नेपाल वेयरहाउजिङ सवा ९ करोड घाटामा, ईपीएस १३.४ रुपैयाँ ऋणात्मक

काठमाडौं । केही महिनाअघि आइपीओ जारी गरेको नेपाल वेयरहाउजिङ कम्पनी सवा ९ करोड रुपैयाँ नोक्सानीमा रहेको छ ।

बुधबार सार्वजनिक चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनी ९ करोड २१ लाख २१ हजार रुपैयाँ घाटामा रहेको हो ।

चालु वर्षको ६ महिनामै कम्पनीको नोक्सानी ६ करोड २२ लाख रुपैयाँले बढेको हो । गत असार मसान्तसम्म कम्पनी २ करोड ९९ लाख रुपैयाँ घाटामा थियो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी बढे पनि वित्तीय लागत र कुल खर्च बढ्दा नोक्सानी ह्वात्तै बढेको हो । वित्तीय बजारमा देखिएको तरलता अभाव, ब्याजदर वृद्धिले अर्थतन्त्रमा असर पर्दा कम्पनीले लक्ष्य हासिल गर्न नसकेकाले नोक्सानी बढेको कम्पनीले जनाएको छ । त्यस्तै, उत्पादनमा कमी आउँदा भण्डारणमा पनि प्रत्यक्ष असर परेको कम्पनीको भनाइ छ ।

पुससम्म कम्पनीले जम्मा ६६ लाख १० हजार रुपैयाँ संचालन आम्दानी गरेको छ भने अन्य आम्दानी ७ हजार रुपैयाँ मात्रै छ ।

पछिल्लो ३ महिनामै कम्पनीको वित्तीय लागत झन्डै दोब्बरले बढेको छ । असोज मसान्तसम्ममा ३ करोड ३२ लाख ९६ हजार रुपैयाँ रहेको कम्पनीको वित्तीय लागत पुससम्म आइपुग्दा बढेर ६ करोड १४ लाख २७ हजार रुपैयाँ पुगेको छ ।

चालु वर्षमा कम्पनीको कुल खर्च १२२.९१ प्रतिशतले बढेर ९ करोड ८७ लाख ३८ हजार रुपैयाँ पुगेको छ ।

हाल ६८ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको अन्य इक्विीटी १५ करोड ५१ लाख रुपैयाँ ऋणात्मक छ । पुससम्म कम्पनीको प्रतिसेयर आम्दानी १३.४० रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ९७.२३ रुपैयाँ छ ।

जयनगर-बर्दिबास रेलमार्गको तेस्रो खण्डको कामले गति लिँदै Read Previous

जयनगर-बर्दिबास रेलमार्गको तेस्रो खण्डको कामले गति लिँदै

भाटभटेनी डिपार्टमेन्ट स्टोर राजस्व छलीमा फेरि दोषी ठहर Read Next

भाटभटेनी डिपार्टमेन्ट स्टोर राजस्व छलीमा फेरि दोषी ठहर