काठमाडौं । बागमती प्रदेशमा दर्ता भएका सवारीसाधनको कर (राजस्व) अब अनलाइन माध्यमबाटै तिर्न सकिने भएको छ ।
मंगलबार प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले यातायात कार्यालय, एकान्तकुनाबाट अनलाइन भुक्तानी सेवाको शुभारम्भ गरेका हुन् ।
यससँगै अब यस प्रदेशमा दर्ता भएका सवारी साधनको कर तिर्न यातायात कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । यद्यपि, अनलाइनबाट कर तिरिसकेपछि प्रमाणीकरणका लागि भने १ महिनाभित्र आफूलाई पायक पर्ने यातायाता कार्यालयमा जानुपर्नेछ ।
सवारीधनीले इसेवा, खल्ती र कनेक्ट आइपीएसमार्फत सवारीसाधनको कर तिर्न सक्नेछन् ।
यसअघि अनलाइनबाट कर तिर्ने व्यवस्था नहुँदा सेवाग्राहीले निकै हैरानी खेप्नु परेको थियो । कर तिर्नकै लागि यातायात कार्यालयहरुमा घण्टौं लाइन बस्नुपर्ने बाध्यता थियो ।
अनलाइन भुक्तानी सेवा सुरू भएसँगै यातायात कार्यालयमा हुने भीड घट्ने सरकारको विश्वास छ ।