा पूँजीकरणमा उछिनेको हो ।

नेप्सेमा ग्लोबलको ३६ करोड १२ लाख कित्ता सेयर सूचीकृत छ भने हिमालयनको १० करोड कित्ता सेयर सूचीकृत छ । आजको अन्तिम कारोबार मूल्य अनुसार हिमालयनको सेयर मूल्य प्रतिकित्ता ७१४ रुपैयाँ र ग्लोबलको १९७ रुपैयाँ छ ।

नेप्सेमा हाल २४९ वटा कम्पनी (म्युचुअल फण्ड र डिबेन्चर बाहेक) सूचीकृत छन् । जसमा नेपाल टेलिकम बजार पूँजीकरणका आधारमा सबैभन्दा ठूलो कम्पनी बनेको छ । यसको बजार पूँजीकरण १ खर्ब ५८ अर्ब रुपैयाँ छ ।

नबिल बैंक १ खर्ब ३१ अर्बसहित दोस्रो ठूलो कम्पनीको रुपमा रहेको छ । त्यसैगरी, पूँजीकरणका आधारमा नागरिक लगानी कोष १ खर्ब ११ अर्ब र नेपाल पुनर्बीमा १खर्ब ४ अर्ब सहित चौथो ठूलो कम्पनीका रुपमा रहेको छ ।

हेटौंडा आन्तरिक राजस्व कार्यालयबाट ३ अर्ब राजस्व संकलन Read Previous

हेटौंडा आन्तरिक राजस्व कार्यालयबाट ३ अर्ब राजस्व संकलन

१३ वर्षदेखि अलपत्र इन्द्रावती जलविद्युत् आयोजनाको काम सुरू Read Next

१३ वर्षदेखि अलपत्र इन्द्रावती जलविद्युत् आयोजनाको काम सुरू